नेकपाः सत्ता नेतृत्व परिवर्तनको चर्चा चलिरहँदा सत्ताधारी दलका नेताहरू के चाहन्छन्

तस्बिर स्रोत, PMO/RSS
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक कलह उत्कर्षमा पुगेको र सत्ताको नेतृत्व परिवर्तनबारे छलफल नै सुरु भइसकेका विवरण आइरहँदा पार्टीका केहि नेताहरूले यो विषयमा फरकफरक प्रतिक्रियाहरू दिइरहेका छन्।
केही नेताले सत्ता वा पार्टीको नेतृत्व हेरफेरबारे कुनै पनि कुरा नभएको बताएका छन् भने केहीले प्रधानमन्त्रीले निकास दिनुपर्ने माग टड्कारो रूपमा आएको बताएका छन्।
प्रस्तुत छ केही नेताहरूसँग गरिएका कुराकानीको सम्पादित अंशः
झलनाथ खनाल, वरिष्ठ नेता
यो समस्याको समाधान के हुन्छ भन्ने बारेमा संस्थागत रूपमा खोज्नुपर्छ। संस्थागत रूपमा खोज्ने भनेको सचिवालय बैठक, स्थायी कमिटीको बैठक नै हो।
स्थायी कमिटीको बैठक आयोजना गरेर सबै साथीहरूको राय नबुझीकन, राय प्रकट हुन नदिई अरू विभिन्न कोठामा गरिने छलफलहरू, विचारविमर्शले केही भूमिका खेल्न सक्दैनन्।
चाँडोभन्दा चाँडो बैठक बोलाउनुपर्छ, बैठकबाटै समस्याको समाधान निस्कन्छ।

तस्बिर स्रोत, facebook/jnkhanal
सचिवालयका सदस्यहरूसँग हाम्रो छलफल भइरहेको छ, दुवै अध्यक्षले चाँडोभन्दा चाँडो बैठक बोलाउँदा राम्रो हुन्छ।
होइन भने कुनै एक अध्यक्षले बोलाउँदा पनि हुन्छ। बैठक बोलाउने दुवै अध्यक्षलाई अधिकार छ, एक जनालाई पनि छ।
मैले समाधानका कुरा तपाईँसमक्ष भन्नुभन्दा पनि पार्टी बैठकमा भन्नुपर्छ। अहिलेका जे समस्या छन् ती समस्याको समाधानका निम्ति कमरेड केपी ओलीले निकास दिनुको विकल्प छैन।
निकास दिनु भनेको राजीनामा दिनुपर्छ भन्ने हो भनी सोधिएको प्रश्नमा खनालले भने, "यसबारे अहिले म केही भन्दिनँ।"
सुवास नेम्वाङ, स्थायी कमिटी सदस्य
औपचारिक रूपमा त्यस्तो कुनै छलफल भएको छैन। बैठकहरू भएका छैनन्। तर अनौपचारिक रूपमा पार्टीका साथीहरू विभिन्न तहमा छलफल गरिराख्नुभएको छ।
अहिले जुन समस्या देखिएको छ त्यसको समाधान कसरी गर्ने भन्नेमा उहाँहरू लागिराख्नुभएको छ।
जुन ढङ्गले प्रश्नहरू उठिरहेका छन् त्यसलाई समाधान नगर्ने हो भने यो एउटा व्यक्तिसँग मात्रै सम्बन्धित कुरा भएन, सिङ्गो पार्टीकै कुरा भयो, सिङ्गो पार्टीलाई अप्ठ्यारो पर्ने कुरा भयो।

आउने चुनावमा पार्टी कसरी जाने भन्नेसम्मका कुरा भए। त्यसैले यो गम्भीर कुरातर्फ सबैको ध्यान गएको छ र सबैजना यसमा लागेका छन्।
प्रधानमन्त्री पार्टी अध्यक्ष र अर्का अध्यक्ष तथा वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरू निरन्तर छलफलमा हुनुहुन्छ।
खगराज अधिकारी, पोलिट ब्यूरो सदस्य
अहिले छलफलमा रहेको भनेको पार्टीलाई आगामी दिनमा अझै सुदृढ र बलियो कसरी बनाउने भन्ने एउटा विषय छ।
मुख्य विषय चाहिँ कोभिड-१९ विरुद्ध अहिलेसम्म सरकारले गरेका कामकारबाही सकारात्मक छन्।
मन्त्रिपरिषद्मा हेरफेर गर्ने प्रधानमन्त्रीको कुरा हो, छलफल त हुन्छ।

तस्बिर स्रोत, Facebook/Khagaraj
छलफल त गर्न पाइयो खुला छ समाज। जुन छलफलको अर्थ हुन्छ त्यतैतिर ध्यान जान्छ।
सत्ताको नेतृत्व परिवर्तनबारे छलफल, तर्क वा कसैले सामाजिक सञ्जालमा भनेका कुरा गर्नुहुन्छ भने बुद्धिविलास गरिरहने नै हाम्रो समाज हो। तर वास्तविकता त्यस्तो छैन।
रघुजी पन्त, स्थायी कमिटी सदस्य
अहिले त कुनै पनि विषय टुङ्गिएको छैन। अस्ति माधवकुमार नेपालनजिक स्थायी कमिटी सदस्यहरूको बैठकमा अहिले केपी कमरेडबाट पार्टी अध्यक्षको रूपमा पनि राम्ररी काम भएन र सरकार पनि राम्रोसँग चलेन।
त्यसैले उहाँले दुवै ठाउँबाट विकल्प दिनुपर्छ भन्ने खालको थियो।
स्थायी कमिटी छलफल भएर सबै समस्याको समाधान निस्कनुपर्छ भन्ने छ। तर माधवकुमार नेपाल लगायत नेताहरूसँग छलफल नगरी एकलौटी ढङ्गले अघि बढ्न खोज्दा अहिलेका समस्या देखिएका हुन्।

तस्बिर स्रोत, Facebook/Raghuji Panta
सरकार पनि विवादमा नराम्ररी फसेको छ, पार्टी पनि गतिशील ढङ्गले अगाडि बढ्न सकेको छैन।
सचिवालयको बैठकमा समाधानको सूत्र लिएर स्थायी कमिटी बैठकमा आउनुभयो भने आउनुभयो, नभए स्थायी कमिटी बैठक टार्नुभएन। त्यसबाट हामी निकास दिन्छौँ भन्ने सदस्यहरूको कुरा छ।
हाम्रो भनाइ भनेको सबै कुरा प्रधानमन्त्रीसँगै जोडिएकोले के कसरी निकास दिने, कसरी पार्टीलाई एकताबद्ध बनाएर लाने भन्ने कुरामा उहाँले निकास दिनुपर्छ।
हिजो माधवकुमार नेपाल र प्रधानमन्त्रीज्यूबीच बालुवाटारमा कुरा भएको थियो। त्यसपछि मैले माधव नेपालजीलाई सोध्दा त्यस्तो ठोस कुनै कुरा नभएको उहाँले भन्नुभयो। आन्तरिक छलफलमै बितिरहेको छ, कुनै सहमति भइसकेको अवस्था छैन।
सूर्य थापा, केन्द्रीय सदस्य
यो सत्तारूढ पार्टी हो नि त।

तस्बिर स्रोत, Facebook/Surya Thapa
सामान्य अलिअलि आआफ्ना कुरा भइरहेका छन्। अहिले कुनै औपचारिक छलफल भएको छैन।




















