तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

युक्रेनको परमाणु ऊर्जा केन्द्र रुसको कब्जामा, पश्चिमा नेताहरूद्वारा मस्कोको निन्दा

रुसले युक्रेनस्थित एक परमाणु ऊर्जा केन्द्रमा हमला गर्दा आगलागी समेत भएपछि विश्व नेताहरूले मस्कोले पूरै महादेशको सुरक्षा जोखिममा पारिदिएको आरोप लगाएका छन्।

लाइभ कभरेज

  1. रुसले युक्रेनमा किन आक्रमण गर्‍यो, पुटिन के चाहन्छन्

  2. युक्रेन छाड्न अमेरिकाले गरेको प्रस्ताव 'जेलेन्स्कीद्वारा अस्वीकार'

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनबाट उनलाई उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

    “लडाइँ यहाँ भइरहेको छ। मलाई हतियार चाहिएको छ, कुनै सवारी होइन,” अमेरिकी समाचार संस्था एपीले वार्तालापबारे जानकारी भएका एक वरिष्ठ गुप्तचर अधिकारीलाई इङ्गित गर्दै जेलेन्स्कीले त्यसो भनेको जनाएको छ।

    द वाशिङ्टन पोस्टले पनि अमेरिकी र युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सरकार जेलेन्स्कीलाई सहयोग गर्न तयार रहेको जनाएको छ।

    रुसी हमलाविरुद्ध जनाएको प्रतिक्रियाका कारण जेलेन्स्कीको समाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

    विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता रहेका उनले निरन्तर लडिरहने प्रतिबद्धता जनाएका छन्। एउटा सम्बोधनमा उनले भनेका छन्, “जब तिमीहरूले हामीलाई आक्रमण गर्छौँ हामी त्यसको सामना गर्छौँ, भाग्दैनौँ”

    उनले आफैँले खिचेको एउटा भिडिओ पनि पोस्ट गरेका छन् जसमा उनी र उनका सहयोगीहरू किएभमा देखिन्छन्।

    उनले भनेका छन्, “हामी सबै यहाँ छौँ र यो यस्तै भइरहन्छ।”

  3. युक्रेनमा रुसी ट्याङ्कले कारलाई किचेर हिँड्यो

  4. मेलिटोपोल नगर कब्जा गरिएको रुसी दाबी

    रुसको रक्षा मन्त्रालयलाई उद्धृृत गर्दै रुसी सैनिकहरूले दक्षिणी युक्रेनको मिलिटोपोल नगर नियन्त्रणमा लिएको समाचार रुसी समाचारसंस्था इन्टरफ्याक्स र स्पुत्निकले प्रकाशित गरेका छन्।

    मिलिटोपोल युक्रेनको मुख्य बन्दरगाह मारिऊपोलनजिकै रहेको एउटा मध्यम आकारको सहर हो।

  5. आत्मसमर्पणसम्बन्धी अफवाह युक्रेनी राष्ट्रपतिद्वारा खण्डन

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफैँले खिचेको भिडिओ ट्विटरमा प्रेषित गर्दै आफूले सेनालाई रुससँग आत्मसमर्पण गर्न आह्वान गरेको भन्ने अफवाहको खण्डन गरेका छन्।

    त्यस्तो अफवाहलाई निस्तेज पार्न उनी किएभका सडकमा आफैँ गएर त्यो सन्देश दिएका हुन्।

    "मैले सेनालाई हतियार बिसाउन भनेको तथा ठाउँ छोड्ने क्रम सुरु भएको जस्ता निकै मिथ्या सूचनाहरू अनलाइनमा छन्," उनले भने।

    "म यहीँ छु। हामी हतियार बिसाउँदैनौँ। हामी हाम्रो राष्ट्रको प्रतिरक्षा गर्छौँ।"

  6. ३,५०० रुसी सैनिकको मृत्यु भएको युक्रेनी दाबी

    युक्रेनको सेनाले रुसी सेनातर्फ भएको सैन्य क्षतिबारे एउटा विवरण प्रकाशित गरेको छ।

    फेसबुकमा प्रकाशित उक्त विवरणमा अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३,५०० भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरिएको छ।

    युक्रेनी सेनाको दाबीअनुसार रुसले आफ्ना १४ वटा विमान र १०२ वटा ट्याङ्क पनि गुमाएको छ।

    बीबीसीले यी दाबीहरूको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

    रुसले अहिले आफूपट्टि भएको मानवीय क्षतिबारे कुनै जानकारी दिएको छैन।

  7. ब्रेकिंग, ब्ल्याक सीबाट युक्रेनमाथि क्षेप्यास्त्र प्रहार

    ब्ल्याक सीबाट युक्रेनलाई लक्ष्य गरेर क्षेप्यास्त्र प्रहार भइरहेको विवरण प्राप्त भएको छ।

