युक्रेनको परमाणु ऊर्जा केन्द्र रुसको कब्जामा, पश्चिमा नेताहरूद्वारा मस्कोको निन्दा

रुसले युक्रेनस्थित एक परमाणु ऊर्जा केन्द्रमा हमला गर्दा आगलागी समेत भएपछि विश्व नेताहरूले मस्कोले पूरै महादेशको सुरक्षा जोखिममा पारिदिएको आरोप लगाएका छन्।

लाइभ कभरेज

  1. युक्रेनी शरणार्थीले विशेष सुविधा पाउनेः ईयू

    शरणार्थी

    तस्बिर स्रोत, EPA

    युरोपेली सङ्घमा आबद्ध देशका आन्तरिक मामिलामन्त्रीहरू युक्रेनी शरणार्थीहरूलाई तीन वर्षसम्मका लागि विशेष अस्थायी सुविधा दिने विषयमा सहमत भएका छन्।

    सहमतिअनुसार उनीहरूलाई रोजगारी बजारमा पहुँच,स्वास्थ्य तथा शिक्षालगायतका सेवासुविधासहित बसोबासको अनुमति दिइनेछ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार युक्रेनमा अतिक्रमणयता दश लाखभन्दा बढी मानिसले देश छोडिसकेका छन्।

  2. रुसी परमाणुअस्त्रबारे हामीलाई के थाहा छ?

    राष्ट्रपति भ्लादिमिर पुटिनले केही दिनअघि परमाणुअस्त्रलाई 'विशेष सतर्क अवस्था'मा राख्न आदेश दिएपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ।

    अन्तर्राष्ट्रिय समुदायको तर्फबाट त्यसबारे गम्भीर चासो पनि व्यक्त भइरहेको छ।

    आखिर रुससँग कतिवटा परमाणुअस्त्र छन्? थप यो लिङ्कमा

  3. युरोपकै सबैभन्दा ठूलो परमाणु केन्द्रमा आगलागी: युक्रेन

    परमाणु केन्द्र

    तस्बिर स्रोत, Getty Images

    युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसी सेनाले युरोपकै सबैभन्दा ठूलो जापोरिज्या परमाणु केन्द्रमा ‘‘सबै दिशाबाट हमला गरिरहेको’’ बताएका छन्।

    स्थानीय अधिकारीहरूका अनुसार आक्रमणका कारण परमाणु केन्द्रमा आगलागी भएको छ।

    "रुसीहरूले तुरुन्तै आगलागी रोक्नुपर्छ, अग्नि नियन्त्रकहरूलाई अनुमति दिनुपर्छ, सुरक्षा क्षेत्र स्थापना गर्नुपर्छ!" कुलेबाले ट्विटरमा लेखेका छन्।

    मेयर दिमित्री ओर्लोभले रुसी फौजलाई फायरिङ रोक्न आग्रह गरेका छन्।

    सो क्षेत्रमा आगोका लप्का र धुवाँ उडिरहेको भिडिओ पोस्टमा देखिन्छ।

    मेयर ओर्लोभले त्यहाँको अवस्था विश्वकै सुरक्षाका लागि खतरा भएको बताएका छन्।

    यसअघि बिहीवार राष्ट्रसङ्घीय निकायले परमाणु ऊर्जा केन्द्रनजिक आक्रमण रोक्न आग्रह गरेको थियो।

  4. मारिउपोल शहरमा ऊर्जा र पानीको आपूर्ति अवरुद्ध

    मारिउपोल

    तस्बिर स्रोत, Getty Images

    रणनीतिक महत्त्वको युक्रेनको दक्षिणी बन्दरगाह शहर मारिउपोलका अधिकारीहरूले रुसी फौजको भीषण गोलाबारीका कारण ऊर्जा र पानीको आपूर्ति रोकिएको बताएका छन्।

    मानवीय सङ्कटबारे चेतावनी दिँदै सो शहरका डेपुटी मेयरले शवहरू उठाउन सुरक्षित नरहेको बताए।

    एउटा रुसी लडाकु विमानले उत्तर शहर चर्निभमा आवासीय क्षेत्रमाथि हवाई हमला गर्दा कम्तीमा २२ जना मारिएको आपत्कालीन सेवासम्बन्धी निकायले जनाएको छ।

    राजधानी किएभदखि ६० किलोमिटर टाढा रहेको पश्चिमोत्तर शहर बोरोडियान्कामा भवनहरू ध्वस्त भएको भिडिओ फुटेजमा देखिन्छ।

  5. अतिक्रमणको प्रतिरक्षा गर्दै पुटिनले के भने?

