रुसद्वारा जापान सागरमा अमेरिकी जलसेनाको 'जहाज ध्वस्त पारिदिने चेतावनी'

यूसएसएस जोन एस मक्केन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी जलसेनाको यूसएसएस जोन एस मक्केन (फाइल तस्बिर)
Published

जापान सागरस्थित रुसी जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको एउटा विध्वंसक जहाजलाई आफ्नो युद्धपोतले मङ्गलवार लखेटेको दाबी रुसले गरेको छ।

आफ्नो जलक्षेत्रमा छिर्ने 'यूसएसएस जोन एस मक्केन' नामक उक्त जहाजलाई ध्वस्त पारिदिने चेतावनी दिइएको उसले जनाएको छ।

उसका अनुसार उक्त जहाज पिटर द ग्रेट गल्फको जलक्षेत्रमा दुई किलोमिटर भित्र आएको थियो।

तर अमेरिकी जलसेनाले रुसी आरोपको खण्डन गर्दै आफ्नो पक्षबाट कुनै गल्ती नभएको बताएको छ। उसका अनुसार अमेरिकी जहाज कहीँबाट पनि "निष्काशित" भएको छैन।

जापान सागरको सीमामा जापान, रुस र दुई कोरिया छन्।

कस्तो चेतावनी?

रुसको रक्षा मन्त्रालयका अनुसार उसको प्रशान्त क्षेत्रमा खटिएको विध्वंसक जहाज एड्मिरल भिनोग्रादोभले अमेरिकी जहाजलाई चेतावनी दिएको थियो।

चेतावनीमा "घुसपैठ गर्ने जहाजलाई बाहिर निकाल्न शक्तिको प्रयोग गर्न सकिने" भनेको बताइएको छ।

रुसी विध्वंसक जहाज एड्मिरल भिनोग्रादोभ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रुसी विध्वंसक जहाज एड्मिरल भिनोग्रादोभबाट चेतावनी दिइएको रुसको दाबी छ

तर रुसको भनाइ मिथ्या भएको अमेरिकी जलसेनाको सेभन्थ फ्लीटका प्रवक्ताले बताए।

"समुद्री सीमाबारे गरिएको अवैध दाबीलाई अमेरिकाले कहिल्यै स्वीकार गर्दैन," उनले भने।

समुद्रमा यस्तो घटना हतपत हुँदैन। यद्यपि गत वर्ष पूर्वी चीन सागरमा एड्मिरल भिनोग्रादोभ एउटा अमेरिकी क्रूजरसँग झन्डै ठोकिएको थियो।

त्यस घटनाका लागि रुस र अमेरिका दुवैले एकअर्कालाई दोषारोपण गरेका थिए।

कस्तो छ सम्बन्ध?

दुवै पक्षले समुद्र र आकाशमा हुने एकअर्काका सैन्य गतिविधिप्रति आपत्ति प्रकट गर्ने गरेका छन्।

रुस र अमेरिकाबीच अहिले सुमधर सम्बन्ध छैन।

भ्लादिमिर पुटिनले अझै पनि जो बाइडनलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका छैनन्।

आगामी फेब्रुअरी महिनामा म्याद सकिन लागेको परमाणुअस्त्रसम्बन्धी एउटा सहमतिबारे दुई देशले नयाँ निर्णय गर्न अझ बाँकी नै छ।

सन् २०१० मा "न्यू स्टार्ट ट्री"मा हस्ताक्षर गर्दा दुवै देश लामो दूरीसम्म प्रहार गर्न सकिने परमाणुअस्त्रको सङ्ख्या घटाउन सहमत भएका थिए।