टेनिसमा किशोर खेलाडीः १८ वर्षका खेलाडी चम्किएको यूएस ओपन

तस्बिर स्रोत, EPA
बुधवार १८ वर्षीया ब्रिटिश खेलाडी एम्मा राडुकानु यूएस ओपन टेनिसको सेमीफाइनलमा पुगिन्।
न्यूयोर्कमा ग्रान्ड स्लाम प्रतियोगिताको अन्तिम चारमा पुग्ने उनी छनोट खेलबाट आएकी तथा वरीयतामा १०० औँ स्थानभन्दा बाहिर रहेकी प्रथम खेलाडी भएकी छन्।
उनी सेमीफाइनलमा पुग्नु अरूको लागि त आश्चर्यको कुरो भयो नै दुई साताअघि घर फर्किने उडानको टिकट काटेकी उनकै लागि पनि अविश्वसनीय सफलता भएको छ।
"मैले यहाँसम्म पुग्ने कल्पना गरेको थिइनँ," वरीयतामा १५०औँ स्थानमा रहेकी उनले भनिन्।
"मेरो हवाई टिकट छनोट खेलपछि लगत्तै थियो, त्यसैले यो एउटा रमाइलो समस्या बनेको छ।"
बुधवार उनले स्विट्जरल्यान्डकी ११ औँ वरीयताकी ओलिम्पिक्स स्वर्ण विजेता बेलिन्डा बेन्किकलाई ६-४, ६-३ ले सोझो सेटमा पराजित गरिन्।
अब बिहीवार उनले ग्रीसकी मारिया साक्कारीसँग सेफीफाइनल खेल्नेछिन्।
अन्तिम चारमा पुगेपछि उनले छ लाख ७५ हजार अमेरिकी डलर पुरस्कार रकम जित्ने पक्का भएको छ।

तस्बिर स्रोत, Reuters
छनोट खेलबाट मूल प्रतियोगितामा आएकी राडुकानुले त्यसपछिका आठ खेलमा एउटा पनि सेट हारेकी छैनन्।
उनी सन् १९८३ यता यूएस ओपनको सेमिफाइनलमा पुग्ने पहिलो ब्रिटिश महिला खेलाडी पनि बनेकी छन्।
अब उनी ब्रिटेनको सबैभन्दा उच्च वरीयताकी खेलाडी बन्नेछिन्।
तीन महिनाअघि विम्बल्डनको अन्तिम १६ मा पुग्नुअघि धेरैले नामै नसुनेको राडुकानु यूएस ओपनमा चम्किएकी एकमात्र किशोरी खेलाडी भने होइनन्।

तस्बिर स्रोत, Reuters
राडुकानुभन्दा सफल बनेकी खेलाडी क्यानडाकी १९ वर्षीया लेला फर्नान्डेज हुन्।
सेमिफाइनलमा पुग्ने क्रममा फर्नान्डेजले यसअघिको विजेता नआमी ओसाका, जर्मकीकी तीन ग्रान्ड स्लाम विजेता एन्जिलिक केर्बर र युक्रेनकी पाँचौँ वरीयताकी एलिना स्भेटोलीनालाई हराएकी छन्।
उनी गत सोमवार मात्रै १९ वर्ष पुगेकी हुन्।
"मलाई कस्तो महसुस भइरहेको छ भनेर मलाई नै थाहा छैन। म खेल अवधिभरि डराएकी थिएँ," क्वार्टरफाइनल जितेपछि उनले भनेकी थिइन्।
यी दुई सन् २००५ मा मारिया सारापोभापछि यूएस ओपनको एकल खेलमा सेमिफाइनल पुग्ने सबैभन्दा कम उमेरमा खेलाडी हुन्।

तस्बिर स्रोत, EPA
फर्नान्डेजका प्रशिक्षक भूतपूर्व व्यावसायिक फुटबल खेलाडी रहेका उनका बुवा हुन्।
फर्नान्डेजले जन्मदिनमा आफूलाई केक दिएको बताउँदै राडुकानुले उनी राम्रो भएको बताइन्।
अर्का एक किशोर खेलाडी पनि यूएस ओपनमा प्रभावशाली प्रदर्शन गरेका छन्।
ती खेलाडी स्पेनका १८ वर्षीय कार्लोस अल्कारज ग्रार्फिया हुन्।

तस्बिर स्रोत, EPA
उनी बुधवार पुरुष एकलको क्वार्टरफाइनलमा पराजित भए पनि धेरैले उनलाई प्रशंसा गरेका छन्।
यी सबै खेलाडीका कारण यो वर्षको यूएस ओपन सेरेना विलियम्स, रोजर फेडेरर र राफेल नाडालजस्ता खेलाडीहरू नभए पनि खल्लो नबनेको धेरैले बताएका छन्।




















