जापानले आफूविरुद्ध आर्थिक युद्ध छेडेको दक्षिण कोरियाको आरोप

दक्षिण कोरियाली प्रदर्शनकारी

तस्बिर स्रोत, Getty Images

Published

जापानले थप व्यापार प्रतिबन्धहरूको घोषणा गरेपछि आफूविरुद्ध आर्थिक युद्ध छेडिएको आरोप दक्षिण कोरियाले लगाएको छ।

जापानले आफ्ना विश्वासिलो व्यापार साझेदारको सूचीबाट दक्षिण कोरियालाई हटाइदिएपछि दुई देशबीचको तनाव बढेको हो।

गत महिना जापानले दक्षिण कोरियाका प्रविधि कम्पनीहरूका लागि आवश्यक रसायनहरूको निर्यातमा बन्देज लगाइ दिएपछि तनाव बढेको थियो।

जापानी घोषणालगत्तै दक्षिण कोरियाले जापानविरुद्ध उस्तै नीति लिने घोषणा गरेको छ।

सङ्केत

एक अर्काविरुद्ध व्यापार प्रतिबन्धहरूको घोषणा गरेपछि जापान र दक्षिण कोरियाबीचको व्यापारिक तनाव झनै चर्किने सङ्केत देखिएका छन्।

जापानी घोषणालगत्तै सोलले टोक्योलाई आफ्ना सबैभन्दा विश्वासिला व्यापारिक साझेदारहरूको सूचीबाट हटाइएको बताएको छ।

कोरिया

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, दक्षिण कोरियाकी विदेशमन्त्रीले जापानको कदमको निन्दा गरेकी छन्

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले टोक्योका कदमहरू उनकै शब्दमा स्वार्थी र गैरजिम्मेवार भएको टिप्पणी गरेका छन्।

बढ्दो तनावबीच सोलले जापानसँग सैन्य सूचना आदानप्रदान पनि बन्द गर्नेबारे विचार गरिरहेको बताएको छ।

दुई देशबीचको ऐतिहासिक तिक्तताका कारण अहिले तनाव बढेको हो।

गत वर्ष दक्षिण कोरियाका अदालतहरूले जापानी फर्महरूलाई दोस्रो विश्वयुद्धताका जबर्जस्ती श्रममा लगाइएका व्यक्तिहरूलाई क्षतिपूर्ति दिन आदेश दिएको थियो।

तर जापानले ती मुद्दा ५० वर्षअघि नै सल्टिईसकेको दाबी गर्ने गरेको छ।