युक्रेनको परमाणु ऊर्जा केन्द्र रुसको कब्जामा, पश्चिमा नेताहरूद्वारा मस्कोको निन्दा

रुसले युक्रेनस्थित एक परमाणु ऊर्जा केन्द्रमा हमला गर्दा आगलागी समेत भएपछि विश्व नेताहरूले मस्कोले पूरै महादेशको सुरक्षा जोखिममा पारिदिएको आरोप लगाएका छन्।

लाइभ कभरेज

  1. ब्रेकिंग, रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहरमा आक्रमण थालेको पुष्टि

    खार्किभ

    तस्बिर स्रोत, Getty Images

    देशको दोस्रो ठूलो सहर खार्किभलाई नियन्त्रणमा लिने प्रयासमा रुसी सैनिकहरू विमानबाट ओर्लेको युक्रेनी सेनाले पुष्टि गरेको छ।

    युक्रेनी सेनाका अनुसार खार्किभ र आसपासका क्षेत्रमा त्यसबारे चेतावनी दिन जनाउघण्टी बज्न थालेलगत्तै आक्रमण सुरु भएको थियो।

    एउटा क्षेत्रीय अस्पतालमाथि रुसी सैनिकहरूले धावा बोलेको र लडाइँ अहिले जारी रहेको युक्रेनी सेनाले आफ्नो वक्तव्यमा उल्लेख गरेको छ।

    युक्रेनमा पछिल्ला दिनहरूमा भएका अधिकांश हिंसाको केन्द्रमा खार्किभ रहिआएको छ।

  2. रुसमा एपलका सबै सामानको विक्री बन्द

    एपल

    तस्बिर स्रोत, Reuters

    प्रविधि कम्पनी एपलले युक्रेनमाथि रुसले आक्रमण गरेकाले रुसमा आफ्ना सबै उत्पादनको विक्री बन्द गरेको छ।

    उक्त कम्पनीले यसअघि नै एपल पे र आफ्ना अरू सेवामा रुसभित्र मानिसहरूको पहुँच सीमित पारेको थियो।

    यसअघि सामाजिक सञ्जाल फेसबुक र यूट्यूबले युरोपभरि रुसी सरकारी सञ्चारमाध्यमका सामग्रीमाथि प्रतिबन्ध लगाएको बताएका थिए।

    अर्को सामाजिक सञ्जाल ट्विटरले रुसी सरकारी सञ्चारमाध्यमका सामग्रीसम्बन्धी लिङ्कमा चेतावनी भनेर उल्लेख गर्ने घोषणा गरिसकेको छ।

  3. युक्रेनी सैन्य अस्पतालमा रुसी आक्रमणः रिपोर्ट

    रुसी सैनिकहरू विमानबाट युक्रेनको पूर्वोत्तर सहर खार्किभमा ओर्लेर त्यहाँ अवस्थित सैन्य अस्पतालहरूमा आक्रमण गरेको युक्रेनिअन इन्डिपेन्डन्ट इन्फर्मेशन एजेन्सी र सैन्य अधिकारीहरूले बताएका छन्।

    बीबीसीले यसको स्वतन्त्र पुष्टि गर्न बाँकी छ।

    मङ्गलवारदेखि रुसी फौजले बमबारी तीव्र पारेको प्रत्यक्षदर्शीहरूले बताइरहँदा पछिल्लो खबर आएको हो।

    यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खार्किभमा गरिएको बमबारीलाई “राज्यले गरेको आतङ्क” भनेका थिए।

  4. अमेरिकी हवाई क्षेत्रमा रुसी विमानहरूमाथि प्रतिबन्ध

    प्रतिबन्ध

    तस्बिर स्रोत, Getty Images

    अमेरिकाले आफ्नो हवाई क्षेत्रमा निजी तथा व्यावसायिक सबै रुसी उडानहरूमाथि प्रतिबन्ध लगाएको छ।

    स्टेट अफ युनिअन सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो प्रशासनले प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन्।

    युरोपेली देश तथा क्यानडाले रुसी विमानहरूमाथि प्रतिबन्ध घोषणा गरेपछि अमेरिकी निर्णय बाहिर आएको हो।

    राष्ट्रपति बाइडनले पछिल्लो कदमले रुस थप एक्लिने र उसको अर्थतन्त्रमाथि अझ दबाव सिर्जना हुने बताए।

    रुसी मुद्रा रुबलको मूल्यमा र शेअर बजारमा ३० देखि ४० प्रतिशतसम्म गिरावट आइसकेको पनि पुटिनले उल्लेख गरे।

  5. युक्रेन-रुस युद्धः परमाणुअस्त्रका जोखिम के हुन्?

