केप भर्ड विश्वकपको नकआउट चरणमा पुग्न कसरी सफल भयो

यो सानो देशको सफलतालाई महत्त्वका साथ हेरिँदै छ

तस्बिर स्रोत, Reuters

Published
पढ्ने समय: ५ मिनेट

फिफा विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने सबैभन्दा सानो राष्ट्र बनेर केप भर्डले इतिहास रचेको छ।

एट्लान्टिक महासागरमा रहेका १० वटा टापुहरूको समूहबाट प्रतिनिधित्व गर्ने यो टोलीले अन्तिम ३२ मा साबिक विजेता आर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ।

साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि खेलाडीहरू मैदानमै मोबाइल फोन वरिपरि जम्मा भएर स्पेनले उरुग्वेलाई हराएको खेलको अन्तिम क्षण हेरिरहेका थिए। उक्त नतिजाले केप भर्ड समूह 'एच' को उपविजेता बनेको पुष्टि गर्‍यो।

ह्यूस्टनबाट बीबीसी रेडिओ फाइभ लाइभका कमेन्टेटर रोब लले भनेः "रङ्गशालाभरि गर्व र खुशीका आँसु देखिन्थे।"

"सबै खेलाडीहरू मोबाइल फोन वरिपरि जम्मा भएर अन्तिम सिटी बज्ने प्रतीक्षामा थिए," उनले अगाडि थपे।

"सिटी बज्नेबित्तिकै मैदानमा र दर्शकदीर्घामा पनि आँसु झरे। कस्तो अविस्मरणीय क्षण, अहिलेसम्मको विश्वकपकै सबैभन्दा भावुक क्षण!"

सफलताको मुख्य कारण

यसअघि केप भर्डले आफ्नो पहिलो खेलमा स्पेनसँग अविश्वसनीय गोलरहित बराबरी खेलेको थियो, जहाँ ४० वर्षीय गोलरक्षक भोजीन्हा नायक बनेका थिए। त्यसपछि टोलीले दुई पटकको विश्वकप विजेता उरुग्वेसँग २-२ को बराबरी पनि खेलेको थियो।

स्पेनका पूर्वविश्वकप विजेता ख्वान माटाले आईटीभीसँग भने, "उनीहरूले गरिरहेको काम अविश्वसनीय छ। यो केवल स्पेनविरुद्धको एउटा खेल मात्र होइन, उनीहरूले उच्चस्तरमा लगातार तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्।"

पाँच लाख २५ हजार मात्र जनसङ्ख्या भएको केप भर्डले पाँच पटकको अफ्रिकी च्याम्पिअन क्यामरुनलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो। आखिर यो देश यति टाढासम्म कसरी पुग्न सफल भयो?

'ब्ल्यू सार्क्स' को सफलताको मुख्य कारण केप भर्ड फुटबल महासङ्घले विदेशमा बसोबास गर्ने केप भर्डेली मूलका खेलाडीहरूलाई टोलीमा समावेश गर्ने निर्णयलाई मानिन्छ।

पूर्वऔपनिवेशिक शक्ति पोर्चुगलसँग केप भर्डको बलियो सम्बन्ध छ। गत शताब्दीमा पटकपटक परेका भीषण खडेरीका कारण धेरै मानिसहरू टापुहरू छोडेर विदेश बसाइँ सरेका थिए।

समुद्री यात्राको परम्परा र समुद्री व्यापारमा संलग्नताका कारण नेदरल्यान्ड्सको बन्दरगाह शहर रोटर्डाममा पनि केप भेर्डेली मूलका मानिसहरूको उल्लेख्य जनसङ्ख्या रहेको छ।

केप भर्ड नकआउटमा प्रवेश गरेको छ

तस्बिर स्रोत, Reuters

विश्वकपका लागि छनोट गरिएका २६ सदस्यीय टोलीमध्ये १४ जना खेलाडी विदेशमा जन्मिएका हुन्, जसमध्ये ६ जना रोटर्डामका बासिन्दा हुन्।

तीमध्ये एक फरवार्ड डाइलोन लिभ्रामेन्टूले गत सिजन पोर्चुगलको प्राइमेरा लीगमा कासा पियाका लागि खेलेका थिए। उनले गत सेप्टेम्बरमा क्यामरुनविरुद्धको निर्णायक छनोट खेलमा विजयी गोल गरेका थिए।

