मङ्गलवारबाट देशभरि वर्षा घट्दो क्रममा, कहिले सकिन्छ मनसुन?

वर्षा

तस्बिर स्रोत, RSS

Published

दशैँको नवमीदेखि नेपालमा सुरु भएको मनसुनी वर्षा मङ्गलवारबाट कमजोर हुँदै पुनः पूर्वतर्फ फर्कँदै गरेको मौसमविद्हरूले बताएका छन्। 

तर मनसुन अन्त्य ठ्याक्कै कहिलेबाट हुन्छ भन्ने अझै टुङ्गो नलगाएको उनीहरू बताउँछन्। 

जल तथा मौसम विज्ञान विभागका मौसमविद् हिरा भट्टराई भन्छन्, "मङ्गलवारका लागि देशभर हलुका तथा मध्यम खालको वर्षा हुने अनुमान छ।"

बुधवारबाट खासगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सुधार हुने तर पूर्वतर्फका लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खाले वर्षाको सम्भावना रहने मौसमविद्हरू बताउँछन्।

"मौसममा उल्लेख्य सुधार आउन भने थालिसकेको छ," मौसमविद् भट्टराई भन्छन्। 

मनसुन कहिले सकिन्छ?

उनले मनसुन सकिनका लागि वर्षा एउटा मात्र मापदण्ड हुने बताउँदै त्यसका लागि अन्य केही पक्ष हेरिनुपर्ने बताउँछन्।

"मनसुन सकिनका लागि दक्षिण-पश्चिमी वायु समेत हट्नपर्छ। कम्तीमा लगातार तीन दिन पानी पर्न रोकिनुपर्छ। उच्च वायुमण्डलीय सतहमा समेत वायुको प्रवृत्तिमा परिवर्तन आउनुपर्छ।"

नेपालमा सामान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिएर अक्टोबर २ मा बाहिरिने गरेकोमा यो वर्ष कम्तीमा दुई साता लम्बिने देखिएको मौसमविद्हरू बताउँछन्। 

पछिल्लो वर्षा भारतको राजस्थान र हरियाणाको आसपासमा विकसित न्यूनचापीय क्षेत्र र मनसुनी प्रणालीको मिश्रणले भएको बताइएको छ। 

भिडिओ क्याप्शन सुरु हुँदैछ, देशमा कतै बाढी आउने कुरा काठमाण्डूमा यसरी थाहा हुन्छ!

मौसम विज्ञानको भाषामा न्यून चापीय क्षेत्र तथा रेखा भनिने गरेको मौसम प्रणाली खासगरी एअर प्रेसर वा वायुको चापसँग सम्बन्धित रहेको र त्यसले आर्द्रतालाई खिचेर पानी पार्ने सम्भावना दर्साउने मौसमविद्हरू बताउँछन्।

न्यून चाप भएको क्षेत्रमा एअर प्रेसर कम हुन्छ अनि त्यसले वरपरको आर्द्रता खिच्छ र बादल विकसित हुन्छ।

मौसमविद् भट्टराईले भने, "यो सक्रिय रहँदाको अवस्थामा पूर्वबाट पश्चिमतर्फ शक्तिशाली बन्दै गएकोमा अब कमजोर भएर पुनः पूर्वी नेपालतर्फ फर्कँदो छ।"

ठूला नदीका जल सतह घट्दो

खासगरी आइतवार र सोमवार जल सतह उच्च रूपले बढेका महाकाली, कर्णाली, बबई र पश्चिम राप्तीको अवस्था सतर्कता तहभन्दा तल झरिसकेको विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ।

वर्षा

तस्बिर स्रोत, RSS

उक्त शाखाकी जलविज्ञान इञ्जिनियर रिङ्की भुसाल भन्छिन्, "जल सतह केही तलमाथि हुनसक्ने भए पनि वर्षाको प्रवृत्ति हेर्दा त्यो पुनः सतर्कताको तहभन्दा माथि जाने अवस्था देखिँदैन।" 

विभागले यतिखेर देशका कुनै पनि नदीहरू सतर्कता तहभन्दा माथि नरहेको जनाएको छ। 

"बरु साना र खहरे खोलाहरूमा सामान्य वर्षाका बेला पनि बाढी आउन सक्ने भएकाले त्यसका लागि सतर्क हुन आवश्यक छ," भुसाल भन्छिन्।

क्षति 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन केन्द्रका अनुसार यो वर्ष वर्षाजन्य विपत्बाट नेपालभर ११० जनाको मृत्यु भएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, केही वर्षमा काठमाण्डूमा नै वर्षाको समयमा बाढीको जोखिम बढेको छ

त्यसैगरी बाढी, पहिरो र अविरल वर्षाकै कारण ३९ जना बेपत्ता र ९९ जना घाइते हुनुका साथै २६१ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्। 

जेठ २६ गतेदेखिको यस विवरणमध्ये असोज २४ असोजमा मात्र २० जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएका थिए।