युक्रेनको परमाणु ऊर्जा केन्द्र रुसको कब्जामा, पश्चिमा नेताहरूद्वारा मस्कोको निन्दा

रुसले युक्रेनस्थित एक परमाणु ऊर्जा केन्द्रमा हमला गर्दा आगलागी समेत भएपछि विश्व नेताहरूले मस्कोले पूरै महादेशको सुरक्षा जोखिममा पारिदिएको आरोप लगाएका छन्।

लाइभ कभरेज

  1. रुसी आक्रमणमा २ हजार गैरसैनिकको मृत्यु: युक्रेन

    युक्रेनी अधिकारीहरूले दिएको पछिल्लो जानकारीमा एक साता अगाडि सुरु भएको रुसी अतिक्रमणका कारण हालसम्म २,००० गैरसैनिकको ज्यान गइसकेको छ।

    त्यहाँको आपत्कालीन सेवासम्बन्धी निकायका अनुसार १० जना उद्धारकर्मीहरू पनि मारिएका छन्।

    रुसी आक्रमणले निम्त्याएको ४०० वटा आगजनीका घटना नियन्त्रण गरिएको अनि ४१६ बम निष्क्रिय पारिएको पनि उसले बताएको छ।

    “सात दिनको युद्धमा रुसले सयौँ यातायात सञ्जाल, आवासीय भवनहरू, अस्पतालहरू तथा बालबालिका पढ्ने स्थलहरू ध्वस्त पारिसकेको छ,” उसले उल्लेख गरेको छ।

  2. युक्रेनमा पूर्वराष्ट्रपतिलाई फेरि नेता बनाउने रुसको चाहनाः रिपोर्ट, बीबीसी मोनिटरिङ

    पुटिनसँग यानुकोभीच

    तस्बिर स्रोत, Getty Images

    पूर्वराष्ट्रपति भिक्टोर यानुकोभीचलाई युक्रेनको नयाँ नेता घोषणा गर्ने रुसको चाहना भएको विवरण युक्रेयिन्स्का प्राभ्दा वेबसाइटले युक्रेनी गुप्तचर संयन्त्रलाई उद्धृत गर्दै प्रकाशित गरेको छ। उक्त वेबसाइटमा समाचार र विश्लेषण प्रकाशित हुने गर्छ।

    यानुकोभीच सन् २०१३-१४ मा भएको सरकारविरोधी आन्दोलनका बेला पदच्युत भएका थिए।

    स्रोतका अनुसार यतिबेला उनी मिन्स्कमा भएको उक्त युक्रेनी वेबसाइटले लेखेको छ। उनी सन् २०१४ मा भागेर रुस गएका थिए।

    यानुकोभीचलाई पुनः स्थापना गर्न क्रेम्लिनले सञ्चारमाध्यममा एउटा अभियान चलाउने वा उनले युक्रेनी जनतालाई सम्बोधन गरेको भाषण प्रकाशित गराउने तयारी गरेको हुनसक्ने उसको आकलन छ।

    रुसलाई समर्थन गर्ने कुनै एक व्यक्तिलाई युक्रेन सरकारको प्रमुख बनाउने मस्कोले योजना बनाइरहेको यूकेले ज्यानुअरीमा बताएको थियो।

    यूकेको फरेन अफिसले युक्रेनी सांसद येभ्हेन मुरायेभको नाम उल्लेख गर्दै उनी त्यसका लागि मस्कोको सम्भावित पात्र हुनसक्ने जनाएको थियो।

  3. किएभका मेयर भन्छन: प्रतिरोधको तयारी गर्ने समय आयो

    किएभ

    तस्बिर स्रोत, Anadolu Agency

    तस्बिरको क्याप्शन, किएभका सडकहरूमा अवरोध खडा गर्दै युक्रेनी सैनिक

    युक्रेनको राजधानी किएभका मेयरले नगरका बासिन्दाहरूलाई रुसी फौज नजिक आइरहेको भन्दै मानिसहरूलाई घरभित्रै रहन र सहरको रक्षाका निम्ति तयारी गर्न आह्वान गरेका छन्।

    “दुस्मनले आफ्नो फौजलाई झन् झन् नजिक भेला गराइरहेको छ,” मेयर भिताली क्लित्स्कोले भने। सहरको बाहिरी भेगमा सङ्घर्ष सुरु भएको उनले बताए।