"एफसीएफले उत्साह, प्रतिबद्धता र स्पष्ट प्राविधिक योजनामार्फत् उल्लेखनीय प्रगति गरेको छ," केप भर्डकी सांसद जोसिना फोतूस फाव्तूसले बीबीसी स्पोर्ट अफ्रिकासँग भनिन्।

"आज हामीले देखिरहेका नतिजाहरू धेरै वर्षदेखिको निरन्तर मेहनत, दृढ विश्वास र यस योजनामा मनदेखि समर्पित भएका व्यक्तिहरूको योगदानको प्रतिफल हुन्।"

सन् २०१९ मा डब्लिनमा जन्मिएका सेन्टरब्याक रोबर्टो लोपेसलाई व्यावसायिक नेटवर्किङ वेबसाइट लिङ्क्डइनमार्फत् टोलीमा ल्याइएको कथा एकदम चर्चित छ।

पूर्वम्यानचेस्टर युनाइटेड विङ्गर बेबेले पोर्चुगलको यू-२१ टोलीबाट खेलेपछि सन् २०२३ 'अफ्रिका कप अफ नेशन्स'मा केप भर्डको प्रतिनिधित्व गरेका थिए।

"यो टोलीभित्र हामी विश्वका उत्कृष्ट टोलीहरूसँग प्रतिस्पर्धा गर्न सक्षम छौँ भन्ने आत्मविश्वास छ," उनले भने।

"यो आत्मविश्वास कुनै आधारबिना अचानक बनेको होइन। म टोलीमा आबद्ध भएदेखि र त्योभन्दा अघिदेखि नै केप भर्डलाई विश्वका ठूला फुटबल राष्ट्रहरूसँग एउटै स्तरमा पुर्‍याउने दीर्घकालीन योजना लागु हुँदै आएको छ।"

टोली प्रशिक्षकलाई श्रेय

केप भर्डको उत्कृष्ट प्रदर्शनको धेरै श्रेय प्रशिक्षक बूबिस्तालाई जान्छ। पूर्वअन्तर्राष्ट्रिय खेलाडी समेत रहेका उनले सन् २०२० को ज्यानुअरीदेखि टोलीको जिम्मेवारी सम्हालेका छन्।

स्थिर प्रशिक्षकीय व्यवस्थाले ५६ वर्षीय पूर्वसेन्टर-ब्याक बूबिस्तालाई सङ्गठित र अनुशासित टोली निर्माण गर्न सहयोग गरेको छ।

उनको नेतृत्वमा केप भर्डले बलियो रक्षापङ्क्ति, प्राविधिक रूपमा सक्षम मिडफिल्डर र प्रतिभाशाली फरवार्डहरू भएको टोली तयार गरेको छ।

यही टोलीले अफ्कोन सन् २०२३ मा घानालाई हराउँदै र इजिप्टसँग बराबरी खेल्दै क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो।

उल्लेखनीय कुरा के छ भने केप भर्डले यस प्रतियोगितामा पहिलो पटक सहभागी भएको केवल १० वर्ष मात्र भएको थियो।

स्पेनसँगको गोलरहित बराबरीमा अनुभवी गोलरक्षक भोजीन्हाले सात उत्कृष्ट 'डिफेन्ड' गरेका थिए, जसका लागि टोली उनीप्रति आभारी हुन सक्छ। तर टोलीको अनुशासन पनि त्यत्तिकै प्रभावशाली थियो।

सन् २०१० का विश्व विजेता स्पेनविरुद्ध 'ब्ल्यू सार्क्स' ले मात्र एउटा फाउल गरेका थिए, जुन सन् १९६६ यता कुनै पनि विश्वकप खेलमा एउटा टोलीले गरेको सबैभन्दा कम फाउलको कीर्तिमान हो।

"हामी सधैँ एक एकाइका रूपमा प्रशिक्षण र खेल खेल्छौँ, त्यसैले खेलमा जे गर्‍यौँ, त्यो हाम्रो लागि नयाँ कुरा थिएन," डिफेन्डर सिड्नी लोपेस काब्रालले बीबीसी विश्वसेवासँग भने।

"त्यो हाम्रो खेल शैली हो। हामी यसरी नै खेल्छौँ, यही हाम्रो पहिचान हो। टोलीका रूपमा र डिफेन्डरका रूपमा यही हाम्रो व्यक्तित्व हो।"

समूह 'एच' को दोस्रो खेलमा उरुग्वेविरुद्ध केप भर्डले अझ आक्रामक र खुला शैली अपनायो। तर टोलीले दृढता पनि देखायो र दोस्रो हाफमा बराबरी गोल फर्काउँदै महत्त्वपूर्ण नतिजा हासिल गर्‍यो।

