अमेरिका-इरान सम्झौताले उठाएको पन्छाउन नसकिने प्रश्न - युद्ध केका लागि थियो?

कालो पोसाक लगाएर अमेरिका विरोधी भित्तेचित्र छेउबाट हिँडिरहेका एक पुरुष

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, इरानी सर्वसाधारणहरू महिनौँसम्म आक्रमणहरूको जोखिममा बाँचिरहेका छन्
    • Author, जेरमी बोअन
    • Role, अन्तर्राष्ट्रिय सम्पादक
  • Published
  • पढ्ने समय: ५ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजेस्किआनबीच हालै हस्ताक्षर भएको समझदारीपत्रले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गर्ने अपरिपक्व निर्णयका राजनीतिक, सैनिक र आर्थिक परिणामहरूलाई वर्णन गर्छ।

उक्त युद्धको मानवीय मूल्य देखा परिसकेको छ। हजारौँको ज्यान गएको छ; तीमध्ये अधिकांश इरान र लेबननमा मारिएका छन् र ती गैरसैनिकहरू हुन्।

संयुक्त राज्य अमेरिका र उसँगको सम्बन्धको हिसाबले इजरेलले रणनीतिक हार बेहोरेको छ। विश्वको महाशक्ति अमेरिका र मध्यपूर्वको महाशक्ति इजरेलले इरानलाई तहसनहस बनाउने उद्देश्यसहित अघि बढाएको सैन्य कारबाहीका कारण तेहरानको सत्ता अति खराब दुःस्वप्नबाट गुज्रिएको थियो।

विश्वको तेल र ग्याससहित अत्यावश्यक आपूर्तिको पाँचमध्ये एक भाग हिस्सा ढुवानी गर्नका लागि प्रयोग गरिने होर्मुज जलमार्गलाई बन्द गर्ने इरानको रणनीतिले ट्रम्पलाई तेहरानमाथि केही सहुलियतहरू दिन बाध्य बनाएको थियो। त्यसले अमेरिकामा रहेका र इजरेली सरकारभित्रका इरानका कट्टर विरोधीहरूलाई आक्रोशित तुल्याएको छ।

उक्त सम्झौतापत्रले लेबनन युद्ध समाप्त गर्न आह्वान गरेको छ। लेबननका कारण इजरेल र इरानबीच गहिरो मतभेद् निम्तिन सक्छ र त्यसले अमेरिकासँग कुनै पनि सम्झौताको विपक्षमा आफूलाई उभ्याएका इरानी कट्टरपन्थीहरूको हात माथि पार्न सक्छ।

होर्मुज जलमार्गलाई खुल्ला गर्नुको बदलमा समझदारीपत्रको भाषामा अमेरिकाले इरानी बन्दरगाहहरूमाथिको आफ्नो नाकाबन्दी हटाउने, इरानलाई तेल निर्यात गरेर अर्बौँ आम्दानी गर्न मिल्ने बाटो खोल्ने गरी प्रतिबन्धहरू हटाइदिने र विदेशमा उसले रोक्का राखेका सम्पत्तिहरू फुकुवा गरेर अर्बौँ फिर्ता गर्ने प्रक्रिया थाल्ने भनिएको छ।

यो सबै कुरा परमाणु सम्झौता टुङ्गो लगाउने कठिन काम थाल्नुअघि नै गर्ने भनिएको छ। इरान र इजरेलले आक्रमण गरेको दिनभन्दा एक दिन अघि २७ फेब्रुअरीको परिस्थितिसम्म पुग्न त्यो मूल्य चुकाइएको हो। त्यो दिन स्ट्रेट अफ होर्मुज ढुवानीका लागि खुला थियो र अमेरिकी र इरानी वार्ताकारहरूले परमाणु सम्झौताबारे छलफल गरिरहेका थिए।

पछिल्लो समझदारीपत्रमा हस्ताक्षर भएसँगै वार्ताकारहरू पुरानै अवस्थामा फर्कने छन् र पानीजहाजहरू होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने छन्।

उपलब्धिबारे आशङ्का

अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडनका विदेशमन्त्री एन्टनी ब्लिङ्कनका अनुसार युद्धविरामको "एक मात्र 'उपलब्धि' सम्भवत: होर्मुज जलमार्ग पुन: खुल्नु हो, जुन युद्ध सुरु हुनुभन्दा अघि सञ्चालनमा नै थियो। अनि हामीले अन्ततगोत्वा त्यसका लागि इरानलाई शुल्क तिर्नुपर्ने हुन सक्छ।"

