महिला सांसद्लक्षित ट्रम्पको 'रङ्गभेदी' भनाइको अमेरिकी संसद्द्वारा निन्दा

तस्बिर स्रोत, Getty Images
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले चार जना महिला सांसद्प्रति लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिको साङ्केतिक रूपमा निन्दा गर्दै खेद प्रस्ताव पारित गरेका छन्।
ट्रम्पले शृङ्खलावद्ध रूपमा ट्वीट गर्दै चार जना प्रतिपक्षी डेमोक्र्याट सांसदहरूलाई 'पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको' भन्दै पुरानै स्थानमा फर्किन भनेका थिए।
ट्रम्पले भने आफ्नो भनाइ विभेदकारी नभएको भन्दै बचाउ गर्दै आएका छन्।
उक्त प्रस्तावमा ट्रम्पको अभिव्यक्ति विभेदकारी भएको र त्यसले डर एवम् घृणालाई वैधता दिएको संसदको मत छ।
मतदान
विपक्षी डेमोक्र्याटका सबै सांसदले उक्त प्रस्तावको पक्षमा मतदान गरेका थिए।
उनीहरूले सत्तादारी रिपब्लिकन दलका समेत चार जना सांसदको समर्थन प्राप्त गरेका थिए।
उक्त निन्दा प्रस्तावमा भनिएको छ: ट्रम्पका रङ्गभेदी प्रतिक्रियाले मानिसहरूको रङ्ग र नवअमेरिकीहरूमाथिको भय एवम् घृणालाई प्रश्रय दिएको छ।
ट्रम्पले कसैको पनि नाम नलिए पनि पछिल्ला घटनाक्रमहरूको सन्दर्भमा उनले कसको बारेमा कुरा गरिरहेका छन् भन्ने कुरा प्रस्ट भएको थियो।

तस्बिर स्रोत, AFP/GETTY
आलोचना
ट्रम्पको भनाइको विपक्षी दलका नेताहरूले चर्को आलोचना गर्दै आएका छन्।
रिपब्लिकन पार्टीका केही सदस्यहरूले मात्र टिप्पणी गरे पनि सिनेटर सुजन कोलिन्सले भने ट्रम्पको अभिव्यक्ति अस्वीकार्य रहेको भनेकी छन्।

तस्बिर स्रोत, AFP/Getty
पछिल्लो राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रतिद्वन्दी रहेकी हिलरी क्लिन्टनले समेत अमेरिकाका सीमामा रहेका थुनुवा केन्द्रमा व्याप्त अमानवीय अवस्थाबारे ध्यानाकर्षण गरेकाले ती सांसद्हरूमाथि आक्रमण गरिएको बताएकी छन्।
ती सांसदहरूले स्वास्थ्यसेवा, बन्दुकजन्य हिंसा र मेक्सिकोको सीमामा आप्रवासीहरूलाई बन्दी बनाइएका जस्ता विषयमा ध्यान केन्द्रित गरिनुपर्ने धारणा व्यक्त गरेका थिए।
ट्रम्पले निसाना बनाएका एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब, आयान्ना प्रेस्ली र इल्हान ओमर फरक जातीय पृष्ठभूमिबाट आएका हुन्।
ओमर बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन् भने अरू तीन जना अमेरिकामै जन्मेहुर्केका हुन्। उनीहरू चारै जना २०१८ मा सांसद निर्वाचित भएका हुन्।
ट्रम्पले भने उक्त भनाइको बचाउ गर्दै आफूमा विभेदकारी भावना नरहेको बताएका छन्।
मतदानअघि तल्लो सदनकी सभामुख न्यान्सी प्यालोसीले ट्रम्पका भनाईलाई अपमानजनक र घृणित भनेकी थिइन्।






