    सङ्घर्ष चर्किरहेको अवस्थामा केही स्थानमा हवाई आक्रमण पनि भइरहेको विवरणहरूमा उल्लेख गरिएको छ।

  8. सङ्कटमा परेको युक्रेनप्रति ऐक्यबद्धता

    रुसले आक्रमण गरेपछि सङ्कटमा फसेको युक्रेनप्रति ऐक्यबद्धता प्रकट गर्न विश्वका विभिन्न देशका राजधानीमा रहेका प्रसिद्ध स्थानहरूमा युक्रेनको राष्ट्रिय रङ्ग प्रतिबिम्बित हुनेगरी बत्ती बालिएको छ।

  9. किएभको ताजा अवस्था यस्तो छ

    रुसले सैन्य आक्रमण गरेको तेस्रो दिन युक्रेनमा यतिखेर बिहान ७ बजिसकेको छ।

    लडाइँका कारण सुत्न नसक्दा धेरै मानिसका लागि रात लामो बन्न पुग्यो भने मेट्रो स्टेशन र अन्य भूमिगत स्थानमा आश्रय लिएका मानिसहलाई पनि साइरनको आवाजले झस्काइरह्यो।

    राजधानी किएभमा जारी लडाइँ र त्यससम्बन्धी ताजा विवरण यस्ता छन्:

    • युक्रेनी फौजहरूले रुसी आक्रमणलाई विफल बनाउने प्रयास जारी राखेका छन्। युक्रेनी सैनिकहरूको एउटा समूहले किएभमा रुसी पक्षलाई एउटा प्रमुख चोकबाट पछाडि हट्न बाध्य पारेको युक्रेनी सेनाले एउटा फेसबुक पोस्टमा उल्लेख गरेको छ
    • यसअघि युक्रेनी सशस्त्र बलले अर्को फेसबुक पोस्टमा सहरको अर्को क्षेत्रमा भीषण सङ्घर्ष भइरहेको र कतिपय ठाउँमा भिडन्त भइरहेका उल्लेख गरेको थियो। राष्ट्रपति जेलेन्स्कीले रुसले किएभमाथि हमला गर्ने बताएका केही घण्टामै नयाँ घटनाक्रम विकास भएका थिए
    • किएभ इन्डिपेन्डन्टका अनुसार ५० भन्दा बढी विस्फोटन र मशीनगनबाट गोली चलेको आवाज सुनिएको विवरण आएका छन्
    • न्याश्नल सेक्युरिटी एन्ड डिफेन्स काउन्सिलका सेक्रेटरी ओलेक्सी डानिलोभले किभएमा सेनाको नियन्त्रण रहेको युक्रेनी समाचारसंस्था एलबी.यूएलाई बताएका छन्। "हामीहरू उपलब्ध सबै माध्यम परिचालन गरेर गिरोहलाई रोकिरहेका छौँ," उनलाई उद्धृत गरिएको छ
    • अमेरिकी प्रशासनले कंग्रेसलाई युक्रेनका लागि ६.४ अर्ब डलर सहायता उपलब्ध गराउन भनेको छ
    • संयुक्त राष्ट्रसङ्घका सहायता निकायहरूले ५० लाख सम्म युक्रेनी नागरिकहरू भागेर छिमेकी देशमा जान सक्ने जनाएको छ
  10. युक्रेनमा तेस्रो दिन पनि रुसी आक्रमण जारी, पुटिनविरुद्ध अमेरिकी प्रतिबन्ध

  11. नेपालीलाई युक्रेनबाट छिमेकी मुलुक जान सुझाव, ‘विद्यार्थी चिन्तित’

    बर्लिनस्थित नेपाली राजदूतावासले युक्रेनमा रहेका नेपालीहरूलाई स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीतर्फ जान सुझाव दिएको छ।

    एउटा विज्ञप्ति निकाल्दै जर्मनीस्थित राजदूतावासले युक्रेनबाट सम्पर्कमा आएका १९३ नेपाली सुरक्षित रहेको जनाएको छ।

    राजदूतावासले बिहीवार र शुक्रवार युक्रेनसँग सीमा जोडिएका गणतन्त्र स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले युक्रेनबाट बाहिर जान चाहने विदेशी नागरिकहरूलाई मानवीयताका आधारमा आफ्नो मुलुक प्रवेशका लागि नाका खोलेका छन्।

    सुरक्षित रूपमा नेपाल फर्किनका लागि ती देशहरूसम्म जान सकिने दूतावासको भनाइ छ।

    यसअघि बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै किएभमा बसिरहेका नेपाली विद्यार्थीहरूले सिमानासम्म पुग्ने अवस्था नरहेको भन्दै त्यहाँसम्म पुग्ने बन्दोबस्त मिलाइदिन राज्यसँग अनुरोध गरेका थिए।

  12. किएभका विभिन्न क्षेत्रमा ठूलो सङ्घर्ष

    शुभप्रभात!

