युद्धविरामबीच अमेरिकाले इरानमाथि किन आक्रमण गर्यो?

तस्बिर स्रोत, Reuters
राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज जलमार्गमा एउटा कार्गो पानीजहाजमाथि गरिएको हमलाले युद्धविरामको "मूर्खतापूर्ण उल्लङ्घन" गरेको आरोप लगाएपछि अमेरिकी सेनाले इरानका निश्चित स्थानमा आक्रमण गरेको छ।
बिहीवार ड्रोनले उक्त पानीजहाजलाई निशाना बनाए पनि कुनै मानवीय क्षति भएको विवरण आएको छैन। उक्त घटनापश्चात् सो क्षेत्रमा फसेका हजारौँ नाविकहरूको योजनाबद्ध उद्धार अभियान शुरू गर्ने तयारी गरिएको थियो।
त्यसको जबाफमा अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शुक्रवार क्षेप्यास्त्र एवं ड्रोन भण्डारण केन्द्रहरू र तटीय रेडार चौकीहरूमा आक्रमण गरेको जनाएको छ।
इरानको इस्लामिक रिभोलुशनरी गार्डस् आईआरजीसीले उक्त घटनाका लागि अमेरिका र इजरेलमाथि दोष लगाएको छ।
आक्रमणको घोषणा हुनुभन्दा केही क्षणअघि अमेरिकाले इरानविरुद्ध जबाफी कारबाही गर्छ वा गर्दैन भनी ट्रम्पलाई सोध्दा "तपाईँहरूले देख्नुहुने छ" भनेर जबाफ दिएका थिए।
'शक्तिशाली जबाफ'

तस्बिर स्रोत, Reuters
अमेरिकी सेनाको सेन्ट्रल कमान्डले उक्त आक्रमणलाई ड्रोन हमलाको "शक्तिशाली जबाफ" भनेको छ।
"इरानी सेनाद्वारा व्यावसायिक परिवहनमाथि गरिएको अनुचित आक्रमणले स्पष्ट रूपमा युद्धविरामको उल्लङ्घन गरेको छ," उसको विज्ञप्तिमा भनिएको छ।
"विश्व व्यापारको ठूलो हिस्सा यो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यापारिक मार्गबाट सञ्चालन भइरहेकोमा इरानको व्यवहारले परिवहनसम्बन्धी स्वतन्त्रतालाई कमजोर बनाएको छ।"
अमेरिकी सेन्ट्रल कमान्डले होर्मुज जलमार्ग हुँदै आउजाउ गर्ने व्यावसायिक जहाजहरूलाई सुरक्षित मार्ग सुनिश्चित गर्न समन्वय र सहयोग उपलब्ध गराइरहने जनाएको छ।
पछिल्ला अमेरिकी आक्रमणहरू एक पटकका लागि सीमित कारबाही हुन् अथवा अझ व्यापक र निरन्तर कारबाहीका हिस्सा हुन् भन्ने कुरा स्पष्ट भएको छैन।
आईआरजीसीले शुक्रवार अबेर जारी गरेको एउटा विज्ञप्तिमा "सम्झौता उल्लङ्घन गर्ने अमेरिकी शासनले सधैँझैँ आफ्ना प्रतिबद्धताहरू तोड्दै होर्मुज जलमार्गमा अनधिकृत मार्ग प्रयोग गरेको जहाजलाई बहाना बनाएर इस्लामिक गणतन्त्र इरानको तटवर्ती क्षेत्रमा हवाई आक्रमण गरेको छ" भनी उल्लेख छ।
"यदि यस्तो आक्रमण दोहोरियो भने हाम्रो प्रतिक्रिया यस पटकभन्दा अझ व्यापक हुने छ," आईआरजीसीले अगाडि भनेको छ।
आईआरजीसीले इजरेलमाथि लेबननमा युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ।
यसैबीच शुक्रवार वाशिङ्टनमा इजरेल र लेबननले शान्ति योजनासम्बन्धी सम्झौताको ढाँचामा हस्ताक्षर गरेका छन्।
यद्यपि विद्यमान युद्धविरामबीच दक्षिणी लेबननमा इजरेली सेना र इरान समर्थित हिज्बुल्लाहबीच सीमित झडपहरू जारी रहेका छन्।
फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरेलले इरानमाथि आक्रमण शुरू गरेपछि तेहरानले प्रभावकारी रूपमा होर्मुज जलमार्ग बन्द गरेको थियो।
तेल तथा ग्यास ढुवानीका लागि निकै महत्त्वपूर्ण मानिने उक्त जलमार्ग बन्द भएपछि विश्वव्यापी तेलको मूल्यमा व्यापक वृद्धि भएको थियो।
मलजस्ता अन्य अत्यावश्यक वस्तुको आपूर्ति पनि गम्भीर रूपमा प्रभावित भएको थियो।
अमेरिका र इरानले १७ जुनमा १४ बुँदे समझदारीपत्रअन्तर्गत शत्रुता अन्त्य गर्न सहमति गरेका थिए।
उक्त समझदारीमा इरानले "६० दिनसम्म कुनै शुल्क नलिई व्यावसायिक जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न प्रयास गर्ने" उल्लेख गरिएको थियो।
'वार्ताबीच आक्रमण'
अमेरिकी जबाफी आक्रमणपछि उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, "यदि समझदारीपत्र कसरी कार्यान्वयन भइरहेको छ भन्ने विषयमा इरानलाई कुनै असहमति छ भने उनीहरूले फोनमार्फत् कुरा गर्न सक्छन्। तर हिंसाको जबाफ हिंसाले नै दिइने छ।"
इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजीजीले अमेरिका "फेरि पनि वार्ताकै बीचमा इरानमाथि आक्रमण गर्न पुगेको" टिप्पणी सामाजिक सञ्जालमा गरेका छन्।
आफ्नो पोस्टमा उनले लेखेका छन्, "युद्धविरामको यो गैरजिम्मेवार उल्लङ्घनले सधैँझैँ उनीहरूकै पश्चाताप र पछि हट्नुको कारण बन्ने छ। दोषारोपणको राजनीति अब चल्दैन।"
शुक्रवार दिउँसो ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले ड्रोन आक्रमणप्रति अमेरिकाले कस्तो प्रतिक्रिया जनाउन सक्छ अथवा युद्धविराम अझै कायम छ कि छैन भन्ने प्रश्नमा स्पष्ट जबाफ दिन अस्वीकार गरेका थिए।
उनले भने, "तपाईँहरूले थाहा पाउनुहुने छ। उनीहरूले हिजो आक्रमण गरेको मलाई मन परेन। उनीहरूले त्यसो गर्नु हुँदैनथ्यो।"
इरानले यस्तो कारबाही किन गर्यो भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले सङ्क्षिप्त प्रतिक्रिया दिँदै भनेः "उनीहरू अलि फरक प्रकृतिका छन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















