कोरोना भाइरस अमेरिका: ट्रम्प प्रशासनको खोप योजना 'भद्रगोल र सीमित'

अमेरिका

तस्बिर स्रोत, Getty Images

Published

ह्वाइहाउसका एकजना वरिष्‍ठ अधिकारीले ट्रम्प प्रशासनको कोभिड-१९ खोप वितरण कार्य 'भद्रगोलपूर्ण' र 'निकै सीमित' रहेको बताएका छन्।

राष्ट्रपति जो बाइडनका चिफ अफ स्टाफ रोन क्लेनले सङ्घीय सरकारसामु अमेरिकामा खोप वितरण गर्ने कुनै योजना नरहेको बताएका हुन्।

गत बुधवार पद सम्हालेका राष्ट्रपति जो बाइडनले कार्यकालको सुरुवाती १०० दिनभित्र १० करोड मात्रा खोप उपलब्ध गराउने बाचा गरेका छन्।

अमेरिकामा अहिलेसम्म २ करोड पचास लाखभन्दा धेरैमा कोरोनाभाइरस पुष्टि भएको छ। अहिलेसम्म ४ लाख १७ हजारभन्दा धेरैको मृत्यु भएको छ।

पछिल्ला केही सातामा त्यहाँ मृत्यु हुनेको सङ्ख्या कुनैदिन चार हजार समेत नाघ्ने गरेको छ।

आलोचना र अवस्था

एनबीसी न्यूजसँग कुरा गर्दै रोन क्लेनले खोप वितरण कार्य एउटा 'जटिल' प्रक्रिया भएको बताए।

उनले भने, "जब हामी ह्वाइटहाउसमा आयौँ त्यहाँ खासगरी नर्सिङ होम र अस्पतालबाहिर अर्थात् समुदायमा खोप वितरण गर्ने प्रक्रिया निर्धारण नै गरिएको थिएन।"

पर्याप्त स्थान नभएका राज्यहरूका लागि सङ्घीय सरकारले खोप केन्द्रहरू तयार पार्ने उनले बताए।

खोपहरू राज्य र सहरहरूमा पठाइए पनि केहीले त्यसको वितरणमा आफूहरूले सङ्घर्ष गरिरहेको बताएका छन्।

राष्ट्रपति जो बाइडनले कार्यकालको सुरुवाती १०० दिनभित्र १० करोड डोज खोपको बाचा गरेका छन्।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, राष्ट्रपति जो बाइडनले कार्यकालको सुरुवाती १०० दिनभित्र १० करोड डोज खोपको बाचा गरेका छन्।

अमेरिकाको सेन्टर्स फर डिजिट एण्ड कन्ट्रोलका अनुसार शनिवारसम्ममा चार करोड १० लाखको सङ्ख्यामा देशभर खोप वितरण गरिएको छ।

तर त्यसमध्ये दुई करोड ५० लाख खोप लगाइएको छ।

गत साता बाइडनले कैयौँ नयाँ रणनीतिहरू सार्वजनिक गर्ने क्रममा त्यसमा खोप कार्यक्रम र परीक्षणलाई तिब्रता दिने उल्लेख गरेका थिए।

उनले अमेरिकीहरूलाई मास्क लगाउन आग्रह गर्दै मृत्युको सङ्ख्या थप निकै खराब हुनसक्ने बताएका थिए।

उनको भनाइ थियो, "म स्पष्टसँग भन्न चाहन्छु राम्रो हुनुअगाडि अवस्था खराब रहिरहनेछ।"

अमेरिकामा के भइरहेको छ?

ट्रम्पले राहत प्याकेज अन्तर्गत संसद्‍बाट १९ खर्ब डलरको एउटा राहत प्याकेज पारित गराउन खोजिरहेका छन्।

तर १०० दिनमा १० करोडलाई खोप दिने उनको योजनालाई कतिपयले 'पर्याप्त महत्वकाङ्क्षी' नभएको बताउने गरेका छन्।

"जब मैले त्यसको घोषणा गरेको थिएँ, तपाईँहरू सबैले त्यो सम्भव छैन भनिरहनु भएको थियो," बाइडनले बिहीवार भने, "मलाई समय दिनुस्। यो राम्रो सुरुवात हो।"

अमेरिकाको सेन्टर्स फर डिजिट एण्ड कन्ट्रोलका अनुसार शनिवारसम्ममा ४ करोड १० लाखको सङ्ख्यामा देशभर खोप वितरण गरिएको छ।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अमेरिकाको सेन्टर्स फर डिजिट एण्ड कन्ट्रोलका अनुसार शनिवारसम्ममा ४ करोड १० लाखको सङ्ख्यामा देशभर खोप वितरण गरिएको छ।

अहिलेसम्म स्वीकृत भएका मोडेर्ना र फाइजर कम्पनीले मार्च महिनासम्म अमेरिकालाई २० करोड खोप उपलब्ध गराउने बाचा गरेका छन्।

बाइडनका प्रमुख स्वास्थ्य सल्लाहकार डा एन्थोनी फाउचीले आउँदो गर्मीयामभित्र ७० देखि ८५ प्रतिशत अमेरिकी जनसङ्ख्यालाई खोप दिन सकेमा शरद् यामभित्र देश 'एकखाले सामान्य अवस्थातर्फ' जाने बताएका छन्।

ज्यानुअरी २२ सम्मको एक विवरण अनुसार प्रत्येक एक सय अमेरिकीमा अहिलेसम्म ५.३ जनाले खोप लगाएका छन्।