भारत-चीन विवाद: मोदी भन्छन् मृत्यु भएका सैनिकको बलिदान खेर जाने छैन

मोदी

तस्बिर स्रोत, Gregory sysoyev

Published

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित हिमालय क्षेत्रमा भएको चिनियाँ सैनिकसँगको लडाईँमा कम्तीमा २० सैनिकको बलिदान त्यसै खेर नजाने बताएका छन्।

'चिनियाँहरूसँग लड्दै हाम्रा सैनिकहरूले सहादत प्राप्त गरेकोमा भारतले गर्व' गर्ने मोदीले बताएका छन्।

प्रधानमन्त्री मोदीको भनाइ उदृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, "हामीले सधैँ मतभेद विवाद नबनोस् भनेर प्रयास गर्‍यौँ। हामी कहिल्यै पनि कसैलाई उक्साउँदैनौँ। तर हामी आफ्नो देशको अखण्डता र सम्प्रभुतासँग सम्झौता पनि गर्न सक्दैनौँ। समय आएको बेला हामीले देशको अखण्डता र सम्प्रभुता रक्षा गर्नका लागि आफ्नो शक्तिको प्रदर्शन गरेका छौँ।"

काँटी सहितका डन्डा, ब्याट तथा लाठ्ठीको प्रयोग सैनिकहरूले उक्त झडपमा गरेका विवरण आएका छन्।

गोली भने नचलेको बताइएको छ।

दोषारोपण

उक्त झडपलाई लिएर दुवै पक्षले एक अर्कालाई दोषारोपण गरेका छन्।

यो कश्मीर क्षेत्रमा पछिल्लो ४५ वर्ष यता दुवै पक्षबीच मानवीय क्षति हुने गरि भएको पहिलो भिडन्त हो।

अझै पनि केही भारतीय सैनिकहरू हराइरहेको ठानिएको छ।

झडप क्षेत्र

तस्बिर स्रोत, Getty Images

भारतीय सेनाले चीनतर्फ पनि क्षति भएको बताएको छ तर बेइजिङ्ले कुनै विस्तृत विवरण दिएको छैन।

भारतीय समाचार संस्था एएनआइका अनुसार मोदीले भारतले शान्ति चाहेको तर उक्साएमा उपयुक्त जवाफ दिन सक्षम रहेको पनि उल्लेख गरेका छन्।

'भारतद्वारा संयमता प्रदर्शन'

दिल्लीस्थित बीबीसी न्यूजकी संवाददाता गीता पाण्डेले पछिल्लो समय भारतका नेताहरूको भनाइबाट भारतले संयमता प्रदर्शन गरेको देखिने बताएकी छन्।

उक्त हिंसक झडप भएको २४ घण्टापश्चात् भारतीय सरकारको तर्फबाट पहिला टिप्पणीहरू आएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी तथा उनका रक्षा र गृहमन्त्रीहरूले आफ्ना शब्दको चयन सोचविचारपूर्ण रूपमा गरेको पाण्डे बताउँछिन्।

अरू बेला चर्का टिप्पणी गर्न नहिच्किचाउने मोदी तथा उनका मन्त्रीहरूले आफ्ना सार्वजनिक सन्देशहरूमा अत्यन्त संयमता प्रदर्शन गरेको र मुख्यतया मारिएका सैनिकप्रति गहिरो वेदना प्रकट गर्नमा आफूहरूलाई सीमित बनाएको उनले बताइन्।

प्रधानमन्त्री मोदीले उक्साएको खण्डमा उचित जबाफ दिन नहिच्किचाउने त बताए तर त्यो टिप्पणी बेइजिङ्लाई चेतावनी भन्दा पनि उनकै घरेलु प्रतिद्वन्द्वी तथा समर्थक तर्फ लक्षित रहेको पाण्डे ठान्छिन्।

भारत तथा चीनका विदेशमन्त्रीबीच कुराकानी

भारत तथा चीनका विदेशमन्त्रीहरूले हिमालय क्षेत्रमा भएको झडपबारे एकअर्काप्रति विरोध जनाएका छन्।

तर भारतका एस जयशंकर तथा चीनका वाङ् यी बीच भएको फोन सम्पर्कमा अवस्थालाई थप विग्रन नदिनेबारे दुवैले वाचा गरेको बताइएको छ।

भारतीय विदेशमन्त्रीले चीनले भारतीय भूभागभित्र संरचना बनाउन खोजेको आरोप लगाएका छन् भने चिनियाँ विदेशमन्त्रीले चाहिँ भारतीय फौजले पहिले आक्रमण गरेको आरोप लगाएका छन्।