कोरोना भाइरस नेपाल: महामारीमा सङ्क्रमितको रेखदेख गर्दा महिलाहरूलाई बढी शारीरिक र मानसिक तनाव

तस्बिर स्रोत, Kabita Niroula Neupane
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
भक्तपुर सृजनानगरकी ३३ वर्षीया पारू श्रेष्ठ कोभिड-१९ भएका श्रीमान्को रेखदेख गर्दागर्दै केही दिनपछि आफैँ सङ्क्रमित भइन्।
पाँच-सदस्यीय परिवारमा सासू, श्रीमान् र आफू सङ्क्रमित भए पनि 'मनोबल उच्च राखेर' दैनिक घरको काम आफैँले गरेको उनी बताउँछिन्।
"सङ्क्रमित भन्ने थाहा पाए पनि मलाई केही भएको छैन भनेर मन दह्रो बनाएँ। सासूआमा र श्रीमान्जस्तै म पनि सङ्क्रमित भनेर सुतेँ भने त कसले घरको काम गर्ने? दुई छोराको खानपान कसले हेरिदिने?" श्रेष्ठले भनिन्।
उनका अनुसार उनको सबैभन्दा ठूलो चुनौती भनेको ७ र १० वर्षीय छोराहरूलाई सङ्क्रमणबाट जोगाउनु र मधुमेह र उच्च रक्तचाप भएका श्रीमान् र सासुको नियमित ख्याल राख्नु थियो।
"पन्जा लगाएर छोराहरूको थालमा नछोई खाना खान दिन्थेँ। भाँडा राम्रोसँग घाममा सुकाउन भन्थेँ अनि टाढै बस्न भन्थेँ," श्रेष्ठले भनिन्, "श्रीमान् र सासूलाई केही हुँदैन निको भइहाल्छ भनेर सम्झाउँथेँ। मैले आफैँ त बिरामीजस्तो महसुस गर्नै सकिनँ। परिस्थिति नै त्यस्तै थियो।"
त्यसबीच छोराहरूको अनलाइन क्लास हुँदा त्यसको व्यवस्थापनमा पनि आफैँले ध्यान दिएको उनले बताइन्।
'शारीरिक मात्रै नभई मानसिक तनाव पनि'
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रवार अपराह्णसम्म देशभरि ३७,००० सक्रिय सङ्क्रमित थिए।
त्यसमध्ये २९,००० सङ्क्रमितहरू घरमै आइसोलेशनमा बसेका छन्।
यसरी ठूलो सङ्ख्यामा सङ्क्रमितहरू घरमै बसेका बेला त्यसले महिलाहरूलाई कामकाजको भार थपेको सञ्चारकर्मी अमृता लम्साल बताउँछिन्।
खासगरी लक्षण भएका सङ्क्रमितहरू पनि घरमै आइसोलेशनमा बस्न थालेकाले उनीहरूको हेरविचार पुर्याउँदा महिलाहरूलाई शारीरिक मात्रै नभई मानसिक तनाव पनि बढेको उनको भनाइ छ।
त्यस्ता थुप्रै परिवारमा महिलाहरूलाई मानसिक तनाव बढेको देखेको बताउने लम्साल भन्छिन्, "घरको भान्साको जिम्मेवारी त महिलालाई पहिला पनि थियो, अहिले कोरोनाभाइरसको महामारीले महिलाहरूमा मानसिक समस्या धेरै परेको देख्छु। महामारीका बेला तनाव बढ्यो भनेर मसँग महिलाहरू कुरा गर्दा रुने गर्नुभएको छ। सुत्दा घाँटी अँठ्याएजस्तो हुन्छ भन्नुहुन्छ।"
'परिवारका सबै सङ्क्रमित'
भक्तपुर चाँगुनारायण नगरपालिकाका प्रचण्ड न्यौपानेको घरमा १६ मध्ये १४ सदस्यलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भयो।
त्यतिबेला आफ्नो घरका महिला सदस्यलाई कामको बोझ बढी परेको उनी बताउँछन्।
"पहिलादेखि नै घरको काम महिलाहरूले गर्दै आएको भएर पनि होला हामी सङ्क्रमित हुँदा मेरा भाइबुहारीहरूलाई कामको बोझ बढी भएको देखेँ," न्यौपानेले बीबीसीसँग भने।
"मेरी साइँली बुहारीको १३ महिनाको बच्चा छ। उनको श्रीमान् पोजिटिभ छ, १२ वर्षको छोरी पनि पोजिटिभ छ। उनी आफैँ पनि पोजिटिभ छिन्। त्यो बच्चालाई लिटो पकाएर खुवाउने?"