    “हामी तयारी गरिरहेका छौँ र हामी किएभको रक्षा गर्नेछौँ! आफ्नो साहस कम हुन नदिन म किएभका बासिन्दाहरूलाई आग्रह गर्छु।”

    हालसम्म किएभले रुसी अतिक्रमण प्रयासको प्रतिरोध गरिरहेको छ।

    रुसी बख्तरबन्द गाडीहरूको करिब ६५ किलोमिटर लामो लस्कर उत्तरतिरबाट किएभतर्फ अघि बढिरहेका छन्।

    सैन्य विश्लेषकहरू ठान्छन् पश्चिमबाट हुनसक्ने अतिक्रमणको प्रयासलाई बल पुर्‍याउन उक्त लस्कर त्यहाँ जम्मा भइरहेका छन्।

  4. 'पुटिन रुस हैनन्': विरोध गर्न नभाल्नीको आह्वान

    नभाल्नी

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, फाइल तस्बिर

    कारागारमा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीले युक्रेनमा आक्रमण गर्ने रुसी राष्ट्रपति पुटिनको कदमविरुद्ध रुसमा र अन्यत्र पनि दैनिक विरोध प्रदर्शन गर्न आह्वान गरेका छन्।

    उनले सामाजिक सञ्जाल ट्विटरमा कडा शब्दमा पुटिनको आलोचना गर्दै त्यस्तो आह्वान गरेका हुन्।

    क्रेम्लिनले आफूलाई मार्न विष दिएको आरोप लगाएका नभाल्नी एक वर्षदेखि जेलमा छन्।

    गत महिना उनको सुनुवाइ सुरु भएको थियो। उनीविरुद्ध १० वर्षभन्दा बढी सजाय हुनेगरी विभिन्न अभियोग लगाइएको छ।

    "हामी - रुस - शान्तिको राष्ट्र बन्न चाहन्छौँ। तर दुर्भाग्य, थोरै मानिसले मात्र हामीलाई त्यसो भन्छन्," पूर्वी मस्कोस्थित अतिसुरक्षायुक्त एउटा जेलबाट उनले लेखेका छन्।

    तर रुसीहरू "कम्तीमा पनि त्रसित, मौन मानिसको देश बन्नु हुँदैन" जसले "युद्ध नदेखेको जस्तो स्वाङ पार्छन्"।

    "यो २१ औँ शताब्दीको तेस्रो दशक हो अनि हामी मानिसहरू ट्याङ्कमा जलिरहेको र घरमा बम हानिएको समाचार हेरिरहेका छौँ," उनले लेखेका छन्।

    "परमाणुयुद्ध सुरु हुने वास्तविक जोखिम हामीले टीभीमा हेरिरहेका छौँ।"

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  5. झन्डै ६ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी

    प्रतिरोध गर्दै युक्रेनी गैरसैनिक

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, रुसी फौजको प्रतिरोध गर्दै युक्रेनी गैरसैनिक नागरिक

    युक्रेनी सेनाका अनुसार रुसले देशमा आक्रमण सुरु गरेयता अहिलेसम्म ५,८४० रुसी सैनिकको ज्यान गएको छ।

    बीबीसीले उक्त दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

    तर यूकेको रक्षा मन्त्रालयले युक्रेन अतिक्रमणका क्रममा रुसी सेनाले ठूलो क्षति बेहोरेको विश्वास गरेको छ।

    युक्रेनले गरेको दाबीअनुसार हालसम्म रुसले यस्तो क्षति बेहोरेको छ:

    • ५,८४० सैनिक
    • ३० विमान
    • ३१ हेलिकप्टर
    • २११ ट्याङ्क
    • ८६२ सशस्त्र गस्ती गाडी
    • ८५ आर्टिलरी प्रणाली
    • ९ विमानभेदक प्रणाली
    • ६० इन्धन ट्याङ्क
    • ३५५ गाडी
    • ४० एमएलआर रकेट लन्चर (कब्जा गरिएको)
  6. राष्ट्रसङ्घीय बैठकअघि देउवा-ब्लिङ्कन वार्ता, के भन्यो अमेरिकाले

  7. ‘रुस पछि हट्नेवाला देखिँदैन’

