भेटिएको रकम फिर्ता गरेका इमानदार चालकमाथि खिसीटिउरी

तस्बिर स्रोत, Spoon TV Live/Facebook
एक प्रतिष्ठित महिला उद्यमीको रकम फेला पारेर फिर्ता गरेका लाइबेरियाका एक जना किशोर मोटरसाइकल चालकले आफ्नो उक्त कदमका लागि खिसीटिउरी बेहोर्नु परेको बताएका छन्।
१८ वर्षका एमानुएल टुलोले उक्त रकमकी धनी मूसू यान्सीले रेडिओमार्फत् गरेको अपिल सुनेर ५० हजार डलर अर्थात् ५९ लाख ९७ हजार रुपैयाँ फिर्ता गरेका थिए।
उनले आफ्नो कदमको विपक्षमा रहेका व्यक्तिहरूले आफूलाई धम्काइरहेको पनि बताएका छन्।
कक्षा सातमा हुँदादेखि पढाइ छाडेका टुलोले जीविकोपार्जनका लागि मोटरसाइकलमा यात्रु बोक्दै आएका थिए।
'इमानदारीको प्रशंसा कम'
सडकमा मोटरसाइकल बिग्रँदा उनका साथीहरूले पैसा फिर्ता नगरेको भए हुने भन्दै गिज्याउने गरेका छन्।
उनले बीबीसीसँग भने, "उनीहरूले म आफ्नो जीवनकालमा धनी बन्न सक्दिनँ भनिरहेका छन्। त्यतिधेरै पैसा फिर्ता गरेकाले मेरो जीवन गरिबीमै बित्छ भन्ने उनीहरूको भनाइ छ।"
यान्सीको अपिल नसुनुन्जेल टुलोले प्लास्टिकमा पोको पारिएको उक्त रकम टिपेर आफ्नी काकीलाई सुरक्षित राख्न दिएका थिए।
ती महिलाले उनलाई केही रकम र डसना उपहार दिएकी थिइन्। उक्त डसना आफ्नी हजुरआमालाई उपहार दिने टुलोले बताएका छन्।
यान्सीकै घरमा रकम भेटिएको खुसीयालीमा आयोजित भोजमा आफूलाई धम्की दिइएको उनले बताएका छन्।
"म त्यहाँबाट आफ्नो घर फर्किहालेँ किनभने भिडमा रहेका केही मानिसहरू मैले रकम फिर्ता गरेकोमा रुष्ट थिए, उनीहरूले मलाई धम्क्याए। त्यही भएर अहिले मलाई बढी भन्दा बढी सुरक्षा चाहिन्छ," आइभोरी कोस्टसँग सीमा नजिकैको आफ्नो गृह नगरबाट उनले बीबीसीलाई बताए।
उनले आफ्ना कम साथीहरूले मात्रै इमानदारी प्रदर्शन गरेको भन्दै आफ्नो प्रशंसा गरेको सुनाए।
तर त्यस्तो हेपाइलाई आफूले व्यवस्थापन गरिरहेको भन्दै आफ्नो कदमलाई लिएर पश्चातापको अनुभूति नभएको उनले बताएका छन्।
टुलोले आफ्ना सहकर्मी मोटरसाइकल चालकहरूलाई हराएका सामग्रीहरू जहिले पनि फिर्ता गर्न अनुरोध गरिरहेका छन्।
लाइबेरियाको भ्रष्टाचार नियन्त्रण आयोगले ती किशोरको इमानदार व्यवहारले आफूलाई एकदमै छोएको जनाएको छ।




