    अस्त्र

    तस्बिर स्रोत, Getty Images

    आइतवार राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई रुसको परमाणुअस्त्र समाविष्ट प्रतिरोधात्मक बललाई "युद्धका लागि विशेष भूमिकामा सक्रिय राख्न" आदेश दिए। वास्तवमा यस भनाइको अर्थ के हो भन्ने स्पष्ट नभएको पश्चिमी देशका विश्लेषकहरूले बताएका छन्। ब्रिटेनका अधिकारीहरूका अनुसार पुटिनले प्रयोग गरेको भाषा रुसी परमाणुअस्त्रबारे सतर्कतासम्बन्धी उनीहरूको बुझाइसँग पूर्ण रूपमा मिल्दो छैन।

    केहीले पुटिनले सतर्कता स्तरलाई निकै तल्लो स्तर मानिने "निरन्तर" भन्दा माथिल्लो स्तर "उच्च" मा पुर्‍याउन आदेश दिएको विश्वास गरेका छन् (त्योभन्दा माथि "सैन्य खतरा" स्तर र त्यसपछि "पूर्ण" स्तर हुने गर्छ)।

    यद्यपि धेरैले यस आदेशलाई प्रमुख रूपमा परमाणुअस्त्रहरू प्रयोग गर्ने वास्तविक उद्देश्यका साटो सार्वजनिक सङ्केतको रूपमा व्याख्या गरेका छन्। पुटिनलाई थाहा छ कि कुनै पनि त्यस्तो कदमपछि पश्चिमको पारमाणविक प्रतिशोध निम्त्याउनेछ। थप यो लिङ्कमा

  6. युक्रेन-रुस युद्धः किएभमा टेलिभिजन टावरमाथि हमला, पाँचजना मारिए

    टावर

    तस्बिर स्रोत, Reuters

    रुसी फौजले किएभ टेलिभिजन टावरमाथि हमला गर्दा पाँचजना मारिएको युक्रेनको आपत्‌कालीन सेवासम्बन्धी निकायले जनाएको छ।

    रुसले युक्रेनमा अब 'लक्षित हमला' गर्ने चेतावनी दिएकै दिन टेलिभिजन टावरमाथि प्रहार गरिएको हो।

    बीबीसी मोनिटरिङलाई थाहा भएअनुसार रुसी क्षेप्यास्त्र हमलामा अरू पाँचजना घाइते भएका छन्। थप यो लिङ्कमा

  7. भोलोदिमिर जेलेन्स्की: हास्य कलाकार युक्रेनी राष्ट्रपति जो युक्रेन-रुस युद्धमा नायकका रूपमा उदाएका छन्

    राजनीतिको कुनै पनि अनुभव नभएका हास्य कलाकार भोलोदिमिर जेलेन्स्की झन्डै तीन वर्षअघि युक्रेनको राष्ट्रपति बने। अहिले अकस्मात् उनी विश्वसनीय युद्धनायकका रूपमा उदाएका छन्।

    उनले आफ्ना सम्बोधन र भिडिओ सेल्फीहरूका माध्यमबाट रुसी अतिक्रमणविरुद्ध विद्यमान युक्रेनी आक्रोशलाई सशक्त रूपमा प्रस्तुत गरिरहेका छन्।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन झन्‌झन् अपत्यारिला बन्दै आएका छन् र उनले युक्रेनबाट भिन्न भएका डोनेट्स्क र लुहान्स्क गणतन्त्रमा युक्रेनले 'नरसंहार' मच्याएको आरोप लगाएका छन्।

    उनले युक्रेनलाई 'नाजीकरण' बाट मुक्त गर्नुपर्ने बताइरहँदा रुसी भाषा बोल्ने यहुदी परिवारका जेलेन्स्की शालीन, दृढ र प्रखर देखिएका छन्। थप यो लिङ्कमा

