कोरोना भाइरस सुरक्षा भत्ता: किन सुरक्षाकर्मीले तत्काल प्रोत्साहन भत्ता नपाउने भए

सुरक्षाकर्मीमा कोरोनाभाइरस
Published

कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीका लागि सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता स्रोतको अभावका कारण तत्काल दिन सक्ने अवस्था नरहेको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिष्‌दले निर्णय र बजेटमा समेत व्यवस्था भए पनि आर्थिक अवस्थामा केही सुधार आएपछि भत्ता दिन सकिने उसको भनाइ छ।

हाल दिन नसक्नुको कारण अरू केही नभई सरकारको आर्थिक अवस्था अनुकूल नहुनु रहेको जनाइएको छ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव धनीराम शर्माले बीबीसी नेपालीसँग कुरा गर्दै भने, "हामीले नदिने भनेका छैनौँ, केही समय पर्खिनुहोस् भनेका छौँ। अहिलेको सङ्क्रमणका कारण सरकारसँग स्रोतको अभाव छ। यो स्थिति सहज भयो र सरकारको आर्थिक अवस्थामा सुधार भयो भने दिन्छौँ।"

तीन अर्बभन्दा बढी माग

तीनवटै सुरक्षा निकायले भत्ता निकासा गर्न माग गर्दै तीन अर्ब रुपैयाँभन्दा बढीको विवरण अर्थ मन्त्रालयमा बुझाएका छन्।

उक्त भत्ताका लागि गृह मन्त्रालयले नेपाल प्रहरीका ५० हजार र सशस्त्र प्रहरीका ३५ हजार सुरक्षाकर्मीलाई गरी झन्डै सवा दुई अर्ब रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरेको जनाएको छ।

सुरक्षाकर्मीमा कोरोनाभाइरस

नेपाली सेनाले पनि कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि खटिएका सेनाका लागि ९६ करोड रुपैयाँ माग गरेको जनाएको छ।

जसको बारम्बार ताकेता गरिएको तर हालसम्म अर्थ मन्त्रालयले रकम निकासा नगरेको ती निकायहरूले जनाएका छन्।

सरकारको निर्णयमा उनीहरूको परिचालन अनुसार दैनिक ३ सयदेखि शत प्रतिशतसम्म भत्ता दिने उल्लेख छ।

मन्त्रिपरिषद्को गत वर्ष चैत्र १६ गतेको बैठकले कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो।

नेपाल प्रहरी

तस्बिर स्रोत, Reuters

जुन भत्ता स्वास्थ्यकर्मीहरूले भने पाइसकेका छन्।

मापदण्ड बन्नै बाँकी

सुरक्षाकर्मीहरू लकडाउनको कार्यान्वयन, क्वारन्टीन र आइसोलेशन सेन्टरको व्यवस्थापन तथा शव गाड्ने तथा जलाउनेदेखि सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको खोजीजस्ता काममा परिचालन गरिएका थिए।

सहसचिव शर्माले कसले पाउने भन्ने बारेमा मापदण्ड समेत बनाउनुपर्ने अवस्था रहेको बताएका छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space

उनले भने, "सबै सुरक्षाकर्मीले पाउने भन्ने हैन। स्वास्थ्यकर्मीलाई मापदण्ड बनाएर भत्ता दिएजस्तै सुरक्षाकर्मीलाई कति समयसम्म खटिएको, कुनकुन काममा खटिएको जस्ता कुरा तोकेर भत्ताको मापदण्ड बनाउनुपर्छ। त्यो काम पनि गर्दै छौँ।"

सेना

तस्बिर स्रोत, RSS

काममै खटिएका नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाका गरेर पाँच हजारभन्दा बढी सुरक्षाकर्मी कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेको बताइएको छ।

दशैँ, तिहार र छठजस्ता पर्व नजिकिएका बेला भत्ता पाउने आशामा सुरक्षाकर्मी रहेका देखिन्छन्।

सङ्क्रमणसँग जुझ्दै काम गरिरहेका सुरक्षाकर्मीले बेलामै भत्ता पाए उनीहरूको मनोबल बढने सुरक्षा अधिकारीहरू बताउँछन्।