अमेरिका: आप्रवासी नीतिबारे प्रथम महिलाहरूको टिप्पणी

प्रथम महिलाहरु
Published

सयुक्त राज्य अमेरिकाकी भूतपूर्व प्रथम महिला लोरा बुशले मेक्सिकोसँगको सीमाबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेहरूको परिवारलाई टुक्र्याउने विवादास्पद नीतिको निन्दा गरेकी छन्।

वाशिंगटन पोस्ट समाचारपत्रमा लेख्दै बाबुआमाबाट तिनका छोराछोरीलाई अलग तुल्याउने कार्यलाई उनले निर्दयी, अनैतिक र हृदयविदारक भनेकी छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अंगिकार गरेका शून्य सहनशीलता सहितको आप्रवसन नीतिलाई लिएर उत्पन्न विवादपछि उनको त्यस्तो टिप्पणी आएको छ।

त्यसअघि राष्ट्रपति ट्रम्पकी श्रीमति तथा वर्तमान प्रथम महिला मेलानिया ट्रम्पले पनि सरकारको नीतिका सम्बन्धमा चिन्ता व्यक्त गर्दै दुर्लभ प्रकृतिको वक्तव्य दिएकी थिइन्।

us immigration

उनको भनाइ थियो, "हामी कानुन पालना गर्ने मुलुकका रुपमा अघि बढ्नु पर्छ तर सँगसँगै हामी शासन पनि दिलबाट गर्ने देश बन्नु पर्दछ।"

उनका प्रवक्ताले भनिन् "बालबालिकालाई तिनको परिवारबाट अलग्याइएको हेर्न उनलाई रुचिकर छैन।"

श्रीमति ट्रम्पले यो समस्याको समाधानका लागि संसदका दुवै पक्ष बसेर आप्रवास सम्बन्धी सुधारहरू बारे काम गर्न उनका पतिले गरेका आह्वानलाई दोहोर्‍याएकी छिन्।

गैरकानुनी रुपमा सीमा पार गर्नेहरू विरुद्धको कार्वाहीका सिलसिलामा हालैको ६ हप्ताको अवधिमा झण्डै दुईहजार परिवारका सदस्यहरूलाई एकअर्काबाट अलग्याइएको थियो।

us immigration

शरणार्थी आवदेन दिने उद्देश्यका साथ सीमास्थित आधिकारीक प्रवेशविन्दूभन्दा बाहिरबाट अमेरिका प्रवेश गर्न खोज्ने वयस्कहरूलाई हिरासतमा राखिन्छ र तिनीहरूलाई गैरकानुनी रुपमा सीमा पार गर्न खोजको अभियोगमा मुद्दा चलाइन्छ।

परिणामस्वरूप सयौं बालबालिका तथा शिशुहरूलाई ठूला गोदाम, खाली सुपरमार्केट लगायतका थुनुवाघरहरूमा राखिएको छ। र तिनीहरूलाई तिनका आमाबुबाबाट अलग पारिएको छ।

आलोचकहरूले अमेरिकी सरकारको यो नीतिलाई अभूतपूर्व भनेर निन्दा गरेका छन्।