    लाइभ पेजमा तपाईँलाई पुनः स्वागत छ। रुसले युक्रेनमा आक्रमण जारी राखेको छ। रुसी सेना युक्रेनको राजधानी किएभको बाहिरी भेगमा पुगेपछि ठूलो सङ्घर्ष भइरहेको विवरण प्राप्त भएको छ।

    हामी त्यसबारे र रुसी आक्रमणपछि विकसित घटनाक्रमबारे ताजा जानकारी तपाईँलाई यो पेजमार्फत् दिनेछौँ।

    • रुसले आक्रमण गरेको भए पनि युक्रेनले मुख्य सहरहरूमा आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ
    • रुसी सेना विभिन्न मोर्चामा अघि बढिरहेको भएपनि युक्रेनी सुरक्षाकर्मीले प्रतिकार गरेको रक्षा मन्त्रालयले जनाएको छ
    • संयुक्त राष्ट्रसङ्घका महासचिवले रुसी सेनालाई ब्यारेकमा फर्किन आग्रह गरेका छन्
    • किएभमा रात्रि कर्फ्यू लगाइएको थियो भने ठूलो सङ्ख्यामा मानिसहरूले मेट्रो स्टेशनमा आश्रय लिएका थिए
  13. युक्रेन-रुस लडाइँ चर्किँदा नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला

  14. युक्रेनमा नेपाली विद्यार्थी कुन अवस्थामा छन्

  15. किएभको केन्द्र नजिकै रुसी सेना

    राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसी सेनाले चार करोड जनसङ्ख्या भएको युक्रेनमा विभिन्न दिशाबाट सुरु गरेको ठूलो आक्रमण दोस्रो दिनपनि जारी छ।

    रुसी सैनिकहरू राजधानी किएभ सहरको केन्द्र तर्फ अघि बढेपछि युक्रेनी सैन्य गाडीहरू किएभमा परिचालन भएका विवरणहरू आएका छन्।

    युक्रेन-रुस तनावबारे हामीले निरन्तर समाचार दिँदै आएका छौँ।

    आजका लागि यो लाइभ पेजबाट बिदा चाहन्छौँ। धन्यवाद।

  16. युक्रेनमाथि रुसी आक्रमणको दोस्रो दिन के के भयो?

    रुसी सैनिकहरू पूर्वी युक्रेनमा प्रवेश गरेको दोस्रो दिन भएका मुख्य घटनाक्रमहरू यस्ता छन्ः

    • रुसी सैनिकहरू राजधानी किएभको उत्तरी भेगमा पुगेको युक्रेनले जनाएको छ।
    • सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा रुसी ट्याङ्कहरू युक्रेनको राजधानी किएभ क्षेत्रमा गुडिरहेको देखिएको छ।
    • अघि बढिरहेका रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किएभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।
    • युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन्।जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ भने १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताइएको छ।
    • रुसको रक्षा मन्त्रालयले आफ्नो फौजले किएभनजिकै अवस्थित एउटा प्रमुख हवाई मैदान नियन्त्रणमा लिएको बताएको छ।
    • रुसी जलसेनाले आक्रमण गरेपछि ब्ल्याक सीमा पर्ने एउटा सानो टापुमाथि आफूले नियन्त्रण गुमाएको युक्रेनले जनाएको छ।
    • युक्रेनमाथि सैन्य आक्रमण गरेको रुसमाथि युरोपेली सङ्घ ईयूले ठूलो स्तरको नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ।
    • युक्रेनको राजधानी किएभबाट उत्तरपश्चिममा अवस्थित बुखाको एउटा आवासीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार भएको भिडिओ सामाजिक सञ्जालमा देखा परेको छ।
    • रुसले युक्रेनमाथि आक्रमण गरेपछि च्याम्पिअन्स लीग प्रतियोगिताको फाइनल खेल रुसको साटो फ्रान्समा हुने भएको छ।
    • रुसको राष्ट्रिय ध्वजावाहकमाथि ब्रिटेनले प्रतिबन्ध लगाएपछि रुसले पनि यूके सम्बद्ध विमानहरूलाई आफ्नो हवाई क्षेत्रमा उड्नमा प्रतिबन्ध गरेको छ।
    • यूकेका रक्षामन्त्रीले आक्रमणको पहिलो दिन रुसले युक्रेनमा आफ्नो कुनै पनि लक्ष्य हासिल गर्न नसकेको ब्रिटिश गुप्तचर निकायहरूको आकलनबाट देखिएको बताएका छन्।
    • रुसी फौज अगाडि बढिरहँदा युक्रेनी राजधानी किएभमा गोली हानाहानका आवाज सुनिएका थुप्रै विवरणहरू आएका छन्।
    • रुसले आक्रमण गरेपछि युक्रेनको राजधानी किएभभरि खतरा जनाउने साइरन बजेको सुनिएको छ।
    • युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गर्दै युक्रेन र रुस दुवैमा युद्धविरामका लागि आफूले अपील गरिरहेको बताएका छन्।
    • अमेरिकाले रुसी अतिक्रमणका कारण ५० लाख मानिस विस्थापित हुने र त्यसले विश्वका ठूलामध्येको एउटा शरणार्थी सङ्कट सिर्जना गर्ने चेतावनी दिएको छ।
    • युक्रेनमाथि रुसले आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ।
  17. किएभमा युक्रेनी सैन्य गाडी, स्वयंसेवकलाई बन्दुक

