संसद्‍मा बोल्न यी नेताहरू कसरी तयारी गर्छन्

विन्दा पाण्डे

तस्बिर स्रोत, Binda Pandey/Facebook

तस्बिरको क्याप्शन, विन्दा पाण्डे
    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

राज्यका तीन प्रमुख अङ्गमध्ये कानुन बनाउने काम गर्ने संसद्ले सरकारले गरेका गलत कामको खबरदारी पनि गर्ने गर्छ। त्यसका लागि कुनै कानुन बन्नुअघि विधेयकबारे छलफल गर्ने वा सरकारका कामबारे जनचासो र सरोकारका विषयलाई जनप्रतिनिधिले सडकदेखि संसद्सम्म पुर्‍याएर सार्वजनिक बहसमा ल्याउँछन्।

सडकका आवाज संसद्‌मा पुर्‍याउन महत्त्वपूर्ण भूमिका हुने उनीहरूले प्रश्न उठाउनका लागि कसरी तयारी गर्छन्? तयारीको प्रक्रिया कस्तो रहन्छ?

हामीले सत्तारुढ र प्रतिपक्षी फरकफरक पार्टीका केही सांसद्हरूसँग उनीहरूको अनुभवबारे प्रश्न गरेका छौँ।

सत्तारूढ दल नेकपाकी सांसद विन्दा पाण्डे संसद् वा संसदीय समितिहरूमा कुनै विषयमा छलफल हुँदा सधैँ उत्ति नै अध्ययन आवश्यक नपर्ने बताउँछिन्।

कुनै खास विधेयकबारे छलफल हुँदा निकै अध्ययन गर्नुपरेको अनुभव सुनाउने उनी कतिपय सामाजिक विषयमा त अध्ययनबिना आफूलाई जानकारी छ भने प्रस्तुत हुने बताउँछिन्।

'विषयमा राम्रो जानकारी छ भने मात्रै बोल्छु'

“रेडियोधर्मी पदार्थसम्बन्धी विधेयकबारे छलफल हुँदा मैले धेरै अध्ययन गरेँ र विज्ञहरूसँग पनि त्यसको आवश्यकता के र कति भन्नबारे जिज्ञासा राखेँ,” पाण्डेले भनिन्।

“कतिपय विधेयकमा अध्ययन गर्न पाएको छैन भने म कम जानकारीका आधारमा संसद्‌मा बोल्दिनँ। आफूसँग जानकारी र आत्मविश्वास भएको विषयमा चाहिँ बोल्छु।”

सन्दर्भसामग्रीका रूपमा पुस्तकहरूको अध्ययन गर्ने भए पनि पत्रपत्रिकामा पछिल्लो समय धेरै भर नपर्ने उनले बताइन्।

‘प्राविधिक विषय बाहेकमा तयारी गर्नुपर्दैन’

सत्तारूढ दलकै सांसद रामनारायण बिडारी भने प्राविधिकबाहेक अन्य विषयमा बोल्न तयारी गर्नुनपर्ने बताउँछन्।

रामनारायण बिडारी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, रामनारायण बिडारी

“कुनै एकदमै प्राविधिक विषय छ र त्यसमा आफूलाई धेरै जानकारी छैन भने त्यसबारे अध्ययन र तयारी गर्ने हो नभए खासै पर्दैन,” बिडारीले बीबीसीसँग भने, “धेरैजसो समाजमा घटेका कुराहरू संसद्‌मा उठ्छन्। त्यसमा हाम्रो अनुभव र पहिलैदेखिको भोगाइ र बुझाइ हुन्छ भने त्यसमा के तयारी गरिरहनुपर्छ?”

सेफगार्ड्स, एन्टी-डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे धारणा बनाउनका लागि भने आफूमातहत काम गर्ने प्रशिक्षार्थी विद्यार्थीलाई अध्ययन गर्न र सन्दर्भसामग्री सङ्कलन गर्न लगाएको उनले बताए।

“जस्तै हालैको उदाहरण दिने हो भने प्रत्यायन (अक्रेडिटेशन) विधेयकबारे छलफल गर्नका लागि पनि मैले जुनिअर अधिवक्ताहरूको सहयोग लिएँ। यस्ता प्राविधिक विषयमा तयारी गर्छु, तर अधिकांश सामाजिक मुद्दाबारे उठेका विषयमा त देखे भोगेकै कुरा गर्ने हो,” बिडारीले भने।

उनी वरिष्ठ अधिवक्ता पनि हुन्।

'रिहर्सल गर्दिनँ, टाइमर राख्छु'

