नेपालमा अहिले क्यान्सरको औषधि अभाव किन, सरकार के गर्दै छ

तस्बिर स्रोत, Getty Images
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
"एक त बिरामीको अवस्था अर्को अत्यावश्यक औषधि नपाइने। चिकित्सकहरू औषधि तत्काल चाहियो भन्छन्, हामीले कताबाट ल्याउनु। एकदमै कठिन भयो," हालै क्यान्सरकी बिरामी आफ्नी आमाको कीमोथेरपी गराउँदा आवश्यक औषधि सहजै भेट्टाउन नसकिएको पीडादायी अनुभव विश्वराज सापकोटाले सुनाए।
निश्चित समयको अन्तरालमा कीमोथेरपी गराउँदा तत्कालै चाहिने केही आधारभूत औषधिहरू अहिले नेपालमा सहजै पाइँदैन।
"आयातकर्ताहरूलाई फोन गरेर बल्लबल्ल पाइन्छ। बिरामी कुर्ने कि औषधि खोज्न चोकचोक जाने?पीडामाथि पीडा थपिएको छ," सापकोटाले भने।
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका मेडिकल अन्कोलजिस्ट डा विजेश घिमिरेले आधारभूत औषधिहरूकै अभावका कारण बिरामीहरूलाई कठिनाइ भइरहेको बताए।
"कहिले कुन आपूर्तिकर्ता कहिले कुन आपूर्तिकर्ता कहाँबाट मगाएर अस्पतालमा अहिलेसम्म औषधि व्यवस्थापन गरिरहेका छौँ। तर सहज उपलब्ध हुन चाहिँ सकेको छैन," डा घिमिरेले भने।
खास गरी सरकारी अस्पतालहरूमा अभावको समस्या अझ ठूलो रहेको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका संस्थापक अध्यक्ष डा सुदीप श्रेष्ठले बताए।
"अहिलेसम्म व्यवस्थापन भइरहेको छ तर छिट्टै समस्या समाधान हुनु जरुरी छ," उनले भने।
"राज्यका निकायहरूले बिरामीहरूको अवस्था आफैँले गएर हेर्न म अनुरोध गर्छु। पैसा तिर्छुभन्दा समेत औषधि नपाउँदा कति गाह्रो हुन्छ होला। एकातिर रोगको पीडा अनि अर्कोतिर औषधिको अभाव। यसबारे बेलैमा सचेत हुनुपर्छ," सापकोटाले भने।
'२०-२१ दिन मात्र पुग्ने स्टक'
सापकोटाजस्तै औषधि अभावले भौँतारिनुपरेका सयौँ मानिसहरू आफ्नो सम्पर्कमा आउने गरेको नेपाल औषधि आयातकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले बताए।
हाल अभाव भएका औषधिहरूमा मुख्यतया प्ल्याटिनिमयुक्त कार्बोप्ल्याटिन र सिस्प्ल्याटिन हुन्। तिनको प्रयोग कीमोथेरपीका बेला सुईमार्फत् हुने गर्छ। जानकारहरूका अनुसार ६० प्रतिशत क्यान्सर रोगमा यी औषधिको प्रयोग हुन्छ।
"अचेल हामीले बिरामीहरूलाई सम्पर्क नम्बर दिएर डाक्टरको पुर्जीबमोजिम औषधि उपलब्ध गराउँदै आएका छौँ। तर यसरी व्यवस्थापन गर्दा दिगो हुन सक्दैन। जुन कारणले अभाव भएको हो त्यसको सम्बोधन भएको छैन," आचार्यले भने।
"सरकारले मूल्य समायोजन नगरिदिने हो भने हामीले अब थप आयात गर्न सक्दैनौँ भनेर बुधवार औषधि व्यवस्था विभागलाई जानकारी दिएका छौँ। भएको स्टकले २०-२१ दिनमात्र पुग्ने छाँट छ," उनले बताए।
क्यान्सरको उपचारमा प्ल्याटिनम धातुका यौगिकहरू प्रयोग हुन्छन्। विज्ञहरूका अनुसार ती यौगिकहरूले क्यान्सरकारक कोषका डीएनएलाई बाँधिदिदा त्यस्ता कोषहरूको वृद्धि रोकिन्छ र अन्ततः ती नष्ट हुन्छन्।
अभावको कारण के हो

