गौरिका सिंहः न लक्ष्यबारे चिन्ता न प्रतिद्वन्द्वीको डर

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी नेपाली सेवा
- Published
गौरिका सिंहको मुहारमा प्रायः देखिने मुस्कानमा कुनै फरक देखिएको छैन। लक्ष्य पनि स्पष्ट छ, प्रदर्शन थप सुधारिएको छ।
आठौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा आफूले भाग लिएको पौडीको सबै १२ इभेन्ट्समा उनले स्वर्ण पदक जितिन्।
उनले चारवटा नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाइन्। पदकको दृष्टिकोणले उनी आठौँ राष्ट्रिय खेलकुदको सबैभन्दा सफल खेलाडी बनेकी छिन्।
नेपालगन्जको एउटा स्पर्धा जितेपछि उनले भनिन्, "मेरो बुवाको घर बझाङ हो। त्यसैले आफ्नै घरमा आएर खेलेझैँ महसुस भइरहेको छ।"
दक्षिण एशियामा उत्कृष्ट बन्ने धोको
लण्डनमा बस्ने गौरिकाको नेपाली खेलकुद क्षेत्रमा विशेष परिचय छ। ब्राजिलको रियो ओलिम्पिक्सकी कान्छी खेलाडी बन्दा उनी विश्वव्यापी चर्चामा आएकी थिइन्।
नेपाली पौडीका लागि उनी अझ विशेष छिन्। दक्षिण एशियाली खेलकुदमा एकल रजत जितिसकेकी उनी नेपाललाई दक्षिण एशियाली खेलकुदमा व्यक्तिगत स्वर्ण दिलाउन सक्ने एक्ली उम्मेदवार हुन्।
त्यो अवसर यसै वर्ष काठमाण्डूमा हुने सागको १३ औँ संस्करणमा हुन सक्छ। यही उद्देश्यको पहिलो पाइला बढाउन उनी नेपालगन्ज आएकी हुन्।
"मेरो अबको लक्ष्य दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने हो। त्यसमा केन्द्रित भएर प्रशिक्षण गरिरहेकी छु," उनले भनिन्।
दुई वर्षअघि भारतको गुवाहाटीमा सम्पन्न १२ औँ दक्षिण एशियाली खेलकुदमा उनले नेपाललाई दुई सय मिटर इन्डिभिजुअल मिडलेमा रजत पदक जितेकी थिइन्।
र, केही सेकेण्डले उनी स्वर्ण जित्नबाट चुकेकी थिइन्। त्यो दूरी मेटाउने उनको अबको धोको हो।

परीक्षाको तयारी र खेलकूदको चिन्ता
आफ्नो लक्ष्यबारे उनलाई कुनै चिन्ता छैन। न त प्रतिद्वन्द्वीसँग कुनै डर नै।
बरु नेपालगन्जमा उनलाई एउटै चिन्ताले सताएको थियो निर्धारित समयमा नै प्रतियोगिता हुन्छ कि हुँदैन भनेर।
नेपालगन्जमा पौडी पोखरी निर्माणकै क्रममा रहेकोले निर्धारित समयमा खेल हुने टुङ्गो थिएन।
आयोजकले दावी गरिरहे पनि पोखरीमा पानी भरिएको थिएन र गौरिकाजस्तै अन्य कैयौँ खेलाडी र अभिभावक खेलतालिका तल-माथि पर्न सक्ने डरमा थिए।
आठौँ राष्ट्रिय खेलकुद आयोजकले केही दिन प्रतियोगिता सारेर भए पनि नयाँ पौडी पोखरीमा नै खेल सञ्चालन गर्ने भनिरहेका थिए।

छोरीलाई साथ दिन आएकी गौरिकाकी आमा गरिमा राणा सिंह भन्छिन्, "अर्को हप्ता छोरीको ओ लेभलको परीक्षा छ। समापन लगत्तै भोलिपल्ट हाम्रो लन्डनको टिकट बुक भइसकेको छ। त्यसैले खेल तालिका सर्छ कि भन्ने डर थियो। धन्न समयमै खेल भयो।"
त्यसैले गौरिकाजस्तै विदेशबाट आएका थुप्रै खेलाडी र अभिभावक नयाँ पोखरीमा खेल्न नपाएकोमा दुःखी छैनन्। बरु २५ मिटरको होटलको सानो पोखरीमा खेल्न पाएकोमा पनि खुशी नै छन्।
बरु एउटा संयोग के मिलेको छ भने १३ औँ साग काठमाण्डूमा २५ मिटरको पौडी पोखरीमा नै हुन लागेको छ।
काठमाण्डूमा मंसिरमा साग हुन लागेको हुँदा चिसो पानीमा त्यो सम्भव हुँदैन र अन्तर्राष्ट्रिय नियम अनुसार २५ मिटरको पौडी पोखरीमा पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्छ।
अहिले काठमाण्डूमा २५ मिटरको हिटिङ पुल निर्माण भइरहेको छ।
सर्ट कोर्ष
नेपालगन्जमा भएको पौडी प्रतियोगिता पनि शर्ट कोर्षमा भयो। ५० मिटर पोखरीमा खेल्ने लङ्ग कोर्ष र २५ मिटरको शर्ट कोर्षका सबै नियम फरक हुन्छन्, समय तालिका समेत।
त्यसैले भएका कीर्तिमानहरू शर्ट कोर्षकै तोडिएका हुन्। गौरिका त्यसमा पनि अब्बल भइन्।
लण्डनमा हप्ताको १६ घण्टा नियमित कडा प्रशिक्षण लिने गौरिकाको वास्तवमा आठौँ राष्ट्रिय पौडीमा कसैसँग प्रतिस्पर्धा थियो भने आफैसँग थियो।
अरू प्रतिद्वन्द्वीलाई निकै पछि पारियो नि भनी प्रश्नमा स्वाभाविक मुस्कान छर्दै उनले भनिन्, " मेरो ध्यान आगामी साफमा स्वर्ण जित्ने हो। त्यसका लागि कडा मेहनत गर्ने हो। समय सुधार्ने हो। प्रतिद्वन्द्वी को हो भन्ने होइन्। मेरो प्रतिस्पर्धा मेरै पुरानो कीर्तिमानसँग हो।"
साफको उद्देश्यसँगै १६ वर्षीया गौरिकाका अगाडि थप दुई प्रतियोगिता छन्।

पहिलो आगामी जुलाईमा दक्षिण कोरियामा हुने विश्व च्याम्पियनशीप र त्यसपछि २०२० ओलिम्पिक्समा छनोट हुनु।
आमा गरिमालाई भने गौरिकाको चोटले हल्का चिन्तित बनाएको छ। अहिले गौरिकाको बाँया काँधमा चोट छ।
गरिमा भन्छिन्, " सागमा स्वर्ण जित्नु र ओलिम्पिक्स पुग्नुसम्ममा लामो बाटो छ। हामी आफ्नो ठाँउबाट पूरा मेहनत गर्दैछौँ। हामीलाई सरकारको साथ अझै महत्त्वपूर्ण ऊर्जा हुनेछ।"
जति चिन्ता उनको अभिभावकलाई छ शायद गौरिकालाई नहुन पनि सक्छ।
उनको त एउटै दृष्टि छ। निरन्तर मेहनत गरिरहने र त्यसमा एक क्षण पनि अल्छी नहुने वा विलम्ब नगर्ने।
आठमा महिनापछि काठमाण्डूको चिसो मौसमले त्यसको नतिजा दिनेछ। उनी भन्छिन्, " त्यसमा मबाट कुनै चुक हुनेछैन्।"




