    भोलोदिमिर जेलेन्स्की

    तस्बिर स्रोत, Getty Images

    तस्बिरको क्याप्शन, भोलोदिमिर जेलेन्स्की
  8. विश्व ब्याङ्क र आईएमएफद्वारा युक्रेनलाई सहायता घोषणा

    विश्व ब्याङ्क तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनको अर्थतन्त्रलाई सघाउन अर्बौँ डलरको सहायता प्याकेजसम्बन्धी योजना घोषणा गरेका छन्।

    स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा सहयोगका लागि लाखौँ डलर बराबरको आपत्कालीन सहायता केही दिनभित्रै अनुमोदन हुने अपेक्षा गरिएको छ।

    रुसी अतिक्रमणलाई लिएर वित्तीय बजारमा देखिएको समस्या र उपभोग्य वस्तुको बढ्दो मूल्यलाई लिएर अन्तर्राष्ट्रिय ऋणदाताहरूले चेतावनी दिएका छन्।

    मुद्रा कोष

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, फाइल तस्बिर
  9. रुसी आक्रमणको गति धीमाः पेन्टागन

    अमेरिकी रक्षा अधिकारीहरूले युक्रेनी फौजको प्रतिवादका कारण रुसी आक्रमणको गति धीमा भएको र उसका केही सैनिकले आत्मसमर्पण पनि गरेको बताएका छन्।

    तर सङ्कट अझै गम्भीर रहेको भन्दै उनीहरूले सचेत गराए।

    रुसी अतिक्रमणबारे आफ्नो ताजा विश्लेषणमा अमेरिकी रक्षा मन्त्रालयले लडाइँको छ दिनसम्ममा पनि रुसी फौजले युक्रेनी आकाशमाथि नियन्त्रण कायम गर्न र महत्त्वपूर्ण संरचनालाई निशाना बनाउन नसकेको जनाएको छ।

    उहादरणको रूपमा उसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभ र दक्षिणी बन्दरगाह मारिओपोललाई उल्लेख गरेको छ।

    तर नजिकका दुई शहर बेर्डियान्स्क र मेलिटोपोलमाथि नियन्त्रण गर्न चाहिँ रुसी फौज सफल भएको पेन्टागनले जिकिर गरेको छ।

    पेन्टागन

    तस्बिर स्रोत, Reuters

  10. प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

    नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनबीच टेलिफोन संवाद भएको छ।

    ब्लिङ्कनले एउटा ट्वीटमार्फत्‌ त्यसबारे जानकारी गराएका छन्।

    रुसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौमिकता, भौगोलिक अखण्डताका विषयमा दुई देशले गरेको समर्थनबारे कुराकानी भएको ब्लिङ्कनले उल्लेख गरेका छन्।

    ट्वीटमा ब्लिङ्कनले आर्थिक विकास र क्षेत्रीय चुनौतीसम्बन्धी विषयमा मिलेर काम गर्न जारी राख्ने जनाएका छन्।

    शेरबहादुर देउवा

    तस्बिर स्रोत, RSS

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  11. युक्रेन एक्लैले लडाइँ जित्न सक्दैनः जेलेन्स्की

    लडाइँ

    तस्बिर स्रोत, EPA

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध जारी लडाइँ आफ्नो देश एक्लैले जित्न नसक्ने बताएका छन्।

    निकै कडा सुरक्षा व्यवस्था भएको एउटा भवनबाट पत्रकारहरूसँग कुरा गर्दै उनले उडान प्रतिबन्धित क्षेत्र घोषणा नगर्ने अडानबारे पुनर्विचार गर्न उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोलाई आग्रह समेत गरे।

    रुसमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले असर देखाउन थाले पनि त्यो पर्याप्त नभएको जेलेन्स्कीले जिकिर गरे।

    रुससँग थप वार्ताको सम्भावनाबारे चर्चा गर्दै उनले त्यसका लागि पहिला युक्रेनमाथि हमला रोकिनुपर्ने स्पष्ट पारे।

    उनले भनेः “तपाईँहरूलाई थाहा छ आकाशमा लडाकु विमानहरू उडिरहँदा र बमबारी भइरहँदा वार्तामा बस्न सकिँदैन। हो हामी वार्ताको पक्षमा छौँ, तर त्यसका लागि कम्तीमा मानिसहरूमाथि भइरहेका बमबारी रोकिनैपर्छ।”