    पुटिन

    तस्बिर स्रोत, Reuters

    युक्रेनमा गरेको अतिक्रमणको सशक्त प्रतिरक्षा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले योजनाअनुरूप अगाडि बढिरहेको बताएका छन्।

    रुसी र युक्रेनीहरू एउटै रहेको आफ्नो विश्वास नछोड्ने तर्क गर्दै उनले युक्रेनलाई रुसविरोधी बनाउने प्रयास पश्चिमाहरूले गरिरहेको आरोप लगाए।

    पुटिनले युक्रेनी फौजमाथि थुप्रै आधारहीन आरोप पनि लगाए।

    यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई एक्लाएक्लै वार्तामा बस्न अपील गरेका थिए।

    विमानहरू दिनूस् भन्दै जेलेन्स्कीले थप सैन्य सहायता गर्न पश्चिमा देशहरूलाई आग्रह पनि गरेका छन्।

  6. लाइभ पेजमा स्वागत छ

    शुभप्रभात!

    रुसले युक्रेनमाथि गत बिहीवारबाट सैन्य कारबाही थालेयता मुख्य घटनाक्रमहरूबारे हामीले निरन्तर अद्यावधिक गर्दै आएका छौँ।

    आज दिनभरि पनि हामीले महत्त्वपूर्ण घटनाबारे विवरणहरू प्रस्तुत गर्नेछौँ।

    कृपया हामीसँगै रहनुहोला।

  7. बन्दरगाह सहर खेअरसन रुसी कब्जामा, मारिउपोल घेराबन्दीमा

    रुसले युक्रेनमा आक्रमण गरेको आठौँ दिन बिहीवार मुख्य सहरहरूमा व्यापक बमबारी भइरहेका छन्।

    ब्ल्याक सीको बन्दरगाह सहर खेअरसान रुसको कब्जामा जाने पहिलो मुख्य सहर भएको छ। अर्को बन्दरगाह सहर मारिउपोलमा रुसी घेराबन्दीले मानवीय सङ्कट उब्जिएको मेयरले बताएका छन्।

    किएभ नजिक रुसी बख्तरबन्द गाडीहरूको लस्कर यथावत छ। राजधानीमा ठूल्ठूला विस्फोटन भएका छन्।

    युक्रेन र रुसबीच दोस्रो चरणको शान्तिवार्ता हुँदैछ।

    रुसद्वारा युक्रेनमा गरिएका आक्रमणबारे हामीले निरन्तर समाचार दिँदै आएका छौँ।

    आजका लागि यो लाइभ पेजबाट बिदा चाहन्छौँ। धन्यवाद।

  8. मारिउपोलको घेराबन्दीलाई नाजीकालीन घटनासँग तुलना

    मारिउपोलमा हमला

    युक्रेनको दक्षिणी बन्दरगाह सहर मारिउपोलका मेयरले रुसी सेनाको घेराबन्दीका कारण त्यहाँ दोस्रो विश्वयुद्धका बेला नाजीले सेन्ट पिटर्सबर्ग सहरमा आक्रमण गर्दाताकाको जस्तै अवस्था उत्पन्न भएको बताएका छन्।

    “उनीहरूले यहाँपनि घेराबन्दी गर्दैछन् जस्तो लेनिनग्राद (सेन्ट पिटर्सबर्गको तत्कालीन नाम)मा भएको थियो,” भादिम बोइचेन्कोले भने।

    रुसी सेनाले सहरको बिजुली, खानेपानी, खानेकुरा, न्यानो पार्ने प्रणाली सबैको आपूर्ति अवरुद्ध पारिदिएको उनले बताए।

