‍‍ट्रम्पसँग मतभिन्नता भएका अमेरिकी गुप्तचर प्रमुखको राजीनामा

अमेरिका

तस्बिर स्रोत, AFP

Published
पढ्ने समय: २ मिनेट

अमेरिकी राष्ट्रिय गुप्तचर निकायका प्रमुख ड्यान कोट्स ट्रम्प प्रशासन छाड्ने अर्का उच्च पदस्थ सरकारी अधिकारी बनेका छन्।

राष्ट्रपति ट्रम्पले अगस्ट महिनाको मध्यमा कोट्स पदबाट अलग्गिने र उनको स्थानमा टेक्ससका कंग्रेस सदस्य जन र्‍याट्क्लिफलाई आफूले मनोनयन गर्ने जनाएका छन्।

अमेरिकालाई माया गर्ने भएकाले र्‍याट्क्लिफले नेतृत्व र श्रेष्ठताका लागि प्रेरणा दिने ट्रम्पले उल्लेख गरेका छन्।

राष्ट्रपति ट्रम्प र कोट्सबीच रुस र उत्तर कोरियाको विषयमा बारम्बार मतभिन्नता देखिएको थियो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

गत जेनुअरी महिनामा राष्ट्रपति ट्रम्पले गुप्तचर निकायका प्रमुखहरू निष्क्रिय भएका र इरानले उत्पन्न गराएको जोखिमको विश्लेषण भरपर्दो नदेखिएको टिप्पणी गरेका थिए।

किन दिए राजीनामा?.

एक वर्षअघि राष्ट्रपति ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर बैठकका लागि फिनलन्ड जान लागेको सुनेपछि आश्चर्य व्यक्त गर्दै कोट्स हाँसेका थिए।

"त्यो विशेष हुनसक्छ," पुटिनसँगको भेटबारे एउटा सार्वजनिक कार्यक्रममा भनिएपछि हाँस्दै कोट्सले त्यस बेला भनेका थिए।

त्यसपछि उनले आफ्नो प्रतिक्रियाका लागि माफी मागेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ड्यान कोट्सले के भने?

त्यस क्रममा उनले आफ्नो त्यस किसिमको 'असहज प्रतिक्रिया' राष्ट्रपति ट्रम्पप्रति अनादर गर्न वा आलोचना गर्न लक्षित नभएको बताएका थिए।

राष्ट्रपतिलाई बुझाइएको राजीनामा कोट्सले ट्रम्पको साढे दुईवर्षे कार्यकालमा गुप्तचार निकाय पहिलाको भन्दा बलियो भएको उल्लेख गरेका छन्।

"त्यसैले यही बेला मैले जीवनको अर्को अध्यायका लागि निस्कनुपर्छ भन्ने मलाई लाग्छ," उनले लेखेका छन्।

विदेश नीतिबारे बेलाबेलामा मतभिन्नता देखिए पनि कोट्सका अनुसार गत फेब्रुअरीमा राष्ट्रपतिले उनलाई पदमा बसिराख्न भनेका थिए।

को हुन् ड्यान कोट्स?

ड्यान कोट्स पूर्वकूटनीतिज्ञ र पूर्वसांसद हुन्।

सन् २०१७ को मार्च महिनामा जेम्स क्ल्यापरको उत्तरीधिकारीका रूपमा उनी राष्ट्रिय गुप्तचर निकायको निर्देशक नियुक्त भएका थिए।

उनको जन्म मिशगन राज्यको ज्याक्सनमा भएको थियो। उनले राजनीतिशास्त्र र कानुनको अध्ययन गरेका छन्।

उनी इन्डियाना राज्यबाट सन् १९८९ र सन् २०१७ मा दुईचोटि सिनेटर बनेका थिए।

उनी सन् २००१ देखि २००५ सम्म जर्मनीका लागि अमेरिकी राजदूत थिए।

को हुन् जन र्‍याट्क्लिफ?

जन र्‍याट्क्लिफ सन् २०१५ मा टेक्ससबाट कंग्रेस सदस्य निर्वाचित भएका थिए। उनी राष्ट्रपति ट्रम्प र उनका नीतिहरूका समर्थक हुन्।

र्‍याट्क्लिफ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, र्‍याट्क्लिफ

ट्रम्पले उनलाई "धेरै सम्मानित सांसद" भनेर प्रशंसा गरेका छन्।

उनको मनोनयन पारित भए भने र्‍याट्क्लिफ र ट्रम्पको धारणा मिल्ने अपेक्षा गरिएको छ।

गत हप्ता र्‍याट्क्लिफले सन् २०१६ मा भएको निर्वाचनमा रुसी हस्तक्षेपबारे रोबर्ट म्युलरले गरेको छानबिनबारे भएको छलफलमा राष्ट्रपतिको प्रतिरक्षा गरेका थिए।

म्युलरले ट्रम्पलाई न्याय सम्पादनमा अवरोध गरिएको आरोपमा सफाइ नदिइएको भनेका छन्।

र्‍याट्क्लिफले म्युलरलाई ट्रम्प दोषी नभएको वा उनलाई सफाइ दिने अधिकार नभएको बताएका थिए।

र्‍याट्क्लिफले अन्धभक्ति देखाएकाले ट्रम्पले उनलाई छानेको आरोप सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक शुमरले लगाएका छन्।