ब्रिटेनको सर्वाधिक धनी परिवार घरेलु कामदारको श्रम शोषण गरेकोमा दोषी ठहर

तस्बिर स्रोत, EPA
- Author, इमोजन फोक्स
- Role, जिनिभा, स्विट्जरल्यान्ड
- Published
यूकेको सर्वाधिक धनी परिवारका चार सदस्यहरूलाई भारतबाट आफ्नो जिनिभा भिल्लामा ल्याइएका कामदारहरूको शोषण गरेको अभियोगमा जेल सजाय सुनाइएको छ।
प्रकाश र कमल हिन्दुजा एवं उनीहरूका छोरा अजय र बुहारी नम्रतालाई शोषण र गैर कानुनी ढङ्गले नोकरचाकर राखेको आरोपमा स्विट्जरल्यान्डको अदालतले दोषी ठहर गरेको हो।
उनीहरूलाई चार देखि साढे चार वर्षको सजाय तोकिएको छ।
मानव तस्करीको अझ गम्भीर आरोपबाट भने उनीहरूले छुटकारा पाएका छन्।
प्रतिवादीको प्रतिनिधित्व गर्ने वकिलहरूले आफूहरूले उक्त निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन्।
अदालतबाहिर उनीहरूका वकिल रोबर्ट असाएलले भने: “म छक्क परेको छु। हामी यो नसुल्झेसम्म लडाइ जारी राख्नेछौँ।”
भारतबाट ल्याइएका ती कामदारहरूले उक्त परिवारले आफूहरूलाई १८ घण्टा काम गर्दा जम्मा ८ डलर दिएको र त्यो स्वीस कानुनले तोकेको न्यूनतम ज्याला भन्दा १० गुणा कम रहेको आरोप लगाएका थिए।
उनीहरूले आफ्नो राहदानी पनि जफत गरिएको आरोप लगाएका छन्।
तर्क-वितर्क

तस्बिर स्रोत, EPA
झन्डै ३७ अर्ब पाउन्ड (४७ अर्ब अमेरिकी डलर) सम्पत्ति रहेको ठानिएका उक्त परिवारले आफूहरूलाई विरलै घर छाड्न दिइएको पीडित मजदुरहरूले जनाएका छन्।
हिन्दुजा परिवार जिनिभाको धनाढ्यहरूको बसोबास रहेको एउटा इलाकामा बस्छन्।
सुनवाइका क्रममा अभियोजनकर्ताहरूले उक्त परिवारले आफ्ना नोकरहरू भन्दा कुकुरमा बढी खर्च गर्ने गरेको आरोप लगाएका थिए।
अदालतमा चर्चित सरकारी वकिल ईभ बेर्टोसाले हिन्दुजा परिवारले आफ्नो कुकुरका लागि एक वर्षमा १० हजार डलर खर्च गरेको तर उनीहरूको घरमा काम गर्ने मानिसलाई निकै कम दैनिक पारिश्रमिक दिएको दाबी गरे।
उनीहरूलाई धेरै लामो समय काम गराइएको भन्ने आरोपको प्रतिवाद गर्दै एक वकिलले हिन्दुजा परिवारका बालबच्चासँग बसेर चलचित्र हेर्नुलाई काम गरेको भन्न नमिल्ने तर्क गरे।
केही पूर्वकर्मचारीले आफ्नो बयानमा हिन्दुजा परिवारले आफूहरूलाई मिजासिलो र सम्मानजनक व्यवहार गरेको बताए।
हिन्दुजा परिवारका वकिलहरूले कम पारिश्रमिकसम्बन्धी आरोपको प्रतिवाद गरेनन्।
तर उनीहरूले उक्त विषयलाई परिस्थितिअनुसार हेर्नुपर्ने र ती कामदारलाई आवास र भोजन उपलब्ध गराइएको तर्क गरे।
नयाँ घटना होइन
प्रतिरक्षामा हिन्दुजा परिवारका वकिलले कामदारहरूलाई कैयौँ सुविधा दिइएको, एक्लो नराखिएको र भिल्लाबाट बाहिर जान स्वतन्त्र रहेको तर्क गरिएको थियो।
कामदारहरू ‘हिन्दुजा परिवारले उनीहरूलाई राम्रो जीवनको अवसर दिएकोमा कृतज्ञ रहेको’ असाएलले तर्क गरेका थिए।
७० वर्षभन्दा बढी उमेर रहेका हिन्दुजा परिवारका ज्येष्ठ सदस्यहरू स्वास्थ्यको कारण देखाउँदै सो सुनुवाइमा अनुपस्थित थिए।
अजय र नम्रता अदालतमा उपस्थित थिए तर आदेश सुनाइएको समयमा उनीहरू निस्किसकेका थिए।
अन्तर्राष्ट्रिय संस्थाहरू र विश्वका धनाढ्यहरूको केन्द्र रहेको जिनिभामा नोकरचाकरहरूप्रतिको दुर्व्यवहार प्रकाशमा आएको यो पहिलो घटना होइन्।
अघिल्लो वर्ष फिलिपिन्सका चार जना घरेलु कामदारले जिनिभास्थित एउटा कूटनीतिक नियोगमाथि आफूहरूलाई वर्षौँदेखि ज्याला नदिइएको भन्दै मुद्दा दायर गरेका थिए।
हिन्दुजा परिवारको स्वामित्वमा हिन्दुजा समूह छ। उक्त बहुराष्ट्रिय समूहको तेल, ग्यास र ब्याङ्किङ क्षेत्रमा लगानी छ।
उक्त परिवारको लन्डनस्थित राफल्स होटेलमा पनि लगानी छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