    अघि बढिरहेका रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किएभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

    किएभका नगरप्रमुखले यसअघि नै सहर रक्षात्मक चरणमा प्रवेश गरिसकेको बताएका थिए।

    सरकारले रुसी फौजसँग प्रतिवादका लागि हतियार बोक्न तथा आफ्नो तर्फबाट सक्दो योगदान गर्न नागरिकहरूलाई आग्रह गरेको छ।

    यसैबीच आन्तरिक मामिला मन्त्रालयले राजधानी सहरको रक्षाका लागि स्वयंसेवकहरूलाई १८,००० थान मशीनगन प्रदान गरिएको जनाएको छ।

  18. किएभनजिकै हवाई मैदानमा रुसको नियन्त्रण

    रुसको रक्षा मन्त्रालयले आफ्नो फौजले किएभनजिकै अवस्थित एउटा प्रमुख हवाई मैदान नियन्त्रणमा लिएको बताएको रुसी समाचारसंस्था इन्टरफ्याक्सले जनाएको छ।

    होस्टोमेल एअरफील्ड कब्जा गर्न २०० वटा हेलिकोप्टर र सैनिकहरूको एउटा टोली प्रयोग भएको बताइएको छ।

    रुसले किएभसँगको पश्चिमा सम्पर्क "अवरुद्ध भएको" समेत बताएको छ।

  19. वार्ताबाट सङ्कट समाधान गर्न पुटिनलाई चीनको सुझाव

    पश्चिमा देशहरू रुसविरुद्ध एकबद्ध भएको बेला चीनले युक्रेनमाथि गरेको रुसी आक्रमणको खासै निन्दा गरेको छैन।

    शुक्रवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा भएको कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिन्पिङले वार्ताको माध्यमबाट युक्रेन सङ्कट समाधान गर्न चीनले रुसलाई समर्थन गर्ने बताएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ।

    युक्रेन-रुस तनावका कारण विभिन्न मोर्चामा चीनसमक्ष चुनौतीहरू उत्पन्न भएका छन्।

    चीनमा हुन लागेको ग्रीष्मकालीन ओलिम्पिक्समा सहभागी हुने विश्वका प्रमुख नेताहरूमध्ये रुसी राष्ट्रपति पुटिन पनि एक हुने ठानिएको छ।

    त्यसबाट दुई देशबीच विद्यमान घनिष्ठ कूटनीतिक सम्बन्ध दर्साउँछ।

    यसअघि चिनियाँ विदेशमन्त्रीले रुसले युक्रेनमाथि आक्रमण गरेको स्वीकार गरेका थिएनन्।

  20. किएभको उत्तरपश्चिमी क्षेत्रमा आवासीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार

    युक्रेनको राजधानी किएभबाट उत्तरपश्चिममा अवस्थित बुखाको एउटा आवासीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार भएको भिडिओ सामाजिक सञ्जालमा देखा परेको छ।

    बीबीसीले त्यो भिडिओको आधिकारिकता पुष्टि गरेको छ।

    युक्रेनले राजधानीको उत्तरी भेगमा रुसी सेना प्रवेश गरेको बताएपछि यो भिडिओ सार्वजनिक भएको हो।