अमेरिकाद्वारा साउथ चाइना सीमा चीनले गरेको क्षेप्यास्त्र प्रहारको आलोचना

साउथ चाइना सी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिकाले साउथ चाइना सीलाई चीनले सैन्यकरण गरेको बताउँदै आएको छ
Published

अमेरिकाले चीनलाई साउथ चाइन सी क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै बेइजिङको कदमलाई 'तर्साउने नियत' भनेको छ।

अमेरिकी पत्रपत्रिकाहरूले रक्षा मन्त्रालयको गोप्य स्रोतलाई उद्धृत गर्दै चिनियाँ क्षेप्यास्त्र प्रहारको समाचार छापेका थिए।

बेइजिङले सो विवादित क्षेत्रमा सैन्य अभ्यास गरेको स्विकारे पनि क्षेप्यास्त्र प्रहार गरे वा नगरेको बताएको छैन।

सो क्षेत्रका केही भागहरूमा ताइवान, फिलिपिन्स, ब्रुनाई, मलेशिया र भियतनामले अधिकार दाबी गर्ने गरेका छन्।

चीनले भने 'नाइन-ड्यास लाइन' भनिने ठूलो क्षेत्रमा अधिकार दाबी गरेर त्यहाँ कृत्रिम टापुमा सैन्य संरचनाहरू निर्माण गरिरहेको छ।

सैन्य अभ्यासका लागि बेइजिङले पाँच दिनका लागि स्पार्टी र पारासेल टापुबीचको क्षेत्रमा नआउन पानीजहाजहरूलाई सचेत गराएको थियो।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल डेभ इस्टबर्नले भने, "वाशिङटनलाई स्पार्टी टापुनजिकै कुनै कृत्रिम संरचनाबाट गरिएको क्षेप्यास्त्र प्रहारको जानकारी छ।"

उनले चिनियाँ व्यवहार 'सो क्षेत्रमा शान्ति स्थापना गर्ने दाबी विपरीत भएको' र 'निश्चित रूपमा सो क्षेत्रमा दाबी गर्ने अरूहरूलाई तर्साउन गरिएको कार्य' भएको बताएका छन्।

South China Sea
Presentational white space

विश्व समुद्री यातायातमा महत्त्वपूर्ण सो क्षेत्र हालैका दिनमा चीन र अन्य राष्ट्रबीचको तनावको कारक बनेको छ।

चीनले अमेरिकालाई क्षेत्रीय मामिलामा अनावश्यक उत्तेजना फैलाएको र हस्तक्षेप गरेको आरोप लगाउने गर्छ।

अमेरिकाले भने लामो समयदेखि सो क्षेत्रमा चिनियाँ उपस्थितिलाई सैनिकीकरण भन्दै आफ्नो सैन्य जहाज लगेर चीनलाई आक्रोशित बनाउँछ।