  12. युक्रेनसँग जोडिएको सीमामा बेलारुसले सैन्य उपस्थिति दोबर पार्ने

    बेलारुसका राष्ट्रपतिले युक्रेनसँग जोडिएको आफ्नो दक्षिणी सीमामा सैन्य उपस्थिति दोबर पार्ने बताएका छन्।

    सीमामा रहेका पाँचवटा रणनीतिक बटालियन आगामी दुई दिनमा दशसम्म पुग्ने राष्ट्रपति एलेक्सेन्डर लुकासेन्कोले घोषणा गरे।

    "यी उच्च प्रशिक्षित जुनसुकै स्थानमा सहजै परिचालित हुनसक्ने समूह हुन् जो बेलारुसलाई उत्तेजित पार्ने र कुनै पनि किसिमको सैन्य कारबाही रोक्न तयार छन्," उनले आफ्नो देशको सुरक्षा परिषद्लाई भने।

    एलेक्सेन्डर लुकासेन्को

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, एलेक्सेन्डर लुकासेन्को
  13. रुसी फौजद्वारा युक्रेनको अर्को शहरमाथि कब्जा

    युक्रेनमाथि आक्रमण गरिरहेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण कायम गरेका विवरणहरू आएका छन्।

    साढे दुई लाख जनसङ्ख्या रहेको सो शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारलाई गुहारेका छन्।

    त्यसैगरी घाइतेहरूको उद्धारमा सघाउन पनि उनले अपिल गरेका छन्।

    स्थानीय परिषद्‌का एक सदस्यले आक्रमणमा परी दुई सयभन्दा बढी व्यक्ति मारिएको र तीमध्ये धेरै सर्वसाधारण रहेको बीबीसीलाई बताएका छन्।

    युक्रेन

    तस्बिर स्रोत, gett

  14. लाइभ पेजमा तपाईँलाई स्वागत छ

    शुभप्रभात!

    रुसले युक्रेनमाथि गत बिहीवारबाट सैन्य कारबाही थालेयता मुख्य घटनाक्रमहरूबारे हामीले निरन्तर अद्यावधिक गर्दै आएका छौँ।

    आज दिनभरि पनि हामीले महत्त्वपूर्ण घटनाबारे विवरणहरू प्रस्तुत गर्नेछौँ।

    कृपया हामीसँगै रहनुहोला।

  15. किएभमा ‘लक्षित आक्रमण’ गर्ने रुसको चेतावनी

    रुसले युक्रेनमा आक्रमण गरेको छैटौँ दिन मङ्गलवार मस्कोले राजधानी किएभमा, उसकै शब्दमा,‘लक्षित हमला’ गर्ने चेतावनी दिएको छ।

    किएभतर्फ रुसी बख्तरबन्द गाडीको लामो लस्कर अघि बढिरहेको विवरण आएका छन्।

    युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मङ्गलवार भएका बमबारी र क्षेप्यास्त्र हमलालाई युक्रेनले युद्ध अपराधको संज्ञा दिएको छ।

    रुसद्वारा युक्रेनमा गरिएका आक्रमणबारे हामीले निरन्तर समाचार दिँदै आएका छौँ।

    आजका लागि यो लाइभ पेजबाट बिदा चाहन्छौँ। धन्यवाद।

  16. युक्रेनी राजधानीमा ‘लक्षित हमला’ गर्न लागेको रुसको चेतावनी

    रुसको रक्षामन्त्रालयले किएभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा 'लक्षित हमला' गर्न लागेको जनाएको छ।

    मङ्गलवार अपरान्ह एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको फौजले ‘किएभस्थित युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’ हरूमा‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएका छन्।

    “राष्ट्रवादीहरूद्वारा रुसलाई भड्काउन प्रयोग भइरहेका युक्रेनी नागरिक तथा रिले स्टेशन नजिक बसोबास गर्ने किएभका बासिन्दाहरूलाई आफ्ना घर छाडेर जान हामी आह्वान गर्छौँ,” उक्त वक्तव्यमा उल्लेख छ।