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता गगन थापा भने अध्ययन, भोगाइ, सार्वजनिक मञ्चहरूमा बोल्दै आएको विगतदेखिको अनुभव सबै कुराले आफ्नो प्रस्तुति बलियो बनाउने ठान्छन्।

“कुनै पनि विषयप्रति अध्ययनको भोकले धेरै फरक पार्छ। म कुनै विषयमा बोल्नुअघि त्यसबारे पर्याप्त जानकारी राख्न खोज्छु। विज्ञहरूसँग फोन, इमेल वा भेटेरै कुरा गर्छु। अनि समय अनुसार कुनलाई कति प्राथमिकता दिने भनेर नोट गर्छु,” थापाले बीबीसीसँग भने।

गगन थापा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, गगन थापा

विज्ञको रायसुझाव लिन नेपालमा धेरै सजिलो रहेको अनुभव थापाको छ।

“विगतमा परिचय नै नभएका व्यक्तिहरूलाई पनि यो प्रयोजनका लागि यो विषयमा बताइदिनीस् न भन्यो भने सहजै सहयोग गर्नुहुन्छ,” थापाले भने, “मैले धेरैपटक त्यसरी सहयोग लिएर पनि विभिन्न विषयबारे अध्ययन गरेर संसद्‌मा बोलेको छु।”

संसद्‌मा बोल्नकै लागि भनेर पहिलै ‘रिहर्सल’ नगर्ने तर नोटहरू लेखेर लैजाने र समय सकिन लागेको थाहा पाउन अनिवार्य रूपमा मोबाइलमा टाइमर राखेर बोल्ने गरेको उनले बताए।

उनले संसद्‌मा बोल्न एउटा रिसर्च विङ्गको व्यवस्था हुनुपर्ने र त्यसका आधारमा सांसद्हरूलाई अनुसन्धान गर्न र तथ्य खोज्न सहयोग पुग्ने बताए।

'भोगेको विषयमा अध्ययन गर्नुपर्दैन'

नेपालको नयाँ नक्सालाई निशान छापमा समेट्न संविधान संशोधन गर्ने प्रक्रियाका बेला निकै राम्रो बोलेको भनी प्रशंसा पाएका जनता समाजवादी पार्टी नेपालका नेता तथा सांसद उपेन्द्र यादवले सामाजिक मुद्दामा धेरै अध्ययन आवश्यक नपर्ने बताए।

“पिछडिएको वर्गले पाएको पीडाबारे बोल्न कुनै अध्ययन गरिरहनु पर्दैन। हामीले वर्षौँदेखि भोगिरहेको कुरा स्वत:स्फूर्त आउँछ।"

उपेन्द्र यादव

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, उपेन्द्र यादव

तर उनले संसद्‌मा बोल्ने विषयबारे पार्टीभित्र छलफल हुने उनले बताए।

यादवले भने, “त्यसबाहेक विषय हेरेर विज्ञहरूसँग छलफल गर्ने, सन्दर्भसामग्री हेर्ने अनि आफ्नो समयभित्र यी महत्त्वपूर्ण कुरा छुटाउँदिनँ भनेर दिमाग बनाउनुपर्छ।”

‘पार्टीभित्र छलफल’

संसद्‌मा आफ्ना कुरा राख्नुअघि आफूले अनिवार्य रूपमा पार्टीभित्र छलफल गर्ने गरेको नेमकिपाका सांसद प्रेम सुवाल बताउँछन्।

उक्त दलबाट उनी मात्र सांसद छन्। तर छलफलमा उनी सक्रिय रूपमा सहभागी हुन्छन्।

जनसरोकारका विषयमा नियमित रूपमा आफ्नो धारणा राख्ने गरेका सुवाल आफ्नो पार्टीले संसद्‌मा प्रायः लिखित विचार राख्ने गरेको बताउँछन्।

प्रेम सुवाल

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, प्रेम सुवाल

पार्टीको नीतिअनुसार नै प्रखर प्रतिपक्षको भूमिका निर्वाहका लागि लिखित रूपमा आफ्ना भनाइ राख्ने र त्यसका लागि पहिला पार्टीभित्र अनि आवश्यक परे विषयका जानकारहरूसँग कुरा गर्ने बताउँछन्।

“प्रतिपक्षीले उठाएका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने परिपाटी हाम्रोमा छैन। तर पनि आफूले राखेका कुरा इतिहास पल्टाएर हेर्दा पनि बलियो थियो भन्ने होस् भनेर हामी पार्टीभित्र छलफल गरेर जनता र देशको हितमा हुने कुराहरू राख्छौँ,” सुवालले भने।

“एकदमै महत्त्वपूर्ण विषयका लागि पत्रपत्रिकाको अध्ययन गर्ने र विज्ञसँग छलफल पनि गर्ने गर्छु।”