कार्लोस गोनः जापानबाट निसानका पूर्वप्रमुखलाई भाग्न सघाएको अभियोगमा अमेरिकी बाबुछोरालाई जेल सजाय

तस्बिर स्रोत, Reuters
निसान कम्पनीका पूर्वप्रमुख कार्लोस गोनलाई सन २०१९ मा जापानबाट भाग्न सघाएको अभियोगमा एउटा स्थानीय अदालतले दुई अमेरिकी नागरिकलाई दोषी ठहर गरेको छ। उनीहरू बाबुछोरा हुन्।
टोक्यो अदालतले अमेरिकी स्पेशल फोर्सेजका भूतपूर्व सैनिक माइकल टेलरलाई उक्त मुद्दामा दुई वर्ष र उनका छोरा पिटरले एक वर्ष आठ महिना जेल सुनाएको छ।
जापानमा मुद्दा परेका गोनलाई एउटा लगेज बाकसमा लुकाएर निजी विमानबाट भगाएको आरोप लागेका यी दुई जनालाई अमेरिकाले सुपुर्दगी गरेको थियो।
जापानी अभियोजनकर्ताहरूले माइकल टेलरलाई दुई वर्ष १० महिना र पिटर टेलरलाई दुई वर्ष छ महिना कारागार पठाउनुपर्ने दाबी गरेका थिए।
डिसेम्बर २०१९ मा गोनलाई पश्चिम जापानको कान्साई विमानस्थलबाट गोनलाई भगाउन योजना बनाएको आरोप टेलर बाबुछोरालाई लागेको थियो।
त्यसका लागि उनीहरूले १३ लाख डलर पारिश्रमिक लिएको दाबी गरिएको थियो।
उनीहरूले अभियोग स्वीकार गरेका थिए तथा आफूले गरेको कामप्रति पश्चात्ताप व्यक्त गरेका थिए।
सुपुर्दगी नहोस् भन्ने प्रयत्न
माइकल टेलरले अमेरिकामा निजी सुरक्षासम्बन्धी विशेषज्ञको काम गर्ने गरेका थिए।
उनी र उनका छोरा पिटरले आफूहरूलाई जापानलाई हस्तान्तरण नगरियोस् भनेर कानुनी प्रयास पनि गरे।
तर गत मार्चमा अमेरिकी सर्वोच्च अदालतले उनीहरूलाई जापानी अधिकारीहरूसमक्ष बुझाउनुपर्ने निर्णय सुनायो।

निसान कम्पनीका पूर्वप्रमुखलाई अहिले अन्तर्राष्ट्रिय भगौडा मानिएको छ।
उनी लेबननमा आफूले बाल्यकाल बिताएको घरमा बसिरहेका छन्।
लेबनन र जापानबीच सुपर्दगी सन्धि भएको छैन।
आर्थिक अनियमिततासम्बन्धी चारवटा अभियोग लागेका गोन जापानमा धरौटीमा बसेर मुद्दाको सुनुवाइ कुरिरहेका थिए।
तर त्यही बेला उनी स्थानीय अधिकारीहरूलाई झुक्याएर निजी विमानबाट भागेको अदालतले ठहर गरेको छ।
गोनले आफूले कुनै अनियमितता नगरेको दाबी गर्दै आएका छन्।
अमेरिकी अभियोजनकर्ताहरूले गोनको भगाइलाई "समसामयिक इतिहासको सबैभन्दा दुस्साहसपूर्ण र सुनियोजित" भनेका छन्।
लेबनन आइपुगेपछि गोनले आफूलाई जापानमा "बन्दी" बनाइएको दाबी गर्दै आफूसँग त्यहीँ मर्ने वा भाग्ने विकल्प भएको बताएका थिए।
गोनलाई लेबनन पुर्याउन संलग्न भएको ठहर गर्दै टर्कीस्थित एउटा अदालतले टर्किश जेट कम्पनी एमएनजीका एक वरिष्ठ अधिकारी र दुई विमानचालकलाई दोषी ठहर गरेको थियो।
कस्तो आरोप?
आर्थिक अनियमिततासम्बन्धी आरोपमा गोन पहिलो पटक नोभेम्बर २०१८ मा पक्राउ परेका थिए।
सन् २०१५ सम्म पाँच वर्ष आफ्नो आम्दानी कम देखाएको आरोप उनलाई लागेको थियो।
यही महिना बीबीसीसँगको एउटा विशेष अन्तर्वार्तामा गोनले आफूले कसरी भेष परिवर्तन गरेका थिए र अरूले नचिन्ने गरी टोक्योका सडकमा हिँडेका थिए भन्ने विषयमा कुरा गरेका थिए।
त्यसैगरी उनलाई लुकाएर देशबाहिर निकाल्न किन सङ्गीतिक उपकरण राख्ने ठूलो बाकस छानिएको थियो र लेबनन पुगेपछि उनी कति हर्षित भएका भनेर बताएका थिए।




















