चिनियाँ पानी जहाज जापानी टापु नजिकै

तस्बिर स्रोत, AP
चीनले लडाकु जेट र बम्बरहरु विवादित साउथ चाइना सीस्थित टापुमा पठाएको छ।
बेइजिङले गत महिनादेखि उक्त क्षेत्रमा हवाई निगरानी बढाएको हो।
अर्को छुट्टै घटनामा जापानले २ सय ३० वटा पानी जहाजको समुह जापानी नियन्त्रणको सामुन्द्रिक क्षेत्र नजिकै लगेको बताएको छ।
२ सय ३० मध्ये ६ वटा तटरक्षक पानी जहाज रहेको र तीमध्ये तीनवटा सशस्त्र रहको देखिएको जापानले बताएको छ।
अधिकार बढाउँदै चीन
जापानले विरोधमा चिनियाँ कूटनीतिज्ञहरुसँग स्पष्टीकरण लिएको छ।
केही वर्षयता बेइजिङले उक्त सामुन्द्रिक क्षेत्रमा आफ्नो अधिकार बढाउँदै लगेको छ।
पछिल्लो घटनामा चिनियाँ पानी जहाजहरु जापानी सेनक्याकु टापु नजिकैबाट चलाइएका थिए।
उक्त स्थल जापानी नियन्त्रणमा छ तर चीनले पनि आफ्नो हो भनी दावी गर्छ।

तस्बिर स्रोत, Reuters
बेइजिङले त्यसलाई ड्यायोयु टापु नाम दिएको छ।
जापानी विदेश मन्त्रालयका प्रवक्ताले पानी जहाजको झुण्ड पठाउएर चीनले यो क्षेत्रमा एकतर्फी तनाव बढाएको बताए।
दुइ देशलाई छुट्याउने इस्ट चाइना सी को सम्पदा उपयोग संयुक्त रुपमा गर्नेबारे करिब एक दशक अघि टोक्यो र बेइजिङले कुराकानी गरेका थिए।
बढ्दो तनाव
तर त्यसयता खासगरी निर्जन विवादास्पद सेनक्याकु टापुबारे तनाव बढिरहेको छ।
केही वर्षयता चीनले उक्त टापुतर्फ बढ्दो संख्यामा पानीजहाजहरु पठाइरहेको छ।
र त्यो जापानले कस्तो प्रतिक्रिया देखाउँछ भन्ने परीक्षण गर्ने प्रयत्न हो जस्तो देखिएको छ।
बेइजिङले यो क्षेत्रमा बढ्दो हक जमाउँदै गइरहेको छ।
तर गत महिना हेगस्थित द पर्मानेन्ट कोर्ट अफ आर्बिट्रेशनको एउटा ट्राइब्युनलले उक्त समुन्द्रमाथि चीनले प्रकट गर्दै आएको धेरैजसो दावीको कानुनी आधार नरहेको भन्ने आदेश जारी गरेको थियो।
चीनले उक्त निर्णयको बेवास्ता गर्ने जनाएको थियो।




















