दिल्ली विधानसभा निर्वाचन: दिल्लीमा मतदान सुरु, यसपाली कसले मार्ला बाजी

तस्बिर स्रोत, PRADEEP GUAR/MINT VIA GETTY IMAGES
भारतको राजधानी दिल्लीमा विधानसभाका लागि शनिवार मतदान भइरहेको छ।
बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहनेछ।
यो मदतानको नतिजा दुईदिनपश्चात् आउने छ र त्यहाँको सत्ता कसको हातमा जानेछ भन्ने टुङ्गो लाग्नेछ।
यस अघिको चुनावमा भ्रष्टाचारविरोधी आन्दोलनकारीहरूले स्थापना गरेको एउटा नयाँ दलले दिल्ली विधानसभाका लगभग सबै सिट जितेकाले त्यहाँको चुनावलाई निकै महत्त्वकासाथ हेरिएको छ।
दिल्ली विधानसभामा कुल ७० सिट रहेका छन्। सन् २०१५ मा भएको निर्वाचनमा एउटा नयाँ दल आम आदमी पार्टीले ७० मा ६७ सिट जितेको थियो।

तस्बिर स्रोत, Getty Images
यसपटक चुनावी मैदनमा कुल ६७२ जना उम्मेदवार खडा भएका छन्। तर दिल्लीको सत्ताधारी आम आदमी पार्टी, केन्द्रको सत्ताधारी भारतीय जनता पार्टी भाजपा र विपक्षी कङ्ग्रेसबीच त्रिपक्षीय भिडन्त हुने ठानिएको छ।
आम आदमी पार्टी दोस्रो पटक पनि सत्ता हत्याउने कोसिसमा रहेको छ।
लगातार तीन पटक दिल्लीको सत्तामा रहेको कङ्ग्रेस पनि पुन: आफ्नो विरासत फर्काउन जुटेको छ।
केन्द्रको सत्ताधारी भाजपाले पनि सत्ता हत्याउन सम्पूर्ण शक्ति लगाएको देखिन्छ।
दिल्लीमा सन् २०१३ को डिसेम्बरमा पनि विधानसभा चुनाव भएको थियो। तर त्यसबेला कुनै पनि पार्टीले बहुमत ल्याउन सकेका थिएनन्।

तस्बिर स्रोत, EPA
त्यसबेला भ्रष्टाचार विरोधी आन्दोलनबाट उदाएको आम आदमी पार्टी सबैभन्दा ठूलो दल बनेको थियो।
उसले कङ्ग्रेससँग मिलेर सरकार बनाएको थियो। तर उक्त सरकार ४९ दिन मात्र टिक्यो र पार्टीले स्वयम् सरकार छाडेर नयाँ चुनावको माग गर्यो।
नेताहरूका विवादित भाषण र उठाइएका मुद्दाका कारण यसपालीको चुनाव निकै चर्चित बनेको छ।

तस्बिर स्रोत, EPA, GETTY IMAGES
यो चुनावमा बिजुली र पानी, भारतको नयाँ नागरिकता कानुन विरुद्ध शाहीन बागमा जारी आन्दोलन, शिक्षा र राष्ट्रवादजस्ता मुद्दाहरू प्रमुख रूपमा उठेका छन्।
यसका अतिरिक्त केही नेताहरूका मन्तव्यलाई लिएर भारतको निर्वाचन आयोगले पत्र पठाउँदै उनीहरूको प्रचारप्रसारमा प्रतिबन्द लगाइदिएको छ।
दिल्ली सरकारको कार्यकाल २२ फेब्रुअरीमा सकिदैँछ। त्यहाँ सरकार बनाउन कुल ७० सिटमध्ये ३६ सिट जित्नुपर्नेछ।





