    गैरसैनिकहरूको उद्धार विथोल्न रुसी फौजले रेलसम्पर्क समेत ध्वस्त पारिदिएको उनले बताए।

    यो सप्ताहान्तमा त्यहाँको तापक्रम माइनस २ डिग्री सेल्सियस पुग्ने प्रक्षेपण छ।

  9. पुटिनले भने – रुसले आफ्नो उद्देश्य प्राप्त गर्नेछ

    पुटिन

    तस्बिर स्रोत, Reuters

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनका फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँगको कुराकानीमा युक्रेनलाई असैनिकृत गरिदिने र तटस्थ बनाइदिने आफ्नो उद्देश्य सफलतापूर्वक सम्पन्न हुने बताएका छन्।

    उनीहरूबीच भएको टेलिफोन कुराकानीबारे दिइएको विवरणमा युक्रेनद्वारा वार्तामा गरिने ढिलाइले केवल रुसका मागहरू बढ्दै जाने पुटिनले बताएको उल्लेख छ।

    साथै पुटिनले बुधवार माक्रोँले गरेको एक सम्बोधनप्रति आफ्नो विमति जनाएका थिए।

    सो सम्बोधनमा माक्रोँले युद्ध सुरु गर्न केवल पुटिनमात्र जिम्मेवार रहेको बताएका थिए।

  10. रुस-युक्रेन दोस्रो चरणको शान्तिवार्ता हुँदै

    शान्तिवार्ता

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, सोमवार बेलारुसको गोमेल क्षेत्रमा पहिलो चरणको शान्तिवार्ता भएको थियो

    युक्रेनी तथा रुसी प्रतिनिधिमण्डलबीच बेलारुसमा बिहीवार नै दोस्रो चरणको शान्तिवार्ता हुँदैछ।

    एकजना युक्रेनी वार्ताकार डाभिड अराखमियाले सामाजिक सञ्जालमा युक्रेनको न्यूनतम उद्देश्य गैरसैनिकहरूलाई द्वन्द्वग्रस्त क्षेत्रबाट बाहिरिन दिन मानवीय बाटो खुला गराउनु हुने बताएका छन्।

    युक्रेन छाडेर जानेहरूको सङ्ख्या १० लाख नाघेको संयुक्त राष्ट्रसङ्घले बताएको छ।

    रुसले भने युक्रेनसामु ‘असैनिकीकरण’ गर्न तथा क्राइमियालाई रुसी क्षेत्र मान्न माग गरिरहेको छ।

    साथै पूर्वी युक्रेनका डोनेत्स्क तथा लुहान्स्कलाई पनि पृथक भएको मान्यता दिन मस्कोले भनिरहेको छ।

    बुधवार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युद्धविरामका लागि हुने कूटनीतिक प्रयासप्रति अमेरिकाको समर्थन रहने बताएका थिए।

  11. युद्धको एक सातापश्चात् के छ पछिल्लो अवस्था

    रुसी हमला

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, बमबारीमा ध्वस्त भएको किएभ नजिकै रहेको एक आवासीय भवन

    रुसले युक्रेन अतिक्रमण गरेको एक साता बितेको छ।

    यतिखेर युक्रेनका मुख्य सहरहरूमा रुसी आक्रमण निकै तेज पारिएको छ।

    तर हालसम्म एउटामात्रै मुख्य सहर रुसी कब्जामा पुगेको छ।

    बिहीवार भएका मुख्य घटना यसप्रकार छन्:

