न्यूजील्यान्ड ज्वालामुखी विस्फोट: ह्वाईट आईल्यान्डमा थप ज्वालामुखीको त्रास, खोजीकार्य प्रभावित
न्यूजील्यान्डको ह्वाईट आईल्यान्डको ज्वालामुखी क्षेत्रमा थप भौगर्भिक सक्रियता देखिएकाले खोजकार्य स्थगित गरिएको छ।
ह्वकारी भनेर पनि चिनिने सो ज्वालामुखी सोमवार विस्फोट भएको थियो।
त्यतिखेर दर्जनौँ पर्यटक सो टापुमा थिए।
तीमध्ये केहीको उद्धार गरियो भने केही मृत फेला परे।
छ जनाको मृत्यु भएको पुष्टि
हालसम्म छ व्यक्तिको ज्यान गइसकेको पुष्टि भएको छ।
अन्य आठ जना अझै हराइरहेका छन्। उनीहरूको मृत्यु भइसकेको ठानिएको छ।
उद्धार गरिएकामध्ये २५ जना गम्भीर घाइते भएका छन्।
अधिकारीहरूले बुधवार टापुमा सम्पर्कविहीन भएका मानिसहरुखो खोजी गरी यदि मृत्यु भइसकेको भए तिनको शव सङ्कलन गरी बाहिर लैजाने आशा राखेका थिए।

तस्बिर स्रोत, Michael Schade
प्रधानमन्त्री जसिन्डा आर्डर्नले भनिन्, "मैले खोजकार्यमा संलग्न व्यक्तिहरूसँग कुरा गरेकी छु। उनीहरू खोजी गरिसक्न निकै आतुर छन्।"
तर सो टापुमा देखिएको पछिल्लो भौगर्भिक सक्रियताका कारण उद्धारकार्य स्थगित गर्नुको विकल्प नभएको प्रहरीले बताएको छ।
"बिहान चार बजेदेखि त्यहाँ ज्वालामुखीका कारण कम्पन निकै बढेको छ," बुधवार एक विज्ञप्तिमार्फत् भौगर्भिक निकाय जियोनेटले जनाएको छ।
"अब के होला भन्ने एकदम अनिश्चयपूर्ण छ। अबको २४ घण्टामा अर्को ज्वालामुखी विस्फोट हुने सम्भावना पनि छ," उसले भनेको छ।
'चेर्नोबिलको जस्तो दृश्य'
खोजकार्यमा संलग्न एक स्वास्थ्यकर्मीले उनले सो टापुमा देखेको दृश्य आफूले हेरेको 'चेर्नोबिल' नामक वृत्तचित्रमा देखेको जस्तै लागेको बताए।


तस्बिर स्रोत, ICEYE
"सबैथोकलाई खरानीले ढाकेको थियो," रसेल क्लार्कले स्थानीय टीभीलाई बताए।
सन् १९८६ मा तत्कालीन सोभियत सङ्घमा भएको चेर्नोबिल दुर्घटनालाई हालसम्मकै सबैभन्दा खराब पारमाणविक दुर्घटना मानिन्छ। हाल उक्त क्षेत्र यूक्रेनमा पर्छ।
सो दुर्घटनाका कारण विकिरणयुक्त हावा युरोपभरि फैलिएको थियो।
संयुक्त राष्ट्रसङ्घका अनुसार त्यसले ५०,००० वर्ग किलोमिटर क्षेत्रलाई दूषित बनाइदिएको थियो।
त्यसबाट कम्तीमा ३१ जना मानिसको तत्काल ज्यान गएको थियो भने विकिरणका कारण उत्पन्न असर आजपर्यन्त देखिने गरेको बताइन्छ।






















