टेस्ट राष्ट्र आयरल्यान्डको 'ए' टीममाथि नेपालको जित

आयरल्यान्डको 'ए' टोली र नेपालको राष्ट्रिय क्रिकेट टोली

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू
  • Published

टेस्ट राष्ट्र आयरल्यान्डको 'ए' टोलीलाई नेपालको राष्ट्रिय क्रिकेट टोलीले छ विकेटले पराजित गरेको छ। सोमवार सम्पन्न अन्तर्राष्ट्रिय टी२० शृङ्खलामा नेपाल विजयी भएको हो।

तीव्र गतिका बलर र स्पिनरहरूले पालैपालो विकेट लिएपछि कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्न आएको आयरल्यान्ड 'ए' लाई नेपालले २० ओभरमा १२१ रनमै रोक्यो।

जबाफमा नेपालले सत्रौँ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

पछिल्लो समय खेलाडीको रोजाइबारे लगातार प्रयोग गर्दै आएका प्रशिक्षक मोन्टी देसाईले सोमवार पहिलो रोजाइकै बलियो नेपाली टोलीलाई उतारेका थिए।

त्यसमा नेपाल 'ए' मा रहेका सन्दीप जोरादेखि 'डेथ बल स्पेशलिस्ट' अविनाश बोहोरा सामेल थिए भने अनिलकुमार साहलाई बेन्चमा नै राखिएको थियो।

आयरल्यान्ड 'ए' सँग दुई खेल खेलेपछि नेपाली टोली टी-२० विश्वकपको तयारीका लागि भारत जाने छ।

त्यसैले नेपाली टोलीका सदस्यहरुले टीममा स्थान बनाउन यी दुई खेलमा उच्च प्रदर्शन गर्नुपर्ने देखिएको छ।

नेपालको ब्याटिङ

कुशल भुर्तेल

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, कुशल भुर्तेल प्लेअर अफ द म्याच समेत भए

नेपाललाई प्रस्तुत १२२ रनको लक्ष्य सहजै पाउने अनुमानविपरीत आयरल्यान्ड 'ए' ले कसिलो बलिङ गरेपछि नेपालले एक समय ब्याटिङमा निकै सङ्घर्ष गर्नुपर्‍यो।

सुरुवाती जोडी आशिफ शेख र कुशल भुर्तेलले ३२ रनको पहिलो साझेदारी गरेपछि नेपाल सहज विजयतिर अग्रसर थियो।

तर ३.२ ओभरमा आशिफ शेख १६ रन बनाउँदै आउट भएपछि स्थिति केही अनियन्त्रित हुन पुग्यो।

आसिफ आउट भएको दुई बलपछि नै कप्तान रोहित पौडेल खाता खोल्न नपाई आउट भए। त्यसैमा गुलशन झा ४.५ ओभर आउट भए।

यसरी दुई ओभरमा तीन खेलाडी लगातार आउट भएपछि नेपाली टोली दबाबमा परेको थियो।

तर ओपनर कुशल भुर्तेल र सन्दीप जोराले स्थितिलाई राम्ररी नियन्त्रण गर्दै चौथो विकेटका लागि ५४ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपाली टोली जिततिर अग्रसर हुन पुगेको हो।

 कुशल भुर्तेल र सन्दीप जोरा

तस्बिर स्रोत, CAN

जोरा ३६ रन बनाएर आउट भएपछि दीपेन्द्रसिंह ऐरीले इनिङ्स सम्हाले।

उत्कृष्ट खेलाडी समेत घोषित भएका भुर्तेल ३७ र ऐरी २० रन बनाउँदै अविजित रहे।

बलिङको धार

आयरल्यान्ड 'ए' मा टेस्ट खेलिसकेका नौ जना अनुभवी खेलाडीहरू छन्। आयरल्यान्डका चर्चित खेलाडी पिटर मूरले सोमवार नेपालसँग खेलेनन्।

गत रातको हल्का वर्षाका कारण केही ओसिलो देखिएको कीर्तिपुर मैदानमा आयरल्यान्ड ‘ए' का कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिनु टोलीका लागि घातक देखियो।

आयरल्यान्डको 'ए' टोली र नेपालको राष्ट्रिय क्रिकेट टोली

तस्बिर स्रोत, CAN

खेलको सुरुदेखि नै नेपाली बलरहरू प्रभावशाली देखिए।

खेलको दोस्रो बलमा नै करण केसीले रोस आदिरलाई बोल्ड गरिदिएका थिए। त्यसपछि लगातार जसो विकेट पतन भइरह्यो।

अर्का ओपनर स्टेफन दोहनी एक्लैले नेपाली बलरहरूको सामना गरिरहे। उनले १३.१ ओभरसम्म क्रिजमा एक्लै सङ्घर्ष गरेर ४६ रन बनाए।

मध्यक्रमका चार खेलाडीले दोहोरो अङ्क बनाउन नसकेपछि आयरल्यान्डमाथि दबाव बढेको थियो।

तीव्र गतिका गुलशन झाले दुई खेलाडीलाई आउट गरेपछि स्पिनर ललितनारायण राजवंशीले दुई तथा कुशल मल्ल र कुशल भुर्तेलले विपक्षीको एकएक विकेट लिँदै विपक्षीको स्कोर खुम्च्याउन भूमिका खेलेका थिए।

आयरल्यान्ड 'ए' बाट पछिल्लो क्रममा ब्याटिङ गर्न आएका लियम म्याकार्थी र थोमस मायसको १६/१६ रन तथा फियोन ह्यान्डको ११ रन स्टेफनपछिको उच्च स्कोर थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।