दिल्ली निर्वाचन: प्रारम्भिक मतगणनामा आम आदमी पार्टीको अग्रता, भारतीय जनता पार्टी धेरै पछाडि

दिल्ली

तस्बिर स्रोत, Getty Images

Published

भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ। प्रारम्भिक गणनामा सत्तारूढ आम आदमी पार्टी (आप) ले अग्रता लिइरहेको छ।

तिक्ततापूर्ण परिवेशमाझ भएको निर्वाचनमा आपले ठूलो जित हासिल गर्ने विभिन्न 'एक्जिट पोल'ले देखाएका छन्।

मतदान सम्पन्न भएपछि गरिएका त्यस्ता प्रारम्भिक मतसर्वेक्षण तथा प्रारम्भिक मतगणनाले तुलनात्मक रूपमा लामो इतिहास नभएको आपले भारतको केन्द्रीय सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) लाई ठूलो धक्का दिने देखाएका हुन्।

उक्त क्षेत्रीय दलले शक्तिमा रहँदा शिक्षा र विकासमा दिएको ध्यानको निकै प्रशंसा हुनेगरेको छ।

भाजपाले त्यहाँ आफ्नो सङ्घीय गृहमन्त्रीको नेतृत्वमा निकै चर्को निर्वाचन अभियान सञ्चालन गरेको थियो।

मङ्गलवार बिहानसम्म प्रारम्भिक मतगणनामा आप ५० भन्दा बढी स्थानमा अगाडि देखिएको छ। त्यहाँ सरकार बनाउन कुल ७० मध्ये ३६ सीट जित्नुपर्छ।

दिल्ली निर्वाचनको महत्त्व

फेब्रुअरी ८ मा सम्पन्न निर्वाचनमा ६१ प्रतिशत मतदान भएको थियो।

केजरीवाल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, केजरीवाल

दिल्लीको निर्वाचनलाई निकै साङ्केतिक रूपमा हेरिन्छ।

अन्य राज्यमा जसरी त्यहाँका स्थानीय सरकारमा पूर्ण रूपमा प्रशासनिक शक्ति हुँदैन।

पछिल्लो कार्यकालमा त्यहाँको नेतृत्व गरेका आपका चामत्कारिक मुख्यमन्त्री अरविन्द केजरीवालले राज्यलाई व्यापक स्वायत्तताको माग गरेका थिए।

दिल्लीमा प्रहरीमाथिको नियन्त्रण, भूमि र कानुन कार्यान्वयन सङ्घीय सरकारको हातमा हुन्छ।

उग्र निर्वाचन अभियान

यसपालि त्यहाँको निर्वाचन अभियान निकै उग्र रूपमा सम्पन्न भएको थियो।

भाजपाको ध्यान विवादास्पद नागरिकता कानुनको विरोधको केन्द्रमा रहेको दिल्लीको मुस्लिमबहुल क्षेत्र शाहिनवागमा थियो।

भाजपाले विशेषगरी त्यहाँ प्रदर्शन गरिरहेका हजारौँ मुस्लिम महिलाहरूलाई 'देशद्रोही' भन्दै उनीहरूले देशको विभाजनबाहेक केही नचाहेको आरोप लगाएको थियो।

भाजपाले ती प्रदर्शनकारीलाई आपका समर्थक रहेको आरोप लगाएको थियो।

भाजपाका दुई सांसदले आफ्ना समर्थकहरूलाई "देशद्रोहीलाई गोली हान्न" भनेपछि उनीहरूलाई निर्वाचन प्रचारप्रसार अभियानबाट हटाइएको थियो।

त्यसको केही दिनपछि त्यस ठाउँमा पुगेका एक मानिसले हवाई फायर गर्दै प्रदर्शनकारीहरूलाई त्यस ठाउँ छाड्न भनेका थिए।

'ध्रुवीकरणको परीक्षण'

राजनीतिक विश्लेषक नीरज चौधरीले यसअघि बीबीसीलाई भनेका थिए: "ध्रुवीकरण भाजपाले यसअघि प्रयोग गरेर सफल भइसकेको तरिका हो। तर के त्यसले दिल्लीमा पनि काम गर्छ भन्ने चाहिँ महत्त्वपूर्ण प्रश्न हो।"

आपले दिल्लीमा आफूले गरेका कामलाई निर्वाचन अभियानका बेला प्रचारको मुख्य विषय बनाएको थियो।

उसले शिक्षाको गुणस्तर सुधार र मानिसहरूलाई सुलभ स्वास्थ्यसेवा, ऊर्जा र पानीको व्यवस्था गर्ने कुरामा विशेष जोड दिएको थियो।

दिल्ली सरकारको कार्यकाल फेब्रुअरी २२ मा सकिँदैछ।

सन् २०१५ मा भएको निर्वाचनमा आम आदमी पार्टीले ७० मा ६७ सीट जितेको थियो।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, विषाक्त वायुले निसासिएको दिल्ली