मदिरा पिएर गाडी चलाएको आरोपमा अमेरिकी सभामुखका पति पक्राउ

पलोसी दम्पती

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, न्यान्सी पलोसी र पल पलोसीको विवाह सन् १९६३ मा भएको थियो
    • Author, मेगन फिशर
    • Role, बीबीसी न्यूज
  • Published

अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रेप्रिजेन्टिटिभ्सकी सभामुख न्यान्सी पलोसीका पति क्यालिफोर्नियामा मदिरा सेवन गरी गाडी चलाएको आशङ्कामा पक्राउ परेका छन्।

नापा काउन्टीमा शनिवार राति पोल पलोसीको गाडीले अर्को गाडीलाई ठक्कर दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

घटनामा कसैलाई चोटपटक नलागेको र अर्का चालकलाई पक्राउ नगरिएको बताइएको छ।

बयासी वर्षीय पोल पलोसीमाथि दुर्व्यवहारका दुईवटा आरोप लगाइएको र धरौटीबापत ५,००० अमेरिकी डलर तोकिएको विवरणहरूमा उल्लेख गरिएको छ।

'निजी मामिला'

हिरासतमा रहेका व्यक्तिहरूको सूचीमा उनको नाम समावेश छैन।

क्यालिफोर्निया राजमार्ग गस्तीका अनुसार एक ४८ वर्षीय व्यक्तिले चलाएको जीपका कारण पोल पलोसी स्टेट रूट-२९ मा फसेका थिए।

सवारीसाधन चलाउन पाउनेसम्बन्धी क्यालिफोर्नियाको कानुनअनुसार कुनै पनि व्यक्तिको रगतमा मदिराको मात्रा ०.०८ प्रतिशतभन्दा बढी पाइएमा उसले गाडी चलाउन पाउँदैन।

यद्यपि पोल पलोसीको रगतमा कति प्रतिशत मदिरा पाइयो भन्ने जानकारी अधिकारीहरूले सार्वजनिक गरेका छैनन्।

सभामुख पलोसीले ब्राउन विश्वविद्यालयमा एउटा कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला उक्त घटना भएको बताइएको छ।

पलोसीका प्रवक्ताले सभामुखले "निजी मामिला"मा टिप्पणी नगर्ने भन्दै एउटा विज्ञप्ति जारी गरेका छन्।

आफ्नो गिरफ्तारी सम्बन्धमा पल पलोसीले पनि कुनै टिप्पणी गरेका छैनन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, रक्सी जति पियो झन् उति बढी किन पिउन मन लाग्छ
भिडिओ क्याप्शन सुरु हुँदैछ, ह्विस्कीको इतिहास