ऋषि कपूर: भारतीय अभिनेताको ६७ वर्षको उमेरमा निधन

ऋषि कपूर

तस्बिर स्रोत, Getty Images

Published

भारतका एक प्रख्यात अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीवार बिहान निधन भएको छ।

मङ्गलवार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो।

ऋषि कपूरका दाइ रणधीर कपूरले उनको निधन भएको बीबीसीसँग पुष्टि गरेका छन्।

क्यान्सरबाट पीडित अर्का प्रख्यात अभिनेता इरफान खानको पनि बुधवार निधन भएको थियो।

रणधीर कपूरले बुधवार भनेका थिए, "ऋषि अस्पतालमा क्यान्सरसँग जुधिरहेका छन्। उनलाई सास फेर्न समस्या भएको थियो। त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो।"

ऋषि कपूरलाई फेब्रुअरी महिनामा दुई पटक अस्पताल भर्ना गरिएको थियो।

उनी कलाकार राज कपूरका माहिला छोरा हुन्। रणधीर कपूर जेठा दाइ हुन् भने ऋतु नन्दा र रिमा जैन बहिनी र राजीव कपूर भाइ हुन्।

ऋषि कपूर परिवार

तस्बिर स्रोत, Getty Images

ऋषि कपूरले सन् १९७३ मा 'बबी' नामक चलचित्रबाट आफ्नो व्यावसायिक अभिनय यात्रा आरम्भ गरेका थिए।

बाल्यकालमा उनले 'श्री ४२०' र 'मेरा नाम जोकर'मा पनि अभिनय गरेका थिए।

ऋषि कपूरले काम गरेको अन्तिम चलचित्र 'द बडी' हो।

उनले अर्को चलचित्र दीपिका पादुकोणसँग गर्ने घोषणा गरेका थिए।

तर हलीवुडमा निर्मित 'द इन्टर्न' मा आधारित उक्त चलचित्रमा उनले काम भने गर्न पाएनन्।

कुन रोगसँग लडिरहेका थिए ऋषि कपूर

ऋषि कपूर विगत दुइ वर्षदेखि क्यान्सरसँग लडाइ गरिरहेका थिए।

ऋषि कपूर

तस्बिर स्रोत, Getty Images

सन् २०१८ मा ऋषि कपूर क्यान्सरको उपचारका लागि अमेरिकाको न्यूयोर्क गएका थिए।

त्यहाँ थुप्रै महिना उपचार गरेपछि उनी भारत फर्केका थिए।

भारत फर्किसकेपछि पनि उनी पटक पटक अस्पताल गइरहेका थिए।

ऋषि कपूरका नजिकका मित्र प्रख्यात भारतीय अभिनेता अमिताभ बच्चनले ट्वीटमा भनेका छन्, "ऋषि कपूर रहेनन्। उनले अलबिदा भने। यो असह्य छ।"