      • Author, फ्र्याङ्क गार्डनर
      • Role, बीबीसी सुरक्षा संवाददाता
    पुटिन

    तस्बिर स्रोत, ANADOLU AGENCY VIA GETTY IMAGES

    बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘बरु यूक्रेन बरु ध्वस्त पार्छन् तर पश्चिमा शिविरमा उसलाई जान दिनेछैनन्’ भनेर विश्लेषण गरेका छन्।

    बीबीसी ब्रेकफास्ट कार्यक्रममा कुरा गर्दै उनले अहिलेसम्म रुसले उसका सबभन्दा डरलाग्दा अस्त्र प्रयोग नगरेको तर ‘अबको दोस्रो चरणमा’ रुसले ‘बिनासङ्कोच’ तिनको प्रयोग गर्न सक्ने बताए।

    “पश्चिमा देशहरूका निम्ति सन्तुलन मिलाउन कठिन छ – युद्ध रोक्न पुटिनलाई कतिसम्म घचेटेर सजाय दिने अनि उनले साँच्चिकै भयानक प्रतिक्रिया नदेखाऊन् भनेर कहाँ पुगेर रोकिने।”

    पुटिन निकटस्थ कसैले पनि उनलाई संयमित हुन सुझाव देलान् जस्तो नलागेको गार्डनरले बताए।

    गत दुई वर्ष महामारीको बखतमा पुटिने सल्लाहकारहरूसँग यही आक्रमणको योजना बुनिरहेको पनि उनले बताए।

    पुटिनले ‘सबै शक्ति आफ्नो हातमा केन्द्रीकृत गरेको अनि कोही पनि आफूसँग विचारविमर्शमा नरहेको’ गार्डनरले चेतावनी दिएका छन्।

    रुसी हमला

    तस्बिर स्रोत, Ukrainian State Emergency Service

  8. पेट्रोलियम पदार्थको मूल्य अझ बढ्यो

    युक्रेनमा सङ्घर्ष जारी रहँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य नियन्त्रण गर्ने प्रयास गरिएको भए पनि पेट्रोलियम पदार्थको भाउ महँगिने क्रम जारी छ।

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यका लागि बेन्चमार्क मानिने ब्रेन्ट क्रूड प्रतिब्यारल ११३ अमेरिकी डलर पुगेको छ। एक ब्यारलमा करिब १५९ लिटर हुने गर्छ।

    यो सन् २०१४ को जुन महिनापछिको सर्वाधिक मूल्य हो।

    इन्टरन्याश्नल एनर्जी एजेन्सीका सदस्यराष्ट्रहरूले आपत्कालीन भण्डारबाट छ करोड ब्यारल तेल बाहिर ल्याउने सहमति गरेपछि पनि तेलको मृल्य बढेको हो।

    रुस एउटा ठूलो इन्धन उत्पादक राष्ट्र हो। युद्धका कारण लगानीकर्ताहरू तेल र ग्यासको आपूर्ति प्रभावित हुने चिन्तामा छन्।

  9. रुसी फौजसँग लड्न यूकेबाट स्वदेश फर्किँदैछन् यी युक्रेनी नागरिक

  10. हाम्रो प्रश्न तपाईँको विचार

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  11. खेअरसन कब्जामा आएको रुसी दाबी

    रुसको रक्षा मन्त्रालयले रुसी सैनिकहरूले युक्रेनको दक्षिणी सहर खेअरसन आफ्नो नियन्त्रणमा लिएको बताएको छ।

    यदि त्यसको पुष्टि भयो भने रुसले अहिलेसम्म कब्जामा लिएको त्यो सबैभन्दा ठूलो सहर हुनेछ।

    राति खेअरसनका सडकहरूमा रुसी सैनिकहरू देखिएका थिए।

    नगरप्रमुखले रुसी सेनाले खेअरसनको रेल स्टेशन र बन्दरगाह आफ्नो नियन्त्रणमा लिएको बताएका थिए।

  12. खार्किभको गोलाबारीमा कम्तीमा २१ जनाको मृत्यु

    खार्किभ

    तस्बिर स्रोत, EPA

    युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसले गरेको गोलाबारीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन्।

    तर खार्किभ क्षेत्रका गभर्नरले भने रुसले गरेका सबै आक्रमणहरूको प्रतिकार गरिएको दाबी गरेका छन्।

    रुसले खार्किभमा मङ्गलवार र रातभरि ठूलो आक्रमण गरेको थियो। गभर्नर ओले सिनेगुबोभले "शत्रुको पक्षमा ठूलो क्षति" भएको बताएका छन्।

