जोर्ज फ्लोइड: जुरीद्वारा पूर्व प्रहरी अधिकारी हत्यामा दोषी ठहर

डेरेक शोभिन

तस्बिर स्रोत, Reuters

Published

अमेरिकामा एउटा जुरीले गत वर्ष मिनिआपुलिसको सडकमा भएको अफ्रिकी-अमेरिकी जोर्ज फ्लोइडको मृत्युलाई लिएर 'एकजना पूर्व प्रहरी अधिकारी हत्यामा दोषी भएको' ठहर गरेको छ।

गत वर्षको मे महिनामा फ्लोइडको गिरफ्तारीका बेला ४५ वर्षीय श्वेत जातिका प्रहरी अधिकारी डेरेक शोभिनले नौ मिनेटभन्दा बढी समयसम्म घुँडाले उनको घाँटी थिचेको दृश्य छायाङ्कन गरिएको थियो।

व्यापक सङ्ख्यामा मानिसहरूले हेरेको त्यो भिडिओ सामाग्रीले जातिवाद र प्रहरीद्वारा अधिक बल प्रयोगविरुद्ध विश्वव्यापी प्रदर्शन निम्त्याइ दिएको थियो।

शोभिनलाई तीनवटा अभियोगमा दोषी ठहर गरिएको छ। जसमा सेकेन्ड डिग्री हत्या, थर्ड डिग्री हत्या र आशय बिनाको गैरकानुनी हत्या छन्।

सेकेण्ड डिग्रीमा हत्याको आशय हुनुपर्छ तर त्यो पूर्वनियोजित हुँदैन भने थर्ड डिग्री हत्यामा प्रतिवादीले पीडितलाई मार्न खोजेको भन्ने प्रमाण आवश्यक पर्दैन। त्यहाँ कारबाही खतरनाक भए पनि खासगरी ज्यान लिन खोजिएको हुँदैन।

शोभिनलाई जेल सजाय नदिइँदासम्म हिरासतमै रहनेछन् र दशकौँसम्म जेलमा बिताउनु पर्ने हुनसक्छ।

दुवै पक्षबाट सोमवार अन्तिम तर्कहरू प्रस्तुत गरिएपछि १२ जना सदस्य रहेको जुरी एक दिनभन्दा कम समयभित्रै आफ्नो निर्णयमा पुगेको हो। तीन साताको सुनुवाइले मिनिआपुलिसमा एक खालको उत्तेजना देखिएको थियो।

सुनुवाइ सकिएपछि जुरी बाह्य सम्पर्कबाट टाढा रहन एउटा होटलमा बसेको थियो।

फैसलापछि फ्लोइडका भाइलगायत वकिलहरू

तस्बिर स्रोत, Reuters

जुरी सदस्यहरू एकमत भएका थिए र उनीहरूले निर्णय नगर्दासम्म घर नफर्किने बताएका थिए।

निर्णयपछि अदालतबाहिर खुसीका दृश्य देखिएको थियो। निर्णय घोषणा लगत्तै सयौँ मानिसहरूले प्रशन्नता प्रकट गरेका थिए।

फ्लोइड परिवारका वकिल बेन क्रम्पले उक्त निर्णय अमेरिकाको निम्ति 'इतिहासको घुम्ती' भएको टिप्पणी गरेका छन्।

उनले ट्वीट गर्दै भनेका छन्, "पीडाका साथ आर्जन भएको न्याय अन्तत: प्राप्त भएको छ।"

अदालतबाहिर देखिएको दृश्य

तस्बिर स्रोत, Reuters

राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारीसले निर्णयप्रति प्रशन्नता प्रकट गरेका छन्।

बाइडनले कम्तीमा अहिले केही न्याय भएको बताए। उनले भने, "हामीले अझै धेरै प्राप्त गर्नुछ।"

निर्णय लगत्तैको सम्बोधनमा उनले 'प्रणालीगत जातिवाद सिङ्गो राष्ट्रको आत्माको कलङ्क' भएको बताए।

उपराष्ट्रपति ह्यारिसले अमेरिकी प्रहरीको प्रशासकीय पुनर्संरचनाको लक्ष्य लिएको जोर्ज फ्लोइड विधेयक पारित गर्न सांसदहरूलाई आग्रह गरेकी छन्।

प्रहरीको प्रतिनिधित्व गर्ने गैर नाफामुखी संस्था मिनिआपुलिस प्रहरी महासङ्घले 'ठूलो बोझ काँधमा लिएर काममा समर्पित भएको' भन्दै जुरीलाई धन्यवाद दिएको छ।

अमेरिकी सञ्चार माध्यमहरूले शोभिनले निर्णयविरुद्ध पुनरावेदन गर्ने ठानिएको जनाएका छन्।