सगरमाथामा हिमपहिरो, १३ जनाको मृत्यु

तस्बिर स्रोत, AFP
सगरमाथा क्षेत्रमा १३ जना शेर्पा आरोहीहरुको मृत्यु हुने गरी शुक्रबार बिहान गएको हिम पहिरोमा परि हराइरहेकाहरुको उद्धार तथा खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन्।
हराइरहेका तीन जना शेर्पा आरोही तथा पथप्रदर्शकहरुको खोजी कार्य शनिबार बिहानै शुरु गरिएको थियो।
सगरमाथाको आधारशिविरबाट पहिलो शिविर, क्याम्प वान, जाने क्रममा खुम्बु आइसफल पार गरेलगत्तै बिहान सात बजेको समयतिर हिम पहिरो आएपछि ती शेर्पाहरु मारिएका सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का महासचिव लामाकाजी शेर्पाले बताए।
उपचार
महासचिव शेर्पाका अनुसार हिम पहिरोमा परि मृत्यु भएका १२ जनाको शव निकाली सकिएको छ।
शनिबार थप एक शव फेला परेको थियो
उक्त दुर्घटनामा अन्य चारजना शेर्पा आरोहीहरु घाइते भएका र ती मध्ये केहीको काठमाण्डूमा उपचार भैरहेको बताइएको छ।
आरोहण सहयोगी र पथप्रदर्शक ती शेर्पाहरु, विभिन्न आरोहण दलहरुका निम्ति सगरमाथाको आधार शिविरबाट पहिलो शिविर (क्याम्प वान) सम्म आवश्यक आरोहण सामग्रीहरुको भारी लिएर गैरहेका बताइएको छ।
मृतकहरुमध्ये ५ जनाको शव काठमाडौं लैजाने तयारी भैरहेको र ७ जनाको शव चाहिं नाम्चे, खुम्जुङ, जुभिङ र टाक्सिन्दुमै आफन्तहरुलाई बुझाइने समेत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
जोखिम

तस्बिर स्रोत, SPL
सो क्षेत्रमा अझै पनि हिम पहिरोको जोखिम रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका महासचिव लामाकाजी शेर्पाले बताए।
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक विज्ञप्ती जारी गरी केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले हिम पहिरोमा परी हराइरहेकाहरुको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएको जनाएको छ।
सरकारले उक्त हिम पहिरोमा परि मृत्यु भएकाहरुको परिवारजनलाई किरिया खर्च वापत अन्य दैवी प्रकोप पीडित परिवार सरह जनही चालिस हजार रुपैंया आर्थिक सहयोग सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउन समेत निर्देशन दिइएको जनाएको छ।





