युद्ध वास्तवमै केका लागि थियो भन्ने प्रश्न पन्छाउन नसकिने खालको छ र यो सवाल उठिरहनेछ। यो निर्णय विदेश नीतिसम्बन्धी ट्रम्पको हालसम्मकै सबैभन्दा ठूलो भुल सावित हुने देखिन्छ।

यसले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको लामो राजनीतिक भविष्यको अन्त्यको समेत सङ्केत गर्न सक्छ। इजरेलमा आगामी अक्टोबरमा चुनाव हुन लागेको छ र सेना तथा गुप्तचर निकायहरूले ७ अक्टोबर २०२३ मा हमासको भीषण आक्रमण रोक्न नसकेको सुरक्षा विफलताका लागि मतदाताहरूले उनको भूमिकाको हिसाबकिताब गर्न सक्छन्। नेतन्याहूको कठोर सैन्य नीति र कूटनीतिप्रतिको पूर्ण उपेक्षा आशिंक रूपमा देशभित्र इजरेलको 'मिस्टर सेक्युरिटी' अर्थात सुरक्षा सुनिश्चितकर्ताको छवि निर्माण गर्न केन्द्रित रहेको ठानिन्छ।

डोनल्ड ट्रम्प र बेन्जमिन नेतन्याहू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, लेबननमा सैनिक कारबाहीलाई लिएर ट्रम्प र नेतन्याहूको सम्बन्ध चिसिएको छ

तेहरान होर्मुज जलमार्ग बन्द गर्दाको सम्भावित शक्तिबारे सधैँ जानकार थियो। संयुक्त राज्य अमेरिकाको सेना, उसका कूटनीतिज्ञ र गुप्तचरलाई पनि त्यो कुरा थाहा थियो।

तर सचेत र वयोवृद्ध इरानका भूतपूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले उक्त जलमार्गलाई अस्त्रका रूपमा प्रयोग गर्ने जोखिम लिन चाहेनन्। इजरेलले उनी र उनका निकट सहयोगहीहरूलाई युद्धको प्रारम्भिक चरणमा नै बम खसालेर मारिदिएपछि, उनका उत्तराधिकारीहरूले आफूहरूको अस्तित्व नै सङ्कटमा पुगेको सही विश्लेषण गरे र जलमार्गलाई बन्द गर्न रत्तिभर हिचकिचाएनन्।

विश्व अर्थतन्त्रको घाँटी अठ्याउने शक्तिलाई नियन्त्रण गर्न सकिने कुरो उनीहरूले भेउ पाइसकेका थिए। दशकौँ लगाएर र अर्बौँ डलर खर्च गरेर उनीहरूले मध्यपूर्वमा निर्माण गरेको साझेदार र 'प्रोक्सी'हरू भन्दा यो बढी भरपर्दो र सस्तो अस्त्र थियो।

सिरियामा सन् २०२४ को जुनमा ढल्न पुगेको असद शासनबाहेक इरानले भन्ने गरेको 'एक्सिस अफ रिजिस्टन्स' अर्थात प्रतिरोध गर्ने गठबन्धन जसोतसो टिकिरहेकै थियो। तर इजरेलको आक्रमणबाट यो कमजोर भइसकेको छ र यसले अब वास्तवमै 'प्रतिरोध' गर्न सक्छ कि सक्दैन भन्ने विषयमा आशङ्काहरू छन्।

कसको जित, कसको हार?

इरानले आणविक कार्यक्रममा ठूलो रकम लगानी गरेको छ तर उसले अस्त्र निर्माणका लागि त्यसो नगरिएको बताउँदै आएको छ। त्यसले तेहरानलाई एउटा विकल्प र अर्को जोखिम दुवै दियो। यसैले युद्धलाई उक्सायो, जसले गर्दा शासन टिके पनि इरानमा ठूलो क्षति भएको छ।

यसविपरीत, जलमार्ग बन्द गर्नु सजिलो सावित भयो र यसले द्रुत स्तरमा विनाशकारी असर पार्‍यो। अरबका तेल उत्पादक देशहरू र विश्वका धेरै भागसम्म त्यसले निम्त्याएको पीडा मानिसहरूले महसुस गरे।

अमेरिकी र इजरेली फौजहरूले केही कार्यनीतिक विजयहरू हासिल गरेका छन्। तर रणनीतिक पराजय रोक्न ती पर्याप्त भएनन् किनभने अमेरिका र इजरेलले तय गरेको सत्ता ढाल्ने रणनीति कैयौँ सतही र अल्छी अनुमानहरूमा आधारित थियो।