    रुसविरुद्ध ‘सूचना युद्ध’ रोक्न यी हमला गर्न लागिएको रुसी अधिकारीहरूको दाबी छ।

    यसबीच युक्रेनी रक्षामन्त्रीले चाहिँ रुसको सम्भावित ‘मनोवैज्ञानिक हमला’बारे सजग गराएका छन्।

    फेसबुकमा लेख्दै उनले रुसले सञ्चार अवरुद्ध पार्ने योजना बनाइरहेको बताए।

    “त्यसपछि युक्रेनी सेना तथा राजनीतिक नेतृत्वले आत्मसमर्पणको निम्ति सहमति जनाएका जस्ता झुटा समाचार व्यापक रूपमा फैलाइनेछ,” उनले लेखेका छन्।

    “त्यस्ता झुटा समाचारलाई स्थापित गर्न नक्कली भिडिओ वा हस्ताक्षर गरिएका जाली कागज देखाइने छन्।”

    उनले कुनै ‘आत्मसमर्पण’ नहुने बरु केवल ‘विजय’ हुने पनि बताएका छन्।

    रुसी हमला

    तस्बिर स्रोत, Reuters

  17. जेलेन्स्कीलाई उठेर अभिवादन, लाभ्रोभको बहिष्कार

    जेलेन्स्की

    तस्बिर स्रोत, EU Parliament

    मङ्गलवार युरोपमा भएका बेग्लाबेग्लै कार्यक्रममा युक्रेनका राष्ट्रपति र रुसी विदेशमन्त्रीले एकदम भिन्न प्रतिक्रिया पाए।

    युरोपेली संसद्को विशेष बैठकमा भिडिओ लिङ्कमार्फत् बोल्न उपस्थित हुँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई युरोपेली सांसदहरूले उठेर ताली बजाउँदै न्यानो अभिवादन गरेका थिए।

    उनले युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने अभिव्यक्ति दिएका थिए।

    यसबीच जिनिभामा भएका संयुक्त राष्ट्रसङ्घका दुईवटा निकायका बैठकहरूलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्न उपस्थित रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई भने पश्चिमा देशका राजदूतहरूले बहिष्कार गरेका छन्।

    ती सम्बोधनमा लाभ्रोभले युरोपमाथि "रुसविरोधी बहुलट्टीपूर्ण गतिविधि" गरिरहेको आरोप लगाएका थिए।

    उनले युरोपले पश्चिमा सहयोगमा परमाणुअस्त्र प्राप्त गर्न खोजिरहेको आरोप लगाउँदै अब अमेरिकी क्षेप्यास्त्रहरू युरोपबाट फर्काउने बेला आएको बताएका थिए।

    जेलेन्स्की

    तस्बिर स्रोत, EPA

  18. खार्किभ हमलामा एक भारतीय विद्यार्थीको मृत्यु

    रुसी आक्रमणका कारण युक्रेनभरि गैरसैनिकहरूको ज्यान गइरहेका विवरण प्राप्त भइरहेका छन्।

    यथार्थ अवस्थाबारे बताउन कठिन छ। सबै दाबीहरूलाई बीबीसीले पुष्टि गर्न सकेको छैन।

    युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा प्रशासनिक भवनमा भएको हमलामा २० जना मानिस घाइते भएको आपतकालीन अधिकारीहरूले बताएका थिए। साथै ६ जना भेटिएको उल्लेख गरिएको थियो – तर ती जीवित थिए वा थिएनन् भन्ने प्रस्ट भएको छैन।

    यसबीच भारतका विदेशमन्त्रीले खार्किभमा भएको हमलामा परि मङ्गलवार बिहान एकजना भारतीय विद्यार्थीको ज्यान गएको बताएका छन्

    सोमवार त्यहाँ भएका रुसी बमबारीमा दर्जनौँ गैरसैनिकको ज्यान गएको बताइएको थियो।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो सहरमाथिको आक्रमणलाई युद्ध अपराधको संज्ञा दिएका छन्।

    खार्किभ हमला

    तस्बिर स्रोत, Reuters

  19. युक्रेनबाट आएका नेपालीलाई सघाउन रेस्टुराँमा उद्धार केन्द्र, कसैलाई व्यक्तिको घरमा आश्रय

  20. पेट्रोल बम बनाइरहेका छन् युक्रेनी महिला