विरोधपछि अमेरिकाले स्वीकार गर्ने शरणार्थीको सङ्ख्या बढाउने राष्ट्रपति बाइडनको निर्णय

अमेरिका

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिका मेक्सिको सीमामा हालसम्मकै उच्च सङ्ख्यामा शरणको खोजीमा मानिसहरू आइरहेका छन्
Published

शरणार्थीसम्बन्धी निकाय र देशभित्रका प्रगतिशील धारले व्यक्त गरेको आक्रोशपछि अमेरिकाका डेमोक्र्याट राष्ट्रपतिले शरणार्थीको सीमालाई १५ हजारबाट बढाएर ६२ हजार ५ सय बनाउने बताएका छन्।  

राष्ट्रपति जो बाइडनले न्यून सङ्ख्याले अमेरिकी मान्यताको प्रतिनिधित्व नगर्ने जनाएका छन्।

अघिल्लो महिनाका विवरणहरूमा अमेरिका-मेक्सिको सीमामा कीर्तिमानी सङ्ख्यामा मानिसहरूको घुइँचो लागेकाले थप मानिसहरूलाई प्रवेश दिनेबारे बाइडन चिन्तित रहेको जनाइएको थियो।

तर सोमबार उनले ६२ हजार पाँच सयको नयाँ सङ्ख्याले, पूर्व राष्ट्रपति ट्रम्पले छुटाएको 'ऐतिहासिक न्यून सङ्ख्यात्मक सीमालाई' मेटाउने बताए।

आफ्नो प्रशासनले अर्को वर्ष १ लाख २५ हजार शरणार्थीलाई प्रवेश दिन चाहेको उनले बताए।

पुनर्विचार

बाइडन प्रशासनले सीमामा देखिएको समस्याको कारक राष्ट्रपति ट्रम्पको कार्यकाल भएको बताउने गरेको छ। 

पूर्व राष्ट्रपति बराक ओबामाको अन्तिम वर्षमा रहेको १ लाख १० हजार शरणार्थीलाई प्रवेश दिने सीमालाई आफ्नो अन्तिम वर्षको कार्यकालमा राष्ट्रपति ट्रम्पले हालसम्मकै न्यून १५ हजारमा झारेका थिए।

गएको एप्रिलमा गरिएको एउटा आपत्कालीन घोषणामा बाइडेनले १५ हजारसम्म शरणार्थीलाई प्रवेश दिने विषयलाई मानवीय आधार र राष्ट्रिय हित दुवैले पुष्टि गरेको बताएका थिए।

बाइडन

त्यस बेला उनले समालिया, सिरिया र यमनबाट हुने पुनर्वास कार्यक्रममाथिको प्रतिबन्ध हटाएका थिए भने अफ्रिका, मध्यपूर्व र मध्य अमेरिकाका लागि थप कोटा छुट्याएका थिए।

तर शरणार्थीसम्बन्धी समूह र आफ्नै दलका सदस्यहरूबाट विरोध भएपछि ह्वाइट हाउसले मे महिनामा सङ्ख्यामा पुनर्विचार गर्ने बताएको थियो।

 वाम झुकाव राख्ने न्यूयोर्ककी सांसद एलेक्जेन्ड्रिया ओकासियो कोर्टेजले न्यून शरणार्थी सङ्ख्यात्मक सीमालाई विदेशीलाई घृणा गर्ने र जातिवादी दृष्टिकोणका रूपमा व्याख्या गरेकी थिइन्।

एउटा मानवीय सहायता संस्था वर्ल्ड रिलिफका अनुसार ट्रम्पको शासनकालपछि अमेरिकी शरणार्थी पुनर्वास कार्यक्रममा पुनर्संरचनाको खाँचो रहेको भन्ने ह्वाइट हाउसको दाबी विशुद्ध राजनीतिक हिसाबकिताब भएको टिप्पणी गरेको छ।

बाइडनमाथि दबाब

राष्ट्रपति बाइडेनले फरकफरक धारणा राखेपछि यात्राको अनुमति पाएका शरणार्थीहरूसमेत टिकट रद्द गर्न बाध्य भएका थिए।

ह्वाइट हाउसका एकजना अधिकारीले सोमबार रोयर्टस समाचार संस्थालाई शरणार्थी स्वीकार गर्ने सङ्ख्याको सीमालाई बढाएर राष्ट्रपतिले शरणार्थीलाई प्रवेश दिने विषय विश्वमा अमेरिकाको स्थानका लागि महत्त्वपूर्ण रहेको भन्ने स्पष्ट सन्देश दिन खोजेको बताए।

शरणार्थी

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, ग्रीसको शरणार्थी शिविरका मानिसहरू

पछिल्लो निर्णयको अन्तर्राष्ट्रिय रेस्क्यु कमिटी सहितका शरणार्थी समूहहरूले स्वागत गरेका छन्।

अघिल्लो हप्ता एरिजोना राज्यका डेमोक्र्याट्रिक सिनेटर मार्क केलीले शरणार्थी सङ्कटप्रति बाइडेन प्रशासनले देखाएको व्यवहारप्रति निराशा व्यक्त गरेका थिए।

सोमवार पिउ रिसर्च सेन्टरको अध्ययनले सीमाको अवस्थालाई लिएर अमेरिकी सरकारले चालेका कदमप्रति बहुसङ्ख्यक अमेरिकीहरूले आलोचनात्मक धारणा राखेको देखाएको थिए।

अमेरिकाका बढ्दो शरण खोज्ने मानिसहरूको व्यवस्थापनका बारेमा  बाइडेन प्रशासनले एकदमै नराम्रो वा केही नराम्रो गरिरहेको धारणा झन्डै दुई तिहाइ वयस्कले राखेका थिए।

त्यसमा सर्वेक्षणमा सहभागी ५६ प्रतिशत अर्थात् आधाभन्दा बढी डेमोक्र्याट्स पनि थिए।