    • रुसी सेनाले रणनीतिक महत्त्वको बन्दरगाह सहर खेअरसन आफ्नो नियन्त्रणमा लिएको छ। रुसले कब्जा गरेको यो पहिलो महत्त्वपूर्ण सहर हो।
    • अघिल्लो बिहीवार यता १० लाखभन्दा धेरै मानिसले युक्रेन छाडेका छन्। तीमध्ये आधा जति छिमेकी पोल्यान्डमा गएको संयुक्त राष्ट्रसङ्घले बताएको छ।
    • द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनमा भएका सम्भावित युद्ध अपराध तथा मानवताविरुद्ध अपराधको अनुसन्धान थालेको छ।
    • कैयन् सहरहरूमा व्यापक बमबारी भइरहेको छ। मारिउपोल सहरमा घाइतेलाई मद्दत गर्न समेत गाह्रो परिरहेको मेयरले बताएका छन्।
    • रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले तेस्रो विश्वयुद्ध भएमा परमाणुयुद्ध हुने चेतावनी दिएका छन्। तर रुसले त्यसबारे सोचबिचार नगरेको उनले बताए।
    • राजधानी किएभमा ठूल्ठूला विस्फोटन भएका छन्। हालसम्म सहर युक्रेनी सरकारकै नियन्त्रणमा छ।
  12. रुसले क्षतिको आर्थिक मूल्य चुकाउनुपर्नेछ: जेलेन्स्की

    किएभका बासिन्दा

    तस्बिर स्रोत, Getty Images

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमा रुसले गराएको क्षतिका लागि उसलाई आर्थिक मूल्य चुकाउन लगाइने बताएका छन्।

    एउटा भिडिओमा बोल्दै उनले क्षतिपूर्तिको मुद्दा उठाएर युक्रेनमा क्षति पुगेका सबै घर र बाटाहरूलाई पुरानै रूपमा बनाइने बताए।

    यसैबीच रुसको आक्रमण भने आठौँ दिन पनि जारी छ।

    राजधानी किएभको उत्तरतर्फ रहेका रुसी बख्तरबन्द गाडीका लस्कर यथावत रहेका छन्।

    दक्षिणमा रहेको रणनीतिक मारिउपोल बन्दरगाहमा बमबारी हुने क्रम जारी छ।

    अधिकारीहरूले रुसमाथि सहर घेरेर गैरसैनिक संरचनालाई निसाना बनाएको आरोप लगाएका छन्।

    दुवै पक्षले उपलब्ध गराएका मारिएका वा घाइते भएका रुसी फौजको सङख्या एकदमै भिन्न छ।

    तर ती कुनै पनि सङ्ख्याको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

  13. 'युद्ध सकिएपछि इतिहास लेख्छु': सांसदले पनि बोके बन्दुक

  14. क्षतिबारे युक्रेन र रुसका दाबी के कस्ता?

    युक्रेनमा आक्रमण

    तस्बिर स्रोत, Reuters

    युक्रेनको सेनाले नियमित रूपमा उसले रुसी फौजमाथि पुर्‍याएको क्षतिबारे जानकारी दिने गर्छ।

    रुसी सेनाले लगातार महत्त्वपूर्ण सहरहरूमा सङ्घर्ष सघन पारिरहेको छ।

    यतिखेर क्षतिबारे गरिएका दाबी बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सक्दैन।

    तर युक्रेनी सेनाले दिएको पछिल्लो जानकारीमा झन्डै ९,००० रुसी सैनिक हताहत भएका छन्।

    साथै युक्रेनी सेनाले गरेको दाबीअनुसार रूसलाई उसले पुर्‍याएको क्षति पुर्‍याएको यस प्रकार छ -

    • २१७ ट्याङ्क ध्वस्त पारिएको
    • ९० आर्टिलरी प्रणाली नष्ट पारिएको
    • ३१ हेलिकप्टर ध्वस्त पारिएको
    • ३० विमान ध्वस्त पारिएको

    रुसले बुधवार पहिलो पटक उसको सेनामा पुगेको क्षतिबारे जानकारी दिएको थियो।

    उसका अनुसार ४९८ रुसी सेना मारिएको अनि १,६०० घाइते भएका छन्।

    उसले २,८७० युक्रेनी सेैनिक तथा ‘राष्ट्रवादी’हरू मारिएको बताएको छ।

    द्वन्द्वमा परेर सयौँ गैरसैनिकको पनि ज्यान गएको छ।

  15. ब्रेकिंग, तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने लाभ्रोभको चेतावनी

    रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ मस्कोमा एउटा प्रेस सम्मेलनमा बोलिरहेका छन्।