तस्बिर स्रोत, Nepal Cancer Hospital and Research Center
अन्तर्राष्ट्रिय बजारमा विविध कारणले प्ल्याटिनमको मूल्य बढेको र मागअनुसार आपूर्ति हुन नसकेका पनि जानकारहरू औँल्याउँछन्।
आयातकर्ताहरूका अनुसार नेपालमा प्ल्याटिनमयुक्त औषधिको अभावको मुख्य कारण मूल्य समायोजन नहुनु नै हो। अभाव भएका औषधिहरू लगभग ९० प्रतिशत भारतबाट ल्याइने गरेको र केही बाङ्ग्लादेशबाट ल्याइने गरेको बताइन्छ।
"हामीकहाँ यी औषधिको अधिकतम खुद्रा मूल्य सरकारले ११ वर्षअघि जति तोकेको छ, त्यही छ। उता भारतमा वर्षैपिच्छे घटबढ हुन्छ। केही साता अगाडि भारतमा फेरि भाउ बढेको छ जसअनुसार कार्बोप्ल्याटिनको १५० एमजीको त्यहाँ २२८६.८५ रुपैयाँ पर्छ भने नेपालमा १३९३.८७ रुपैयाँ छ। त्यस्तै सिस्प्ल्याटिन १५० एमजीको भारतमा १८२.९५ अनि यहाँ १४९.८७ रुपैयाँ रहेको छ," उनले मूल्यमा यति धेरै अन्तर भइसक्दा आयातकर्ताले अब धान्न नसक्ने बताए।
यतिन्जेल आफूहरूले नाफाभन्दा पनि जनताको ज्यान जोगाउनका निम्ति औषधि ल्याइरहेको तर अबको तीन सातापछि त्यसो गर्न नसकिने जानकारी सम्बन्धित निकायलाई दिएको उनले बताएका छन्।
उनका अनुसार नेपालमा गत वर्ष ती दुईथरी औषधि झन्डै २५,००० भायल आयात गरिएको थियो।
सरकार के भन्छ

तस्बिर स्रोत, Getty Images
गत साताको बुधवार संसद्मा बोल्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले "विगत एक दशकदेखि मूल्य समायोजन नभएको अवस्था र विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण" अभाव देखिएको भन्दै त्यसप्रति आफूहरू गम्भीर भएको बताएकी थिइन्।
उनले समस्याको दीर्घकालीन सम्बोधन गर्न र औषधिको सहज आपूर्ति गराउन "स्वचालित मूल्य प्रणाली निर्माण गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठकबाट अगाडि बढिने" जानकारी दिएकी थिइन्।
तर यो साता बुधवार बिहानसम्म त्यस्तो बैठक बसेको छैन।
यो मामिला हेर्ने निकाय औषधि व्यवस्थापन विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यले त्यस्तो बैठकको निम्ति आफूहरू छलफलमै रहेको बताए।
"ती औषधिको सरकारले अधिकतम खुद्रा मूल्य तोकेको छ जुन आयात गरिने देश भारतमा भन्दा कम रहेको हुनाले अप्ठेरो परिरहेको छ। अर्को कुरा चाहिँ प्ल्याटिनम भन्ने दुर्लभ धातुमा आधारित हुनाले यी औषधिको विश्वव्यापी आपूर्ति शृङ्खलामा पनि समस्या छ," बज्राचार्यले भने।
तत्कालका निम्ति विभागले आयातकर्ताहरूलाई अनुरोध गरेर बिरामीलाई सोझै उनीहरूबाटै औषधि लिन सहजीकरण गराइरहेको उनले बताएका छन्।
हालै विभागले एक सूचना जारी गर्दै ती औषधिको उपलब्धता सीमित रहेको कारण क्यान्सर रोगीहरूको उपचारमा सहजताका निम्ति औषधि उपलब्ध हुने ११ वटा स्वास्थ्य संस्थाहरू तथा तिनका सम्पर्क व्यक्तिहरूको नाम तथा सम्पर्क नम्बर प्रकाशन गरेको थियो।
बिरामीको पुर्जासहित ती संस्थासँग समन्वय गरेर औषधि प्राप्त गर्न उसले आह्वान गरेको छ।
चाँडै समस्या सम्बोधन नभए स्थिति झन् जटिल हुन सक्ने चेतावनी औषधि आयातकर्ताहरूले दिएका छन्।
"मुख्य मुख्य अस्पतालका वरपर हामी मिलाइदिन्छौँ भन्दै ती औषधि बेच्ने समूह सक्रिय भएको हामीले पाएका छौँ। आधिकारिक नहुँदा नक्कली पर्न सक्ने खतरा पनि छ। यो समस्या बेलैमा सम्बोधन हुन एकदम जरुरी छ," आयातकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















