कोरोनाभाइरस: स्वदेश फर्किएका नेपाली खोज्न किन मुस्किल

नेपाली कामदार

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अहिलेसम्म नेपालमा फेला परेका कोभिड-१९ सङ्क्रमित पाँचै जना विदेशबाट फर्किएकाहरू रहेको अधिकारीहरू बताउँछन्
    • Author, सृजना श्रेष्ठ
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली
  • Published

विश्वमा कोरोनाभाइरसको सङ्क्रमण सुरू भएयता पछिल्लो तीन महिनामा तीन लाख भन्दा बढी नेपालीहरू देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको तथ्याङ्कले देखाउँछ।

भारत र नेपालमा लकडाउन सुरु भएपछि पनि भारतबाट मात्रै थप दशौँ हजार मानिसहरू नेपाल फर्किएका बताइन्छ। आवश्यक परेमा ती नेपाली खोज्न सकिन्छ? यी प्रश्नको जवाफ सजिलो छैन।

नेपालमा कोरोनाभाइरसको सङ्क्रमण देखिएका पाँचै जना व्यक्तिहरू विदेशबाट फर्किएको पुष्टि भइसकेको छ।

कोरोनाभाइरसको सङ्क्रमण रोक्न सरकारले नेपाल फर्किएका कतिपय व्यक्तिको ठेगाना पत्ता लागाएको छ तर सबै सम्पर्कमा नआएको बताइएको छ।

ज्यानुअरी महिनामा १ लाख २२ हजार ६२९, फेब्रुअरीमा १ लाख १२ हजार ३४३ र मार्चमा ६५ हजार ८४५ नेपालीहरू हवाई मार्ग मार्फत् नेपाल फर्किएको तथ्याङ्क छ।

तर विमानस्थलमा उनीहरूको टेलिफोन सम्पर्क जस्ता विवरण सङ्कलन नगरिएकाले उनीहरू कहाँ-कहाँ छन् भनी पत्ता लगाउन सजिलो छैन।

'विदेशबाट फर्किएका नेपालीलाई फारम नभराउनु ठूलो भूल'

विश्वमा कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि नेपालमा पनि यसको रोकथामका लागि सरकारले विभिन्न देशका नागरिकहरूलाई 'अन अराइभल' भिसामा रोक लगायो।

तर आफ्नै नागरिकहरूको सम्पर्क विवरण अन्तिमतिर मात्रै सङ्कलन गर्न थालियो।

सुरुमै त्यसमा ध्यान दिन नसक्दा उनीहरू सबैको ठेगाना पत्ता लगाउन निकै कठिन रहेको अधिकारीहरू बताउँछन्।

"विदेशी नागरिकहरूबाट मात्रै कोरोनाभाइरस सर्छ भन्ने सोचेर प्रवेशाज्ञामा कडाइ गरियो तर फर्किएका नेपालीहरूबाट पनि भाइरस सर्न सक्छ भन्ने सोचाइ सरकारले नराख्नु नै ठूलो त्रुटी हो" नाम उल्लेख गर्न नचाहने अध्यागमन विभागका एक कर्मचारीले बीबीसीलाई बताए।

चैत्र ४ गते कतार एअरवेजको विमान मार्फत् नेपाल फर्किएकी एक युवतीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयले दोहाबाट नेपाल फर्किएका व्यक्तिहरूको ठेगाना पहिचान गर्दैछ।

अन्य केही उडानका यात्रुका विवरण प्रहरीलाई उपलब्ध गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले बताएको छ।

तर प्रहरीले पासपोर्टमा रहेको ठेगानाको आधारमा मानिसहरू पत्ता लगाउन कठिन भएको स्वीकारेको छ।

नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीले बीबीसीलाई भने, "पासपोर्टमा भएकै ठेगानाको आधारमा हामीले मानिसहरू पत्ता लगाउने हो तर सबैजना गृह जिल्लामा नै फर्केका छन् भन्ने होइन।"

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

अप्ठेरो के छ ?

यसरी विदेशबाट फर्किएका नेपालीहरूको समयमा विवरण सङ्कलन गर्न नसक्दा र सरकारले उनीहरूलाई क्वारन्टीनमा राख्न नसक्दा कोरोनाभाइरसको सङ्क्रमण फैलिने जोखिम उच्च बन्न पुगेको विज्ञहरू बताउँछन्।

धार्चुला

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, लाखौँ नेपाली भारतमा कार्यरत छन्

"नेपालमा भेटिएका सबै कोरोनाभाइरस सङ्क्रमित विदेशबाट नेपाल भित्रिएको पुष्टि भएको र फर्किएका सबै नेपालीहरूलाई क्वारन्टीनमा राख्न नसकेको अवस्थामा धेरैलाई सर्न सक्ने जोखिम छ" भन्छन् जनस्वास्थ्य अनुसन्धानकर्ता समीरमणि दीक्षित।

नेपालमा अहिले पाँच जनामा मात्र कोरोनाभाइरसको सङ्क्रमण भेटियो भनेर नेपालमा संक्रमणको जोखिमलाई कम आँक्न नहुने उनको भनाइ छ।

उनी थप्छन्, "हामी भाग्यमानी छौँ भन्नुपर्ने अवस्था छ किनकि यस्तो अवस्थामा पनि नेपालमा जम्मा पाँच वटा मात्र सङ्क्रमण भेटिएका छन्। तर बुभ्नु पर्ने कुरा के छ भने नेपालमा कोरोनाभाइरसको जोखिम सकिएको छैन। यो भाइरसको जोखिममा रहेका उमेरका मानिसहरूमा एक पटक सर्‍यो भने सङ्क्रमण रोक्न निकै कठिन हुन्छ।"

यसको थप जोखिमबाट बच्न हरेक वडामा स्वयंसेवक परिचालन गरि कोरोनाभाइसका लक्षण छ कि छैन भनेर पत्ता लगाउनु पर्ने अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ छ।