न्यूजील्यान्ड ज्वालामुखी: 'ह्वाईट आईल्यान्डमा हराइरहेका मानिसहरू जीवितै भेटिने सम्भावना कम'

सक्रिय ज्वालामुखी रहेको भए पनि ह्वाईट आईल्यान्ड पर्यटकीय स्थल हो

तस्बिर स्रोत, Michael Schade

तस्बिरको क्याप्शन, सक्रिय ज्वालामुखी रहेको भए पनि ह्वाईट आईल्यान्ड पर्यटकीय स्थल हो
Published

न्यूजील्यान्डको ह्वाईट आईल्यान्डमा ज्वालामुखी विस्फोटमा परेर पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने आठ जना अझै हराइरहेको प्रहरीले जनाएको छ।

पर्यटकहरू घुमिरहेको बेला त्यहाँ ज्वालामुखी विस्फोट भएको थियो। तर ३४ जनालाई जीवितै उद्धार गरिएको थियो।

तीमध्ये ३१ जना घाइते भएका छन् रतिनको अस्पतालमा उपचार भइरहेको छ।

उपचार भइरहेकामध्ये दुई ब्रिटिश महिला पनि भएको न्यूजील्यान्डस्थित यूकेकी राजदूतले बताएकी छन्।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मृत्यु हुने पाँचमध्ये तीन अस्ट्रेलियाली नागरिक भएको हुन सक्ने बताएका छन्।

उनले ज्वालामुखी विस्फोटनका बेला २४ अस्ट्रेलियालीहरू एउटा क्रूज पानीजहाजमार्फत् उक्त टापुमा घुमिरहेको बताए।

ज्वालामुखी विस्फोट हुँदा उक्त टापुमा ४७ जना मानिसहरू रहेको प्रहरीको भनाइ छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ज्वालामुखी विस्फोट हुँदा उक्त टापुमा ४७ जना मानिसहरू रहेको प्रहरीको भनाइ छ।

सिड्नीमा पत्रकारहरूसँग कुराकानी गर्दै मोरिसनले "स्वच्छन्दता साथ रमाइरहेको बेला भएको भएको त्रासदीपूर्ण यो विस्फोटन निकै दु:खद घटना हो" भन्ने टिप्पणी गरे।

तीमध्ये १३ जना अस्पतालमा छन् भने ११ जनाबारे अहिलेसम्म केही थाहा हुन सकेको छैन।

ज्वालामुखी विस्फोट हुँदा उक्त टापुमा ४७ जना मानिसहरू रहेको प्रहरीको भनाइ छ।

हराउने र घाइतेमध्ये अमेरिका, चीन, मलेशिया र न्यूजील्यान्डका नागरिकहरू पनि छन्।

'दु:ख'

प्रधानमन्त्री जसिन्डा आर्डर्नले मङ्गलवार एउटा पत्रकार सम्मेलनमा घटनाप्रति गहिरो दु:ख व्यक्त गरिन्।

उनले ज्वालामुखी विस्फोट हुनुभन्दा केही बेरअघि त्यहाँ ज्वालामुखीको मुखमा पर्यटकहरू छिर्दै गरेको देखिएको बताइन्।

ज्वालामुखी

सम्पर्कविहीन भएका व्यक्तिहरू अब जीवितै भेटिने सम्भावना कम रहेको भन्दै "उद्धारकार्य अब दु:खका साथ खोजीमा बदलिने" उनले बताइन्।

सक्रिय ज्वालामुखी रहेको भए पनि ह्वाईट आईल्यान्ड पर्यटकीय स्थल हो।

त्यहाँ दैनिक पर्यटकीय भ्रमण कार्यक्रम एवं हवाई भ्रमण हुने गर्छन्।

ज्वालामुखी क्षेत्रको प्रत्यक्ष भिडिओ फीडमा सो क्षेत्रमा पर्यटकहरूको समूह डुलिरहेको र एक्कासि विस्फोट भएपछि फीड रोकिएर अन्धकार भएको देखिन्छ।

विस्फोटनपछि जीवित फेला परेका मानिसहरूलाई डुङ्गा र हेलिकोप्टरमार्फत् टापुबाट बाहिर लगिएको थियो।

आपत्कालीन सेवाका कर्मचारी उक्त क्षेत्रमा खोजका लागि पुग्न सकेका छैनन्।

ज्वालामुखीबाट निस्किराखेको खरानी र धूँवाको मुस्लोले अझै त्यहाँको अवस्था खतरामुक्त पारेको छैन।

ह्वाईट आईल्यान्ड देशको पूर्वोत्तर भेगमा पर्छ जसलाई ह्वकारी पनि भनिन्छ।

उक्त टापु निजी स्वामित्वमा रहेको छ र पर्यटन गन्तव्यस्थल मानिएको छ।

उक्त स्थानमा सक्रिय ज्वालामुखीहरू छन्। सन् २००१ यता त्यहाँ भएको यो पहिलो ज्वालामुखी विस्फोट हो।

White Island