    अमेरिकी राष्ट्रपति जो बाइडनले प्रतिबन्धहरूको विकल्प तेस्रो विश्वयुद्ध हुने भनेको बताउँदै लाभ्रोभले तेस्रो विश्वयुद्ध भए त्यो "परमाणुयुद्ध" हुने चेतावनी दिए।

    लाभ्रोभका अनुसार तर त्यो कुरा 'केवल पश्चिमा नेताको मस्तिष्कमा छ, रुसी जनताको मस्तिष्कमा छैन।'

    "यदि हामीविरुद्ध वास्तविक युद्ध सुरु भयो भने त्यस्तो योजना बनाउनेहरूले त्यसबारे सोच्नुपर्छ। मेरो विचारमा त्यस्तो योजना बनिसकेको छ।"

  16. भिडिओः टीभीको क्यामरामा किएभको विस्फोटन

    रुसी आक्रमण खेपिरहेको किएभमा गत राति ठूलाठूला विस्फोटनहरू भए।

    सीबीएस न्यूजको टोलीले त्यस्तै विस्फोटन आफ्नो क्यामरामा कैद गरेको छ।

    विस्फोटनका कारण बीबीसको अमेरिकी साझेदार समाचारसंस्था सीबीएसका संवाददाता चार्ली डि'अगाटा केही हडबडाएको देखिन्छ।

    उनले विस्फोटनलाई चट्याङसँग तुलना गरेका छन्।

    उनी अहिले किएभमा छन्।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  17. आफ्ना नागरिकलाई रुस छोड्न फ्रान्सको आग्रह

    द्वन्द्व बढिरहेको हुनाले "अत्यावश्यक" अवस्थामा बाहेक आफ्ना नागरिकलाई रुस छोड्न फ्रान्स सरकारले आग्रह गरेको छ।

    अरू देशले पनि त्यस्तै सुझाव दिँदै यात्रासम्बन्धी सूचना जारी गरेका छन्।

    यूकेको फरेन अफिसले पछि देश छोड्न कठिन हुने र रुसी अर्थतन्त्र तरल रहेको कारण देखाउँदै आफ्ना नागरिकलाई रुसको यात्रा नगर्न आग्रह गरेको छ।

    अमेरिका सरकारले पनि त्यस्तै सुझाव दिएको छ। विभिन्न कारणमध्ये उसले रुसी सुरक्षाकर्मीले अमेरिकी नागरिकसँग दुर्व्यवहार गर्न सक्ने पनि उल्लेख गरेको छ।

  18. 'म पैसा तिर्न सक्दिनँ': रुसी नागरिकलाई आर्थिक प्रतिबन्धको पीडा

  19. रुसी अर्बपतिको ६० करोड डलर पर्ने विलासी नौका जर्मनीको नियन्त्रणमा

    नौका

    तस्बिर स्रोत, Getty Images

    जर्मन अधिकारीहरूले रुसी अर्बपति अलिशेअर उस्मानोभको ६० करोड अमेरिकी डलर मूल्य भएको विलासी नौका नियन्त्रणमा लिएको विवरणमा जनाइएको छ।

    फोर्ब्स म्यागजीनका अनुसार ह्याम्बर्गबाट १५६ मिटर लामो उक्त नौका नियन्त्रणमा लिइएको हो।

    धातु व्यापारी उस्मानोभ रुसका चर्चित २५ व्यक्तिमध्ये एक हुन् जो रुसी सरकारसँगको सम्बन्धलाई लिएर युरोपेली सङ्घको प्रतिबन्धमा परेका छन्।

    रुसी स्वामित्वका अरू नौकाहरू माल्दिभ्सका रोकिएका छन्।

  20. ब्रेकिंग, रुस र बेलारुसलाई २०२२ पारालिम्पिक्समा प्रतिबन्ध

    बेइजिङमा हुने शीतकालीन पारालिम्पिक्स २०२२ का प्रतिस्पर्धामा रुसी र बेलारुसी खेलाडीको सहभागितामा प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय पारालिम्पिक समितिले जनाएको छ।

    बेइजिङ पारालिम्पिकको उद्घाटन शुक्रवार हुँदैछ भने प्रतिस्पर्धाहरू शनिवारबाट हुनेछन्।