दिल्ली चुनाव: आम आदमी पार्टीका अरविन्द केजरीवाल तेस्रो पटक मुख्यमन्त्री बन्दै

आम आदमी पार्टी

तस्बिर स्रोत, AFP

Published

भारतको राजधानी दिल्लीको विधानसभाको चुनावमा आफ्नो पार्टीले सानदार जित हासिल गरेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो अर्को कार्यकाल सुरक्षित बनाएका छन्।

यो चुनावमा आम आदमी पार्टी (आप)लाई मतदाताहरूले उल्लेख्य रुपमा समर्थन गरेका छन्।

यो परिणामले केन्द्रको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई ठूलो धक्का दिएको छ जसले गत वर्षको आमचुनाव सानदार रुपमा जितेको थियो।

भाजपाले दिल्लीमा थप पाँच सिट जितेको छ तर अझै पनि ७० मध्ये उसको पकडमा जम्मा ८ वटामात्रै छन्। बाँकी सबै आम आदमी पार्टीले जितेको छ।

चुनावी अभियान

"यो भारत आमाको जित हो," पार्टी कार्यालयमा रहेका आफ्ना समर्थकमाझ केजरीवालले भने।

उनले समर्थकहरूलाई हात हल्लाएर "दिल्लीका जनतालाई प्रेम गर्ने" बताए।

५१ वर्षीय पूर्वकर्मचारी केजरीवाल भ्रष्टाचारविरोधी अभियान गर्दै राजनीतिमा उदाएका थिए।

उनी पहिलोपटक सन् २०१३ मा मुख्यमन्त्री बनेका थिए र त्यसपछि सन् २०१५ मा भारी मतसहित पुन: निर्वाचित भए।

भारतका सरकारी विद्यालयमा सुधार ल्याएको, सुलभ क्लिनिकहरू बनाएको र सस्तोमा पानी र बिजुली उपलब्ध गराएको जस उनलाई जाने गर्छ।

प्रहरी फौजको नियन्त्रण र जग्गासम्बन्धी अधिकार अझै पनि केन्द्र सरकारसँग रहेका बेला उनले राज्यको बृहत् स्वायत्त अधिकारका लागि समेत निरन्तर रुपमा अभियान गर्दै आएका छन्।

"यो केवल मेरो मात्रै जित होइन। राम्रो शिक्षा र स्वस्थ्य उपचार पाइरहेका बालबालिकाका परिवारको जित हो," उनले भने।

आफ्नो पार्टीको जित भगवान हनुमानको आशीर्वादले भएको बताएका केजरीवालले जितपछि पार्टी कार्यालयबाट शहरको केन्द्रमा रहेको हनुमान मन्दिरसम्म गरिएको परेडको नेतृत्व गरेका थिए।

जितपछिको खुसीयाली

तस्बिर स्रोत, Getty Images

भाजपाप्रति आक्रोश

आम आदमी पार्टीको कार्यालयबाहिर जितपछि गरिएको कार्यक्रममा पार्टी कार्यकर्ताहरूले "सुशासन र विकास" बारे गरिएको अभियान अनि "विभाजनकारी राजनीति"बाट टाढा रहने पार्टीको निर्णयले जित दिलाएको बीबीसीलाई बताए।

भाजपाको चुनावी अभियानमा गृहमन्त्री अमित शाहजस्ता उच्चओहोदामा रहेकाहरू पनि मतदातालाई रिझाउन दिल्लीका गल्लीहरूमा उपस्थित भएका थिए। तर त्यसको असर भने कमै परेको देखियो।

पार्टीले चुनावी अभियानमा मुस्लिमहरूको ठूलो बसोबास रहेको दिल्लीको शाहिनवागमा शान्तिपूर्वक भेला भएकाहरूको आलोचना गर्‍यो र आफ्नो हिन्दू राष्ट्रवादी भाषण गर्‍यो।

मोदी र केजरीवाल

तस्बिर स्रोत, EPA, GETTY IMAGES

नयाँ नागरिकतासम्बन्धी विवादास्पद कानुनलाई लिएर हजारौं मानिसहरू शाहिनवागमा विरोधप्रदर्शन गर्दै आएका छन्।

धेरै भारतीयहरूले उक्त कानुनले मुस्लिममाथि विभेद गरेको बताएका छन्।

सन्देश

भारत एउटा सुरक्षित राष्ट्र भएका बेला भारतीय जनता पार्टीको शक्ति प्रदर्शन गर्ने "एकद्वार" को राष्ट्रवादी अभियानले आक्रोश, असुरक्षा र शून्यपन निम्त्याएको धेरैले ठान्छन्।

देश गम्भीर रुपमा आर्थिक मन्दीमा गइरहेका बेला यस्तो रुखो राष्ट्रवादी राजनीतिले ध्यान अन्तै मोड्ने उनीहरू बताउँछन्।

तर के कुराचाहिँ स्पष्ट छ भने प्रधानमन्त्री मोदी भारतका सबैभन्दा लोकप्रिय नेता रहन्छन् र उनको जग धेरै हदसम्म अझै बलियो छ।

"यो केवल मेरो मात्रै जित होइन। राम्रो शिक्षा र स्वस्थ्य उपाचार पाइरहेका बालबालिकाका परिवारको जित हो" अरविन्द केजरीवालले भने।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, "यो केवल मेरो मात्रै जित होइन। राम्रो शिक्षा र स्वस्थ्य उपचार पाइरहेका बालबालिकाका परिवारको जित हो"- अरविन्द केजरीवाल

केजरीवालको जितले विभाजित र हतोत्साही बनाउने विपक्षीको विकल्प छ भन्ने देखाएको छ।

आपको जितले सुशासनले मत ल्याउँछ भन्ने प्रमाणित पनि गरेको छ।