जोर्ज फ्लोइडको हत्याका आरोपित प्रहरीसँग १२.५ लाख डलर धरौटी माग

तस्बिर स्रोत, Reuters
अश्वेत पुरुष जोर्ज फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारी पहिलो पटक अदालतमा प्रस्तुत भएका छन्।
अदालतले डेरेक शोभिनसँग १२.५ लाख डलर धरौटी मागेको छ।
आरोपहरूको गम्भीरता र जनआक्रोशलाई ध्यानमा राख्दै १० लाखभन्दा बढी धरौटी माग गरिएको अभियोजनकर्ताहरूले बताएका छन्।
डेरेक शोभिनमाथि नियतविना हत्या गरेको लगायत तीनवटा आरोप लगाइएको छ भने अन्य तीन प्रहरी अधिकारीमाथि हत्यामा सघाएको आरोप लगाइएको छ।
मे महिनामा भएको फ्लोइडको मृत्युको घटनाले विश्वव्यापी प्रदर्शनहरू निम्त्याएको छ भने प्रहरीमा पुनर्संरचनाको माग भइरहेको छ।
श्वेत व्यक्ति शोभिनले मिनिअपलिसमा मे २५ तारिखमा फ्लोइडको गर्दनमाथि करिब नौ मिनेटसम्म टेकेका थिए।
टेलिकन्फरेन्समार्फत् सोमवार अदालतमा प्रस्तुत भएका शोभिनले कुनै प्रकारको आग्रह गरेनन्।

तस्बिर स्रोत, Pool
१५ मिनेट लामो सुनुवाइका क्रममा उनले केही भनेनन्। हातमा हतकडी लगाइएको अवस्थामा उनी सानो टेबुलमा बसिरहेका थिए।
न्यायाधीशले निःशर्त १२.५ लाख डलर धरौटी अथवा १० लाख धरौटी र फ्लोइडका परिवारलाई भेट्न नमिल्ने तथा हातहतियार बुझाउनुपर्ने र मुद्दाको सुनुवाइ हुन्जेल सुरक्षा निकायमा काम गर्न नपाइने शर्त राखेका थिए।
शोभिनका वकिलले धरौटी बापत माग गरिएको रकमलाई लिएर कुनै आपत्ति जनाएनन्।
कैयौँ पटक स्थानान्तरण गरिएपछि ४४ वर्षीय शोभिन हाल ओक पार्क हाइट्सस्थित एक कारागारमा राखिएका छन्।
अर्को पटक जुन २९ तारिखमा उनलाई अदालतमा उपस्थित गराइनेछ।
यसैबीच, फ्लोइड पहिला बस्ने गरेको टेक्ससको ह्युस्टनस्थित एक गिर्जाघरमा अन्तिम दर्शनका लागि छ घण्टा उनको शव राखिएको छ।

तस्बिर स्रोत, Getty Images
मङ्गलवार ह्युस्टनमा अन्तिम संस्कार गर्ने कार्यक्रम छ। मिनिअपलिस र फ्लोइड जन्मेको नर्थ क्यारोलाइना राज्यमा स्मृति कार्यक्रम भइसकेका छन्।
राष्ट्रपति पदका डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले फ्लोइडका आफन्तलाई सोमवार भेटेका छन्।
बाइडनले पीडित परिवारको पीडा र चिन्तालाई सुनेको फ्लोइडको पारिवारिक प्रवक्ता बेन्जमिन क्रम्पले बताएका छन्।
मास्क र पन्जा लगाएर सामाजिक दूरी कायम राख्दै मानिसहरूले श्रद्धाञ्जलि दिइरहेका छन्।
गिर्जाघरमा एक पटकमा १५ जनालाई मात्रै जान दिइएको छ।
फ्लोइडको मृत्युपछि अमेरिकामा जातीयताविरोधी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गर्दैछ।
वाशिङ्गटन डीसी, न्यूयोर्क, शिकागो, लस एन्जलस र सान फ्रान्सिस्को लगायतका थुप्रै शहरमा ठूल्ठूला र्यालीहरूको आयोजना गरिएको छ।





















