कोरोना भाइरस खोप: भारतमा ज्यानुअरी महिनामा खोप लगाउने तयारी

खोप विवरण संकलन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, खोपका लागि स्वास्थ्य कार्यकर्ताहरूले ५० वर्षभन्दा बढी उमेरका मानिसहरूको विवरण सङ्कलन गरेका छन्।
    • Author, सौतिक विश्वास
    • Role, भारत सम्वाददाता
  • Published

भारतले आउँदो ज्यानुअरी महिनादेखि नै कोभिड-१९ विरुद्धको खोप दिन सुरु गर्न सक्ने सङ्घीय स्वास्थ्य अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

नाम उल्लेख नगर्न अनुरोध गर्दै त्यस्तो जानकारी दिएका अधिकारीहरूले भनेका छन् "आउँदो केही हप्ताभित्रै" देशको औषधि नियामक निकायले केही खोपहरूलाई आपत्‌कालीन प्रयोगका निम्ति अनुमति प्रदान गर्न सक्ने सम्भावना छ।

दुईवटा खोप निर्माता कम्पनीहरूले आफूहरूले तयार पारेका कोरोनाभाइरस विरुद्धको खोपको प्रयोगका लागि सरकार समक्ष अनुमतिका निम्ति आवेदन गरिसकेका छन्। अन्य छ प्रकारका खोपहरू चिकित्सा परीक्षणका विभिन्न चरणहरूमा छन्।

भारतमा खोप कार्यक्रमले अगस्ट महिनाको आरम्भसम्म झण्डै ३० करोड जनालाई खोप लगाइसक्ने उद्देश्य राखेको छ।

भारतमा झण्डै एक करोड जना कोरोनाभाइरस सङ्क्रमित भैसकेका छन् र हालसम्म सो रोग र त्यससँग सम्बन्धित जटिलताका कारण १ लाख ४४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका सरकारी तथ्याङ्क छ।

भारतका कोरोनाभाइरस सङ्क्रमण दर सुस्त हुँदै गएको देखिएपनि सरकारले खोप योजनालाई तीब्रता दिइरहेको बताइएको छ।

विचाराधीन खोपहरू कुन कुन हुन्?

खोप

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भारतमा कोभिड-१९ विरुद्धका ६ वटा खोप परीक्षणका विभिन्न चरणमा छन्

कोभिशिल्ड नामको खोप सिरम इन्स्टिट्यूट अफ इण्डियाले उत्पादन गरेको हो जसले ब्रिटिश औषधि कम्पनी एस्ट्राजेनेकासँग साझेदारी गरेको छ। कोभ्याक्शिन खोप इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च, आइसिएमआर, सँग मिलेर भारत बायोटेकले तयार पार्दैछ। यी दुवैले प्रयोग अनुमतिका लागि सरकार समक्ष आवेदन गरिसकेका छन्।

भारतमा प्रभावकारिता र सुरक्षा सम्बन्धी परीक्षणका विभिन्न चरणमा रहेका अन्य खोपहरू यस्ता छन्:

  • ZyCov-Di खोप अहमदाबाद अवस्थित जाइडस-काडिला कम्पनीले विकसित गर्दैछ
  • हैदराबादमा रहेको बायोलोजिकल इ ले पनि खोप तयार पार्दैछ। जुन एमआइटिसँग मिलेर खोप बनाउँदै गरेको पहिलो भारतीय निजी खोप कम्पनी हो
  • HGCO19 भारतको पहिलो mRNA खोप हो जुन पुणेस्थित जेनोभाले अमेरिकाको सिआटलमा रहो एचडिटि बायोटेक कर्पोरेशनसँग मिलेर तयार गर्दैछ
  • भारत बायोटेकले नाकबाट दिइने खोप बनाउँदैछ
  • Sputnik V खोप डा रेड्डीको प्रयोगशाला र गामालेअ न्याशनल सेन्टर रूसले तयार पारेका हुन्
  • सिरम इन्स्टिट्यूट इण्डिया र अमेरिकी खोप कम्पनी नोभाभ्याक्सले तयार पार्दै गरेको दोस्रो खोप

यी आठ मध्ये चारवटा खोप भारतमा नै विकसित गरी तयार हुँदै गरेको अधिकारीहरूले बताएका छन्।

भारतले संसारका विभिन्न खोप निर्माताहरूबाट करोडौँ मात्रामा कोरोनाभाइरस विरुद्धको खोप किन्न लागेको भन्ने समाचार विवरणहरूको पनि अधिकारीहरूले खण्डन गरेका छन्।

भारतमा हाल रहेका खोपहरूको मात्रा पर्याप्त भएको भन्नेमा आफूहरू विश्वस्त भएको उनीहरूको भनाइ छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर