भारत डुङ्गा दुर्घटना: गोदावरी नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु, ३० बेपत्ता

दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशमा पर्यटकहरू चढेको एउटा डुङ्गा गोदावरी नदीमा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि भएको छ।
आइतवार भएको उक्त घटनामा ३० जना हराइरहेका छन्।
उक्त डुङ्गामा झन्डै ६० जना मानिस चढेका थिए। एउटा प्रसिद्ध पर्यटकीय स्थल जान लागेका बेला डुङ्गा एउटा ठूलो ढुङ्गामा ठोक्किएको थियो।
स्थानीय अधिकारीहरूले २७ जनालाई सकुशल उद्धार गरेको बीबीसी तेलुगूलाई बताए।
नदीमा उद्धारकर्ताहरूलाई खटाइएको छ। अहिले बेपत्ता भएका मानिसहरू खोजिँदैछ।
नदीबाट जीवितै उद्धार गरिएका मानिसले शोक तथा क्षोभ प्रकट गरेका छन्।
माधवीलता नाम गरेकी एक महिला जोगिइन् तर उनका पति र बच्चाको भने मृत्यु भयो।
"बच्चाबिना म पनि मरेकी भए हुन्थ्यो," रुँदै उनले भनिन्, "मैले पति र बच्चा गुमाएँ।"
राज्यका मुख्यमन्त्री जगन मोहान रेड्डीले सो क्षेत्रमा सबै डुङ्गा सेवा बन्द गर्न आदेश दिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे दु:ख व्यक्त गर्दै पीडितहरूलाई सहानुभूति दिएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
स्थानीय निकायले बीबीसी तेलुगूलाई उक्त दुर्घटना जङ्गल भएको एउटा दुर्गम स्थानमा भएको बताएका छन्। त्यहाँ सञ्चारको पर्याप्त सुविधा पनि छैन।
पर्यटनमन्त्रीले उक्त पर्यटक डुङ्गा बिनाअनुमति सञ्चालन भएको पुष्टि गरेका छन्।
तेलङ्गाना राज्यबाट आएका एक युवकका अनुसार उनको टोलीमा भएका १४ मध्ये नौ जना हराएका छन्।
भारतमा डुङ्गामा प्राय: क्षमताभन्दा बढी भार हालिएको हुन्छ। फितलो सुरक्षा प्रबन्ध र अनुगमनको अभावका कारण बारम्बार दुर्घटनाहरू हुने गरेका छन्।




















