आयरल्यान्ड 'ए' फेरि पराजित, टी-२० शृङ्खला नेपालको हातमा

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- Published
टी-२० विश्वकपको तयारी गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले फेरि आयरल्यान्ड 'ए' लाई पराजित गर्दै टी-२०आईको दुई म्याचको शृङ्खला आफ्नो हात पारेको छ।
कीर्तिपुर क्रिकेट मैदानमा मङ्गलवार खेलिएको दोस्रो खेलमा नेपालले ७१ रनको फराकिलो जित हात पार्यो।
सोमवार भएको पहिलो खेलमा नेपाल छ विकेटले विजयी भएको थियो।
सोमवार राति भएको हल्का वर्षाका कारण भिजेको आउटफील्ड र ओसिलो पिचमा नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो।
नेपालले गुलशन झाको आक्रामक इनिङ्सको सहयोगमा १९८ रन बनायो। त्यस क्रममा नेपालले सात विकेट गुमाएको थियो।
प्रत्युत्तरमा आइरिश टोलीले १२७ रन मात्र बनाउन सक्यो।
नेपालको सन्तुलित ब्याटिङ

तस्बिर स्रोत, CAN
पहिलो खेलमा आयरल्यान्ड 'ए' पराजित भइसकेकाले नेपालका प्रशिक्षक मोन्टी देसाईले मङ्गलवार मुख्य खेलाडी दीपेन्द्र सिंह ऐरी र स्पिनर ललितनारायण राजवंशीलाई बेन्चमा राख्दै अनिल शाह र विवेक यादवलाई मैदानमा पठाएका थिए।
अनिल शाह धेरै बेर टिक्न सकेनन्। उनी १२ रन बनाएर विकेटकिपर स्टीफन दोहनीबाट समातिन पुगेका थिए। अन्तिम समयमा आएका विवेक यादवले आठ बल खेल्न पाउँदा सात रन मात्र बनाए।
मङ्गलवार नेपालका बायाँहाते ब्याटरहरूले राम्ररी खेले।
सुरुमा गुलशन झा आइरिश बलरहरूमाथि हावी हुँदै ४६ रन बनाए। कुल ३२ बल खेलेका उनले चारवटा छक्का प्रहार गरे।
त्यसपछि अर्का बायाँहाते ब्याटर कुशल मल्लले पनि चार छक्का प्रहार गरे। उनले १३ बलमा ३४ रन बनाए।
यी दुईले बाउन्ड्रीको वर्षा गर्दा नेपाल ठूलो योगफलतिर अग्रसर भएको थियो। तर नेपाल २०० रन बनाउने अवसरबाट भने चुक्यो।

तस्बिर स्रोत, CAN
पाँच ओभरभित्र ओपनरद्वय आशिफ शेख (११ रन) कुशल भुर्तेल (२५ रन) आउट भएका थिए।
त्यसबेलासम्म नेपालले ४३ रन जोड्न भ्याइसकेको थियो।
त्यसपछि कप्तान रोहित पौडेल र गुलशन झाले नेपाली इनिङ्स सम्हाले। यी दुईले मिलेर चौथो विकेटका लागि ७१ रनको बलियो साझेदारी गरे।
रोहित पौडेल १६औँ ओभरमा ३३ रन बनाएर आउट हुन पुगे। त्यसपछि कुशल मल्लले आक्रामक इनिङ्स खेलेका हुन्।
सातौँ नम्बरमा आएका सन्दीप जोराले पनि प्रभावशाली प्रदर्शन गर्दै अन्तिम बलमा आउट हुनुअघि १० बलमा २१ रन बनाए।
समग्रमा नेपाली ब्याटरहरूले लामो समयपछि राम्रो ब्याटिङ प्रस्तुत गरेका हुन्।
आयरिश टोलीको ब्याटिङ
विशाल लक्ष्य पाएको आयरल्यान्डले सुरुमा प्रभावशाली खेलेको भए पनि त्यो लयलाई कायम राख्न सकेन।
ओपनरद्वय रोस अडिर (१७ रन) र स्टीफन दोहनी (२६ रन) ले पाँच ओभरभित्र विकेट नगुमाई ४३ रनको साझेदारी गरेका थिए।
लगत्तै तीन बलका बीचमा यी दुई खेलाडीको विकेट झरेपछि खेल नेपालको नियन्त्रणमा आएको देखियो।
सोमपाल कामीले दोहनी र कुशल मल्लले अडिरको विकेट लिएका थिए।
११.१ ओभरमा कामचलाउ स्पिनर कुशल भुर्तेलले काडे कार्मिकेललाई अनिल साहबाट लङ-अनमा क्याच लिए गराएका थिए।
कप्तान नील रक (१७ रन) को विकेट करण केसीले लिएपछि खेल नेपालको पक्षमा ढल्किएको थियो।
आयरल्यान्डका खेलाडीहरूलाई बलियो साझेदारी गर्न रोक्दै नेपाली बलरहरूले पालैपालो विकेट लिएका थिए।
अब नेपालको खेल कहिले
आयरल्यान्ड 'ए' सँगको दुई म्याच खेलेको नेपाल अब टी-२० विश्वकपको थप तयारीको लागि भारत जाँदै छ।
मार्च ३१ देखि एप्रिल ७ सम्म त्यहाँ टोलीले गुजरात र बरोडा क्लबसँग दुई-दुईवटा अभ्यास खेल खेल्ने छ।
त्यहाँबाट टोली एसीसी मेन्स प्रेमिअर कप खेल्न ओमान जाने छ।
एप्रिल १२ देखि २१ सम्म हुने उक्त टी-२० प्रतियोगितमा नेपालले मलेशिया, कतार, हङ्कङ र साउदी अरबसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
त्यसपछि टोली अमेरिका र वेस्ट इन्डिजमा टी २० विश्वकप खेल्ने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