    रुसले लडाकु विमानबाट गोलाबारी गरेको थियो भने सैनिकहरू खार्किभका उत्तरी र पूर्वोत्तर भागबाट सहरभित्र प्रवेश गरेका थिए।

    एउटा स्थानीय समाचारसंस्थाका अनुसार खार्किभस्थित क्षेत्रीय प्रहरी विभागको एउटा भवनमा रकेट आक्रमण गरिएको छ।

    खार्किभ

    तस्बिर स्रोत, Anton Gerashchenko

    युक्रेन सरकारका एक सल्लाहकारले टेलिग्राममा प्रेषित गरेको भिडिओमा एउटा भवनमा आगो लागेको देखिन्छ।

    एन्टन गेराशेन्कोका अनुसार उक्त आक्रमणपछि काराजिक विश्वविद्यालयमा पनि आगो लागेको छ।

    बीबीसीले उक्त भिडिओको स्वतन्त्र पुष्टि गरेको छैन।

  13. युक्रेनी शरणार्थीलाई एक लाख हवाई टिकट निःशुल्क दिने घोषणा

    सस्तो भाडादर भएको युरोपेली हवाईसेवा प्रदायक विज एअरले सानो दूरीको यात्राका लागि युक्रेनी शरणार्थीहरूलाई एक लाख सीट निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।

    हङ्गेरीमा अवस्थित उक्त कम्पनीले युक्रेनी शरणार्थीहरूलाई उनीहरूको गन्तव्यसम्म पुर्‍याउन सहयोग गर्ने कुरामा “प्रतिबद्ध” रहेको सामाजिक सञ्जालमार्फत्‌ जनाएको छ।

    मार्च महिनाभरि पोल्यान्ड, स्लोभाकिआ,हङ्गेरी र रोमेनीआबाट हुने उडानका लागि निःशुल्क सीट उपलब्ध गराइने विज एअरले जनाएको छ।

    शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय निकायका अनुसार रुसी अतिक्रमणयता ६,६०,००० भन्दा बढी मानिसले युक्रेन छोडिसकेका छन्।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  14. अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो

    ऊर्जा बजार

    तस्बिर स्रोत, PA

    अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तेलको मूल्यमा वृद्धि भएको छ।

    युक्रेनमाथि रुसले आक्रमण गरेपछि पर्ने प्रभावप्रति बढ्दो चासोलाई सम्बोधन गर्न नयाँ कदमहरू चालिएका थिए।

    मूल्यवृद्धि भएपछि तेलको मूल्य प्रतिब्यारल ११० अमेरिकी डलर पुगेको छ।

    यो मूल्य सात वर्षभन्दा बढी समययताकै उच्च हो।

    आपत्कालीन भण्डारणबाट ६ करोड ब्यारल निकासा गर्ने विषयमा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य राष्ट्रहरू सहमत भएको खबर सार्वजनिक भएसँगै मूल्य वृद्धि भएको छ।

  15. युक्रेनमा १३ बालबालिकासहित कम्तीमा १३६ सर्वसाधारणको मृत्युः राष्ट्रसङ्घ

    बालबालिका

    तस्बिर स्रोत, Getty Images

    रुसले गत बिहीवार युक्रेनमाथि अतिक्रमण गरेयता कम्तीमा १३६ जना गैरसैनिक नागरिक मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

    मारिनेमध्ये १३ जना बालबालिका रहेको उसको भनाइ छ।

    तर राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तकी एक प्रवक्ता लिज थ्रोस्सेलले मृतकको वास्तविक सङ्ख्या धेरै हुनसक्ने बताएकी छन्।

    भीषण गोलाबारी, हवाई हमला तथा व्यापक असर पार्ने विस्फोटनमा परी अधिकांश मृत्यु भएको उनले बताइन्।

    लडाइँमा परी अहिलेसम्म करिब ४०० जना घाइते भएको पनि राष्ट्रसङ्घले जनाएको छ।

    युक्रेनी सरकारद्वारा सार्वजनिक विवरणअनुसार भने अहिलेसम्म ३५२ सर्वसाधारण मारिएका छन् भने १,६८४ जना घाइते भएका छन्।