बूबिस्ताले भने, "नतिजाभन्दा पनि महत्त्वपूर्ण कुरा टोलीको पहिचान, शक्ति, एकता र सङ्घर्षलाई देखाउन सक्षम हुनु हो।"

केप भर्डको जनसङ्ख्या ५ लाख छ

तस्बिर स्रोत, Reuters

विश्वकपमा छनोट गराउने उपलब्धिको सम्मानस्वरूप बूबिस्ता सन् २०२५ का लागि अफ्रिकी फुटबल महासङ्घद्वारा अफ्रिकाको वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए।

उनले सधैँ आफ्नो टोली विश्वका उत्कृष्ट राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको विश्वास व्यक्त गर्दै आएका थिए।

अफ्कोनअघि सन् २०२१ उनले बीबीसी स्पोर्ट अफ्रिकासँग भनेका थिए, "हाम्रो देश कति सानो छ भन्ने हिसाबले हेर्दा हामीले निकै राम्रो प्रदर्शन गरेका छौँ। मलाई लाग्छ भविष्यमा हामी विश्वकपमा पुग्ने छौँ।"

उनको त्यो भविष्यवाणी अहिले आएर सत्य साबित भएको छ। विश्वकपमा केप भर्डको उपलब्धिले विश्वभरिका कमजोर ठानिएका अरू टोलीहरूलाई पनि प्रेरणा दिने बूबिस्ताको विश्वास छ।

उनले भनेः "म विश्वास गर्छु कि फुटबल सबैको हो अथवा सबैका लागि हो।"

नकआउट चरणमा आर्जेन्टिनासँग भेट

पुरस्कारस्वरूप भर्डले शुक्रवार मायामीमा अन्तिम ३२ अन्तर्गत लियोनेल मेस्सीको आर्जेन्टिनासँग खेल्ने छ।

साउदी अरेबियाविरुद्धको खेलमा 'म्यान अफ द म्याच' घोषित भएका मिडफिल्डर डेरोय डुआर्टेले भनेः "साँच्चै भन्नुपर्दा यो पत्याउनै गाह्रो छ। मलाई सपना देखे जस्तो लागिरहेको छ।"

"पहिले हामी यो उपलब्धिको उत्सव मनाउँछौँ। हामी अत्यन्त खुशी छौँ। सबै केप भर्डेलीहरू पनि खुशी भएको आशा गर्छु। भोलिदेखि हामी अर्को खेलमा ध्यान केन्द्रित गर्ने छौँ।"

"अर्को खेल आर्जेन्टिनाविरुद्ध हो, होइन र? कठिन खेल हुने छ, तर विश्वास गरौँ। फुटबलमा जे पनि सम्भव छ।"

पूर्वटोटेनह्याम, नटिङ्घम फरेस्ट, सेल्टिक र अष्ट्रेलियाका प्रशिक्षक एन्ज पोस्टेकोग्लुले आईटीभीसँग भने, "विश्वकप वास्तवमा केका लागि हो भन्ने कुराको यो एउटा उत्कृष्ट कथा हो।"

"हामी प्रायः फुटबलले संसारको हरेक कुनालाई छुन्छ भनेर भन्छौँ र यो त्यसको उत्कृष्ट उदाहरण हो।"

"साबिक विश्व विजेतासँग खेल्ने अवसरले उनीहरूको कथालाई अझ विशेष बनाएको छ। कति सुन्दर यात्रा रह्यो यो।"

इङ्ग्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्वडिफेन्डर ग्यारी नेभिलले थपेः "विश्वकप विस्तार गर्नु सही निर्णय होइन भन्ने सोच्नेहरू अहिले केप भर्डका समर्थकहरूलाई हेरेर आफ्नो धारणाबारे पुनर्विचार गरिरहेका हुन सक्छन्। किनकि यो साँच्चै विशेष क्षण हो।"

"मात्र पाँच लाख जनसङ्ख्या भएको देश नकआउट चरणमा पुग्नु अद्भुत उपलब्धि हो। हामीले विश्व फुटबलका ठूला राष्ट्रमध्ये एक उरुग्वे बाहिरिएको र सबैभन्दा साना टोलीमध्ये एक केप भर्ड अगाडि बढेको देख्यौँ। उनीहरूका लागि यो अविस्मरणीय क्षण हो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।