विश्वकपमा सहभागी केही खेलाडीहरूले लगाउने जर्सीमा किन फरकफरक चिह्न छन्

इङ्ग्ल्यान्डका लागि गोल गरेपछि ह्यारी केन

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, ह्यारी केनको जर्सीमा भए जस्तो प्याच इङ्ग्ल्यान्डका अन्य खेलाडीको जर्सीमा छैन
    • Author, गेरी रोज
    • Role, बीबीसी स्पोर्ट संवाददाता, भ्यान्कूभर
  • Published
  • पढ्ने समय: ४ मिनेट

इङ्ग्ल्यान्डले बुधवार क्रोएशियासँग खेलेर फिफा विश्वकप २०२६ मा आफ्नो यात्रा सुरु गर्‍यो। उक्त खेल हेरेका दर्शकहरूले ह्यारी केनको जर्सीमा केही फरक कुरा देखेको हुनुपर्छ।

उनले लगाएको जर्सीमा प्रतियोगिताको ब्याजसँगै बाहुलामा एउटा सुनौलो 'प्याच' थियो। तर अरू 'थ्री लायन्स' अर्थात् इङ्ग्ल्यान्डको टोलीका अन्य खेलाडीहरूको जर्सीमा त्यस्तो चिह्न थिएन।

उसो भए केनको शर्ट किन अरूभन्दा फरक थियो त?

वास्तवमा विश्वकपमा 'गोल्डन बूट' जितेका खेलाडीहरूले त्यस्तो 'प्याच' लगाउन पाउँछन्।

केनले रुसमा २०१८ मा आयोजित विश्वकपमा सर्वाधिक गोल गरेर 'गोल्डन बूट' जितेका थिए। त्यति बेला इङ्ग्ल्यान्डलाई सेमिफाइनसम्म पुर्‍याउन उनले कुल छवटा गोल गरेका थिए।

तीक्ष्ण आँखा भएका दर्शकहरूले मङ्गलवार सेनेगलविरुद्ध दुई गोल गरेका फ्रान्सका स्ट्राइकर किलियान एम्बाप्पेको जर्सीमा पनि सुनौलो प्याच देखेको हुनुपर्छ।

उनले चार वर्षअघि कतारमा सर्वाधिक आठ गोल गरेर गोल्डन बूट जितेका थिए।

यसपालि विश्वकपमा त्यस्तो प्याच लगाउन पाउने अर्का एक खेलाडी कोलम्बियाका हामेज रोड्रिगेज हुन्। उनी सन् २०१४ मा ब्रजिलमा आयोजित विश्वकपमा सर्वाधिक छ गोल गर्ने खेलाडी हुन्।

यो प्रतियोगितामा अरू विशेष चिह्न पनि प्रयोग हुन्छन् कि?

डेभिड रायको जर्सीको बाहुलामा 'डेब्यू' लिखित प्याच छ

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, विश्वकपमा पहिलो पटक सहभागी खेलाडीहरूका लागि छुट्टै प्याच छ

खेलाडीहरूका विभिन्न उपलब्धिलाई प्रतिबिम्बित गर्ने गरी विश्वकपमा सहभागी हुने खेलाडीका जर्सीमा फरकफरक खालका चिह्न प्रयोग गरिन्छ।

यसअघि विश्वकप विजेता बनिसकेका टोलीका सदस्यहरूले विश्वकपको सुनौलो ब्याज लगाउन पाउँछन्। उपाधि जितिसकेका इङ्ग्ल्यान्डसहित सातवटा देश यसपालि विश्वकपमा सहभागी छन्।

विश्वकप जित्ने आठ टोलीमध्ये यसपालि इटली विश्वकपमा छनोट हुन सकेन। इटली चारपटकको विजेता हो।

विश्वकपमा पहिलो पटक सहभागी खेलाडीहरूका लागि प्रतियोगिताको लोगोसँगै 'डेब्यू फिफा वर्ल्ड कप' लिखित प्याच हुन्छ।

त्यसबाहेक विश्वकपमा पहिला पनि सहभागी भएका खेलाडीहरूका लागि छुट्टै प्याच हुन्छ।

पाँच वा त्यसभन्दा बढी पटक विश्वकपमा खेलेका खेलाडीहरूको जर्सीमा विश्वकपको लोगोमुनि उनीहरूको देशको झण्डासँगै 'लिगेसी' लेखिएको प्याच हुन्छ।

दर्शकहरूले यसअघिका विश्वकपमा सर्वोत्कृष्ट गोलरक्षक घोषित खेलाडीहरूले लगाउने जर्सीमा पनि फरक खालको चिह्न देख्न पाउने छन्।

यो डिजाइन पनि विश्वकपको लोगोमुनि राखिएको हुन्छ। यसमा बीचमा गोलरक्षकले हातमा लगाउने पन्जा अङ्कित एउटा 'क्रेस्ट' हुन्छ।

सेनेगलसँगको खेलमा गोल गरेपछि खुसी हुँदै एम्बाप्पे र फ्रान्सका अन्य खेलाडी

तस्बिर स्रोत, Reuters

विश्वकप विजेता टोलीका सदस्यका लागि सुनौलो ब्याज :

  • ब्रजिल : १९५८, १९६२, १९७०, १९९४, २००२
  • जर्मनी : १९५४, १९७४, १९९० [पश्चिम जर्मनीको रूपमा], २०१४
  • आर्जेन्टिना : १९७८, १९८६, २०२२
  • फ्रान्स : १९९८, २०१८
  • यूरुग्वे : १९३०, १९५०
  • स्पेन : २०१०
  • इङ्ग्ल्यान्ड : १९६६

गोल्डन बूट विजेताको प्याच :

  • ह्यारी केन, इङ्ग्ल्यान्ड
  • किलियान एम्बाप्पे, फ्रान्स
  • हामेज रोड्रिगेज, कोलम्बिया

गोल्डन ग्लोभ विजेताको प्याच :

  • एमिल्यानो मार्टिनेज, आर्जेन्टिना
  • टीबो कोर्ट्वा, बेल्जिअम
  • मानुएल नोयर,जर्मनी

'लिगेसी' प्याच :

  • लिओनेल मेस्सी, आर्जेन्टिना
  • क्रिस्टियानो रोनाल्डो, पोर्चुगल
  • लुका मोड्रिच, क्रोएशिया
  • मानुएल नोयर, जर्मनी
  • युतो नागातोमा, जापान

यस्ता ब्याज र प्याच किन प्रयोग गर्न थालियो

लिओनेल मेस्सीको जर्सीमा बाहुलामा 'लिगेसी' अङ्कित प्याच

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, लिओनेल मेस्सीले एल्जिरियासँगको खेलमा बाहुलामा 'लिगेसी' अङ्कित प्याच भएको जर्सी लगाएका थिए

फुटबलको सर्वोच्च निकाय फिफा र ट्रेडिङ कार्ड 'टप्स' बीच भएको दीर्घकालीन सहकार्यअन्तर्गत त्यस्ता विभिन्न प्याचहरू प्रयोग गर्न थालिएको हो।

तर खेल सकिनेबित्तिकै खेलाडीहरूले लगाएका जर्सीबाट प्याच निकालिन्छ।

प्रशंसकहरूले पछि महत्त्वपूर्ण र मूल्यवान् भौतिक कोसेलीका रूपमा ती प्याचहरू सङ्कलन र सङ्ग्रह गर्न सक्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।