  16. शीतकालीन पारालिम्पिक्समा रुसी खेलाडीको सहभागिताबारे बैठक

    शीतकालीन पारालिम्पिक्स

    तस्बिर स्रोत, Reuters

    यसै साता चीनमा आरम्भ हुने शीतकालीन खेलमा रुसी खेलाडीहरूलाई सहभागी हुन दिने वा नदिने अन्तर्राष्ट्रिय पारालिम्पिक समितिको बैठक बेइजिङमा बस्दैछ।

    खेलमा सहभागी हुने उद्देश्यले रुसी टोली बेइजिङमा पुगिसकेको छ।

    प्रतिबन्धित औषधि सेवन गराउने कार्यमा राज्यकै संलग्नता रहेको आरोपमा प्रतिबन्ध लगाइएपछि रुसका खेलाडीहरू रुसी पारालिम्पिक समितिअन्तर्गत रहेर सहभागी हुने कार्यक्रम तय भइसकेको थियो।

    अन्य खेलकुदका प्रशासनिक निकायहरूले जसरी नै रुसी टोलीलाई प्रतिबन्ध लगाउन अहिले पनि अधिकारीहरूलाई दबाव छ।

    बेइजिङ पारालिम्पिक्सको उद्घाटन शुक्रवार हुँदैछ भने प्रतिस्पर्धाहरू शनिवारबाट हुनेछन्।

  17. युक्रेन सङ्कट चीनका लागि यसरी ठूलो चुनौती बनेको छ

  18. युक्रेनी शरणार्थीहरूलाई न्यानो स्वागत

    शरणार्थी

    तस्बिर स्रोत, EPA

    सङ्ख्याको हिसाबले पोल्यान्डपछि हङ्गेरीले धेरै युक्रेनी शरणार्थीलाई आफ्नो देशमा आश्रय दिएको छ।

    रुसी अतिक्रमणयता हङ्गेरीमा एक लाखभन्दा बढी युक्रेनी शरणार्थी पुगेका छन्।

    सयौँका सङ्ख्यामा शरणार्थीहरू विद्यालयका कक्षाकोठा तथा खेलकुद हलमा अस्थायी आश्रय लिइरहेका छन्।

    आश्रयस्थलसम्म पुग्न युक्रेनी शरणार्थीहरूलाई बस, मिनीबस र कारबाट निःशुल्क ओसारिँदैछ।

    स्वयंसेवक तथा दोभाषेहरूले भिडमा पुगेर नामले पहिचान गर्ने तथा प्रतीक्षामा रहेकालाई सघाइरहेका छन्।

    शरणार्थी

    तस्बिर स्रोत, Getty Images

  19. पुटिनलाई मूल्य तिर्न लगाउनुपर्छः बाइडन

    तानाशाह

    तस्बिर स्रोत, get

    अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक तानाशाहको सङ्ज्ञा दिँदै युक्रेनमाथि गरेको अतिक्रमणको मूल्य तिर्न लगाउनुपर्ने बताएका छन्।

    युक्रेनमाथि सुनियोजित र बिनाउक्साहट आक्रमण गर्दा रुसी राष्ट्रपतिले गलत आकलन गरेको स्टेट अफ द यूनिअन सम्बोधनका क्रममा बाइडनले बताए।

    रुस अहिले हालसम्मकै सबैभन्दा धेरै एक्लिएको बाइडनले दाबी गरे।

    आफ्नो प्रशासनले अमेरिकी हवाई क्षेत्रमा निजी तथा व्यावसायिक सबै रुसी उडानहरूमाथि प्रतिबन्ध लगाएको सम्बोधनका क्रममा उनले पुष्टि गरेका थिए।

  20. रुसबाट १० हजार डलरभन्दा बढी लैजान प्रतिबन्ध

    प्रतिबन्ध

    तस्बिर स्रोत, Getty Images

    रुसले आफ्ना नागरिकलाई १० हजार डलरभन्दा बढी नगद लिएर देशबाहिर जान प्रतिबन्ध लगाएको छ।

    पश्चिमा देशका कडा प्रतिबन्धहरूका बीच रुसी राष्ट्रपति भ्लादिमिरले त्यससम्बन्धी आदेश जारी गरेका हुन्।

    उक्त आदेश स्थानीय समयानुसार बुधवारबाट कार्यान्वयमा आउनेछ।

    पश्चिमा देशहरूले लगाएका प्रतिबन्धहरूको असर रुसी अर्थतन्त्र तथा मुद्रामा देखिन थालेको विवरणहरूमा जनाइएको छ।