इरफान खान: चर्चित भारतीय अभिनेताको मुम्बईमा निधन

तस्बिर स्रोत, Getty Images
प्रसिद्ध बलीवुड अभिनेता इरफान खानको निधन भएको छ।
स्वास्थ्य बिग्रिएपछि मङ्गलवार उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो।
उनी क्यान्सरबाट पीडित थिए। तर उनलाई सघन उपचार कक्षमा भर्ना गरिनुको कारण थाहा नभएको बीबीसी हिन्दीले जनाएको छ।
खानले पानसिंह तोमर, मकबूल, सलाम बाम्बे, द लन्च बक्स, लाइफ अफ पाई, जुर्यासिक वर्ल्ड, स्लमडग मिलीअनेअरजस्ता बलीवुड र हलीवुडमा बनेका चर्चित चलचित्रमा अभिनय गरेका छन्।
उनको अभिनयको धेरैले प्रशंसा गरेका छन्। उनको जन्म सन् १९५७ मा भएको बताइएको छ।
'दृढ आत्मविश्वास भएका व्यक्ति'
इरफान खानको मृत्यु भएपछि उनका प्रवक्ताले एउटा विज्ञप्ति प्रकाशित गरेका छन्।
"मलाई यकिन छ कि मैलै हारिसकेको छु-अभिनेता इरफान खानले सन् २०१८ मा आफ्नो नोटमा यो मन छुने कुरा लेखेका थिए। क्यान्सर रोग लागेपछि उनी सङ्घर्ष गरिरहेका थिए। आज हामी उनीबीच नरहेको दुख:द खबर हामी दिइरहेका छौँ," विज्ञप्तिमा उल्लेख छ।

तस्बिर स्रोत, Getty Images
"इरफान खान दृढ आत्मविश्वास भएका व्यक्ति थिए जसले अन्तिम समयसम्म सङ्घर्ष गरे। उनले हामीलाई सधैँ प्रेरणा दिए। २०१८ मा असामान्य क्यान्सर भएको थाहा भएपछि उत्पन्न चुनौती उनले डटेर सामना गरेका थिए र आफ्नो जीवनलाई सम्हालेका थिए। सधैँ असाध्यै माया गर्ने परिवारलाई छाडेर उनी जन्नत गएका छन्।"
"उनको परिवारले उनलाई एकदमै माया गर्यो। उनले एउटा विरासत छाडेर गएका छन्। हामी सबै उनको आत्माको शान्तिको लागि प्रार्थना गर्छौँ।"
इरफान खानको रोग
यसअघि उनका प्रवक्ताले विज्ञप्तिमार्फत् खानलाई 'पेटको सङ्क्रमण' भएको र चिकित्सकको निगरानीमा रहेको जानकारी दिएका थिए।
इरफान खान 'न्यूरोएन्डोक्राइन ट्यूमर' बाट पीडित थिए। यो रोगले हर्मोन उत्पादन गर्ने ग्रन्थिहरूमा असर गर्छ।
गत वर्ष उनी लन्डनमा उपचार गराएर फर्किएका थिए।
त्यसयता उनको कोकिलाबेन अस्पतालमा चिकित्सकहरूको निगरानीमा उपचार चल्दै आएको थियो।
'अङ्ग्रेजी मीडीअम' चलचित्रमा काम गर्ने क्रममा पनि उनको स्वास्थ्य बिग्रिएको महसुस गरिएको बताइएको छ।
उक्त चलचित्रको छायाङ्कन कैयौँ पटक रोक्नुपरेको थियो। इरफानले स्वस्थ महसुस गरेपछि कतिपय दृश्यको छायाङ्कन गरिएको थियो।
इरफान खानलाई सन् २०११ मा उनको अभिनयको सम्मानार्थ भारत सरकारले पद्मश्री उपाधि उपाधिबाट विभूषित गरेको थियो।
आमाको निधन
केही समयअघि इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो।
लकडाउनका कारण इरफान खानले आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएका थिएनन्। भिडिओ कलबाट उनले धार्मिक विधिअनुसार गरिएको अन्तिम संस्कारमा सहभागिता जनाएको बताइएको छ।
दुई वर्षअघि खानको रोग निदान भएको थियो।
त्यसपछि उनी आफैँले ट्विटरबाट आफूलाई लागेको रोगबारे जानकारी दिएका थिए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
त्यस बेला उनले ट्वीट गरेका थिए, "जिन्दगीमा अकस्मात् कहिलेकाहीँ यस्तो हुन्छ जसले तपाईँलाई अघि लिएर जान्छ। मेरो जिन्दगीका पछिल्लो केही समय यस्तै रह्यो। मलाई न्यूरोएन्डोक्राइन ट्यूमर नामक रोग लाग्यो। तर मेरो आसपास भएका मानिसको प्रेम र शक्तिले मलाई आशा जगाइदिएको छ।"
रोगबारे थाहा भएपछि उनी उपचारका लागि लन्डन गएका थिए। एक वर्ष त्यहाँ उपचार गराएर उनी मार्च २०१९ मा भारत फर्किएका थिए।
शोक
खानको निधनमा भारत तथा अन्य देशबाट धेरैले शोक व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा धेरैले उनको मृत्युमा दु:ख व्यक्त गरेका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खानको निधनका कारण चलचित्र क्षेत्रमा ठूलो क्षति भएको जनाएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
चर्चित अभिनेता अमिताभ बच्चनले खानको निधनले ठूलो रिक्तता सिर्जना गरेको भन्दै खान प्रतिभाशाली र शालीन व्यक्ति भएको उल्लेख गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3
नेपाली रङ्गकर्मी सुनील पोखरेलले पनि फेसबुकमा खानलाई आफूले सधैँ सम्झिरहने लेखेका छन्।
भारतमा अभिनयको प्रशिक्षण लिँदा उनीहरूबीच मित्रता गाँसिएको थियो।
सामग्री उपलब्ध छैन
थप Facebook मा हेर्नुहोस्अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन।Facebook पोस्ट समाप्त
सन् २०१० मा काठमाण्डूमा आयोजित एउटा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन खान नेपाल आएका थिए।




