"काइँलो भाइ मधुमेह, थाइराइड, उच्च रक्तचापको बिरामी छ। उसलाई खुवाउने कुराको व्यवस्थापन गर्नुपर्यो। बुहारी आफैँलाई पनि सङ्क्रमण भएको छ। उसलाई पनि छाती दुखेको छ, सास फेर्न गाह्रो भएको छ। तर महिलाले यो सबै भनेर पनि सुख नपाउने रहेछन्।"
उनकी बुहारी कविता निरौला न्यौपाने पनि बालबच्चालाई सङ्क्रमणबाट जोगाउँदै घरका अन्य सङ्क्रमितको रेखदेख गर्दा बढी भार परेको बताउँछिन्।
'पहिला श्रीमान्लाई कस्तो छ भनेर सोध्छन्'
"मेरो श्रीमान्लाई पहिला सङ्क्रमण देखियो त्यसपछि मलाई। आफूलाई लाग्दा भन्दा श्रीमान् र छोरालाई कोरोनाभाइरस लाग्दा बढी तनाव भयो," उनले भनिन्, "हाम्रो संरचना नै त्यस्तै भएर होला। आफूलाई भन्दा घरका अरूलाई हुँदा चिन्ता बढी हुने रहेछ।"
"उही रोग लागेको हो तर रोग लाग्यो भनेर आराम गर्न सकिनँ। माइतीबाट फोन गर्दा पनि तँलाई कस्तो छ भनेर सोध्नुभन्दा पहिला ज्वाइँलाई कस्तो छ ज्वाइँको ख्याल गर भन्नुहुन्थ्यो।"
पारू श्रेष्ठ र कविता निरौला न्यौपानेले जस्तै बाराकी एक सङ्क्रमित महिला रञ्जना तिवारीको पनि अनुभव उस्तै छ।
श्रीमान्, छोरा र आफू समेत सङ्क्रमित भएका बेला घरको दैनिक कामकाज गर्न निकै गाह्रो भएको उनले बताइन्।
"घरका सबै जना सङ्क्रमित भएपछि गर्दै आएको सानो पसल बन्द गर्यौँ। तर सन्चो नभए पनि खाना बनाउने, घरधन्दा गर्ने काम त मैले अरु सामान्य बेलामा जस्तै गरेँ। एकदिन त टाउको दुखेर असाध्यै गाह्रो भयो," तिवारीले भनिन्।
सङ्क्रमितको घरमा बाहिरका मानिस आएर नसघाइदिने हुँदा सहयोग माग्न पनि नसकिएको उनले बताइन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार चार महिनाअघि सङ्क्रमित महिलाहरू १२/१३ प्रतिशत थिए भने अहिले ४० प्रतिशतभन्दा बढी महिलाहरू सङ्क्रमित रहेका छन्।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

महिला सङ्क्रमितको सङ्ख्या बढ्नुको अर्थ
"त्यसको अर्थ घरबाहिर ननिस्किए पनि घरभित्र सङ्क्रमण हुन थालेको अवस्था हो। घरका महिला सदस्यहरू पुरुष वा घरबाहिर निस्किने महिलाबाट सङ्क्रमित भइरहेका छन्," मन्त्रालयका अवैतनिक सल्लाहकार सुरेश तिवारीले बीबीसीलाई भने।
जनस्वास्थ्यविद् अरुणा उप्रेती होम आइसोलेसनमा रहेका सङ्क्रमितको स्याहारसुसारका क्रममा बाँकी सदस्यलाई सङ्क्रमण हुन नदिन स्वास्थ्यसम्बन्धी मापदण्डहरू पूरा पालना गर्नुपर्ने बताउँछिन्।
उनले भनिन्, "मास्क र साबुन पानीलाई २४ घण्टा नै साथी बनाउनुपर्छ। जसलाई सङ्क्रमण भएको हुन्छ उसलाई अब सास फेर्न नसकेर मरिनैहाल्छु कि भन्ने लाग्ने भएकोले निरन्तर ढाढस दिइरहनुपर्छ।"
"शब्दहरूले ढाढस दिइरहनुपर्छ। यो गर्दा महिलालाई सहायताको एकदमै आवश्यकता पर्छ। हामीले त्यसको ख्याल गर्नुपर्छ।"























