कोरोना भाइरस: अमेरिकामा नौ खर्ब डलर बराबरको राहत प्याकेजमा सहमति, ककसले पाउलान् लाभ

तस्बिर स्रोत, Getty Images
महिनौँयताको खिचातानीपछि अमेरिकी सांसदहरू करिब नौ खर्ब डलर बराबरको राहत प्याकेज ल्याउन सहमत भएका छन्।
व्यापार, व्यवसाय सञ्चालन तथा बेरोजगारले पाउने सुविधा दिनका लागि त्यसमा रकम समेटिएको छ।
आममानिसलाई दिइने खोपका लागि र विद्यालयहरू पुनः सञ्चालनमा ल्याउनका लागि सहयोग गर्न पनि त्यसको प्रयोग गरिने बताइएको छ।
आगामी नौ महिनासम्म सरकारलाई आफ्ना गतिविधिहरू सञ्चालन गर्नका निम्ति यसअघि ल्याइएको १.४ ट्रिलियन डलर बराबरको कार्यक्रममा यो थपिएको छ।
यो महिनाको अन्त्यतिर कोभिड-१९ सँग सम्बन्धित थुप्रै सहायता कार्यक्रमको म्याद सकिन लागेका बेला पछिल्लो सहमति भएको हो।
बेरोजगारी
बेरोजगारले पाउने सुविधामा पहुँच पाउनबाट करिब एक करोड २० लाख अमेरिकीहरू वञ्चित हुन लागेका थिए।
सिनेटमा प्रतिनिधित्व गर्ने रिपब्लिकन नेता मिच मक्कनेलले सहमतिबारे घोषणा गरेका थिए। त्यसमाथि औपचारिक मतदान हुन चाहिँ बाँकी छ।
बिहीवार सार्वजनिक बेरोजगारीसम्बन्धी तथ्याङ्क अनुसार बेरोजगारले पाउने सुविधाका लागि गत हप्ता आठ लाख ८५ हजार अमेरिकीले आवेदन दिएका छन्। यो सङ्ख्या सेप्टेम्बर महिनायताकै उच्च हो।
कङ्ग्रेसमा शुक्रवारसम्म यो सहमतिमाथि मतदान हुने अपेक्षा गरिएको छ।

तस्बिर स्रोत, EPA
खर्च नपाएर सरकारका कामकारबाही ठप्प हुनसक्ने चिन्ताहरू व्यक्त भइरहेका थिए।
अक्टोबर महिनादेखि नै अस्थायी कोषमार्फत् वाशिङ्गटन सरकार सञ्चालन भइरहेको छ। अक्टोबर सङ्घीय सरकारको आर्थिक वर्षको शुरूवाती महिना हो।
सहमतिबारे आइतवार घोषणा गर्दै मक्कनेलले भने, "अन्ततः हामीले यो रिपोर्ट गर्न सक्छौँ कि लामो समयदेखि देशले सुन्नुपर्ने कुरा भएको छः थप सहयोग आउँदैछ।"
"हामी करिब नौ खर्ब बराबरको सहायता प्याकेजमा सहमत भएका छौँ। यसमा लक्षित नीतिहरू समेटिएका छन् जसले सङ्घर्ष गरिरहेका लामो समयदेखि प्रतीक्षारत अमेरिकीहरूलाई सहयोग गर्नेछ।"

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा





