उनीहरूले इरानका सर्वोच्च नेता मारिएपछि त्यहाँको सत्ता ढल्ने अनुमान गरेका थिए। तर झन्डै आधा शताब्दीभन्दा बढी समय देखि उक्त इस्लामिक गणतन्त्रका संस्थाहरू आफूलाई नष्ट गर्ने प्रयासलाई प्रतिरोध गर्ने गरी तयार पारिएका छन्।

इरानको अवस्था भनेजुएलाको जस्तो थिएन, जहाँ ल्याटिन अमेरिकाका एक जना भ्रष्ट तानाशाहलाई अपहरण गरेर अमेरिकामा अदालतसामु उपस्थित गराइँदा सत्ता नै धर्मराउन पुग्यो।

इरानको सत्ता भ्रष्ट र अति दमनकारी रहेकोमा दुईमत छैन। गएको ज्यानुअरीमा सत्ताका मानिसहरूले विभिन्न सहरमा प्रदर्शन गरेका हजारौँलाई मारिदिएका थिए। तर त्यहाँको शासन विचारधारा, धार्मिक आस्था र राष्ट्रिय सुरक्षा, शाहदत तथा अस्तित्वसम्बन्धी त्यस्तो अवधारणामा आधारित छ, जुन सन् १९८० को दशकमा सद्दाम हुसेनको इराकसँग भएको विनाशकारी युद्धबाट विकसित भएको हो।

युद्धमा सहभागी हुँदा राष्ट्रपति ट्रम्पले तेहरानको शासन ढल्ने बताएका थिए। उनले इरानी नागरिकहरूले आफ्नो देशलाई फिर्ता लिने एक युगमा एक पटक आउने अवसरलाई प्रयोग गर्ने तयारी गर्न आह्वान गरेका थिए।

तर केही समयपछि नै उनले बिना कुनै सर्त इरानले आत्मसमपर्ण गर्नुपर्ने बताए।

ह्वाइट हाउसमा रहेका ट्रम्पका पूर्ववर्तीहरूलाई इरानसँग युद्धमा जान मनाउन विगतमा पटकपटक प्रयास गरेका तर विफल भएका नेतन्याहूले आफूले भविष्यमा हुने भनेर ठानेको घटनाको गम्भीरता बुझाउन बाइबल शैलीको भाषाको प्रयोग गरेका थिए। "यो शक्तिहरूको गठबन्धनले हामीलाई मैले ४० वर्षदेखि आकाङ्क्षा राखेको काम गर्न सक्ने बनाएको छ : आतङ्कवादी शासनलाई पूर्ण पमा ध्वस्त पार्न।"

तर दुवैले परिणाम दिन सकेनन्।

अबको सम्भाव्य बाटो

अहिलेको समझदारीपत्र अन्तिम सम्झौता होइन।

यो खालि उनीहरूबीचको सबैभन्दा प्रमुख मुद्दा रहेको इरानको परमाणु कार्यक्रमबारेबारे कुराकानी गर्ने सहमति हो। तर सुरुमै इरानलाई लक्षित कैयौँ प्रोत्साहनहरू यसमा समावेश गरिएको छ। यदि वार्तामा प्रगति भयो भने अमेरिकाले इरानमाथिको प्रतिबन्ध हटाउने छ।

यी सबे कुराहरूको सफलता परमाणु सम्झौताबारे ६० दिनभित्र हुने वा थप पनि गर्न सकिने भनिएको जटिल मुद्दाहरूसहितको वार्तामा निर्भर छ।

दुवै पक्ष एकअर्कालाई विश्वास गर्दैनन्। धेरै कुरा गलत बन्न सक्छ। वाशिङ्टन, तेहरान र इजरेलका कट्टरपन्थीहरू सम्झौता सफल नभएको हेर्न चाहान्छन्।

इरानले आगामी वार्ताहरूमा अझ कठोर अडान लिन सक्छ। त्यसो हुँदा उसको बिग्रिएको अर्थतन्त्र पुनर्जीवित गर्न सक्ने गरी दिने भनिएको सम्भावित आर्थिक लाभ नै खतरामा पार्न सक्छ।

तर हजारौँको ज्यान लिएको र विश्वव्यापी आर्थिक मन्दीको खतरा उत्पन्न गराएको युद्धभन्दा पछिल्लो सम्झौता धेरै राम्रो विकल्प हो।

अमेरिका र इरान दुवै सन्तुष्ट हुने परमाणु सम्झौता यदि सम्पन्न भयो र दुवै पक्षले आफ्ना प्रतिबद्धताहरू पूरा गरे भने मध्यपूर्वमा रूपान्तरण देखिन सक्छ।

तर ठूलो प्रश्न सामुन्ने छ किनभने त्यसअगाडि लामो र कठिन वार्ता प्रक्रिया बाँकी नै छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।