'कर्मचारीलाई थोरै तलब, कुकुरलाई धेरै खर्च': हिन्दुजा परिवारविरुद्ध स्विट्जरल्यान्डमा मानवतस्करीको मुद्दा

तस्बिर स्रोत, EPA
- Author, इमोजन फोक्स
- Role, बीबीसी जनीभा संवाददाता
- Published
यूकेको सर्वाधिक धनी हिन्दुजा परिवारका चार सदस्यविरुद्ध मानवतस्करी र श्रमशोषण गरेको अभियोगमा स्विट्जरल्यान्डमा मुद्दा चलेको छ।
उनीहरूलाई आफ्ना नोकरचाकरलाई तलब दिनभन्दा आफूले पालेको एउटा कुकुरको स्याहारसुसारमा बढी खर्च गरेको आरोप लागेको छ।
हिन्दुजा परिवारको कुल सम्पत्ति झन्डै ३७ अर्ब पाउन्ड (४७ अर्ब अमेरिकी डलर) छ।
जनीभाको एउटा धनी इलाकामा उनीहरूको स्वामित्वमा एउटा 'भिला' छ।
उनीहरूविरुद्ध लागेको अभियोग घरायसी काम गर्न र बालबच्चाको रेखदेख गर्न भारतबाट नोकरचाकर मगाइएको विषयसँग सम्बन्धित छ।
प्रकाश र कमल हिन्दुजा दम्पती तथा तिनका छोरा अजय र बुहारी नम्रताले आफ्नो घरमा काम गर्ने मानिसहरूको पासपोर्ट खोसेर राखेको, दैनिक १८ घण्टा काम गराए पनि केवल आठ डलर मात्र पारिश्रमिक दिएको र उनीहरूलाई घरबाट बाहिर निस्किने स्वतन्त्रता नदिएको आरोप लागेको छ।
आर्थिक शोषणको कुरा गत साता मिलिसकेको भए पनि हिन्दुजा परिवारका सदस्यहरूविरुद्ध मानवतस्करी गरेको अभियोगमा मुद्दा बाँकी छ। स्विट्जरल्यान्डमा मानवतस्करीलाई गम्भीर अपराध मानिन्छ।
उनीहरूले आफूविरुद्ध लागेको आरोप अस्वीकार गरेका छन्।
'कुकुरलाई १०,००० डलर तर कर्मचारीलाई थोरै तलब'
यो साता अदालतमा चर्चित सरकारी वकिल ईभ बेर्टोसाले हिन्दुजा परिवारले आफ्नो कुकुरका लागि एक वर्षमा १०,००० डलर खर्च गरेको तर उनीहरूको घरमा काम गर्ने मानिसलाई निकै कम दैनिक पारिश्रमिक दिएको दाबी गरे।
हिन्दुजा परिवारका वकिलहरूले कम पारिश्रमिकसम्बन्धी आरोपको प्रतिवाद गरेनन्। तर उनीहरूले उक्त विषयलाई परिस्थितिअनुसार हेर्नुपर्ने र ती कामदारलाई आवास र भोजन उपलब्ध गराइएको तर्क गरे।
उनीहरूलाई धेरै लामो समय काम गराइएको भन्ने आरोपको प्रतिवाद गर्दै एक वकिलले हिन्दुजा परिवारका बालबच्चासँग बसेर चलचित्र हेर्नुलाई काम गरेको भन्न नमिल्ने तर्क गरे।
केही पूर्वकर्मचारीले आफ्नो बयानमा हिन्दुजा परिवारले आफूहरूलाई मिजासिलो र ससम्मान व्यवहार गरेको बताए।
यद्यपि कर्मचारीहरूका राहदानी खोसेर राखेको अनि बिनाअनुमति उनीहरूलाई घरबाहिर जान नदिइएको भन्ने अभियोग गम्भीर छ। त्यस्तो व्यवहारलाई मानवतस्करी मान्न सकिन्छ।
बेर्टोसाले अभियुक्तहरूलाई जेल सजाय र पीडितहरूलाई लाखौँ डलर क्षतिपूर्तिको माग गरेका छन्।
लिबियाका तात्कालिक शासक गद्दाफीका छोरा पक्राउ परेका थिए
जनीभा अन्तर्राष्ट्रिय संस्था र विश्वभरिका धनीहरूले मन पराएको ठाउँ हो। धनी मानिसहरूले आफ्ना नोकरचाकरसँग दुर्व्यवहार गरेको आरोप त्यहाँ पहिलो पटक लागेको हैन।
सन् २००८ मा लिबियाका तात्कालिक शासक मुअम्मर गद्दाफीका छोरा हानिबल गद्दाफी आफ्ना सेवकहरूलाई कुटपिट गरेको आरोपमा एउटा पाँचतारे होटलबाट पक्राउ परेका थिए। हानिबल र उनकी पत्नीले आफ्ना कर्मचारीलाई कोटको ह्याङ्गरले प्रहार गरेको र कुटपिट गरेको सूचना प्रहरीले पाएको थियो।
पछि उक्त मुद्दा अघि बढेन।
तर हानिबल गद्दाफी पक्राउ प्रकरणले स्विट्जरल्यान्ड र लिबियाबीच कूटनीतिक तनाव उत्पन्न भयो।जनीभाको घटनापछि ट्रिपोलीमा दुई स्विस नागरिक पक्राउ परे।
राष्ट्रसङ्घीय निकायमा काम गरेका चार कर्मचारीको आरोप
गत वर्ष जनीभास्थित एउटा संयुक्त राष्ट्रसङ्घीय कूटनीतिक निकायमा कार्यरत चार कामदारले आफूलाई वर्षौँदेखि तलब नदिइएको भन्दै मुद्दा हाले।
उनीहरू फिलिपिन्सका नागरिक हुन्।
हिन्दुजा परिवारका सदस्यविरुद्ध चलिरहेको मुद्दाले फेरि "शान्तिको सहर" भनेर चिनाउन खोजिने जनीभाको अँध्यारो पक्षतिर विश्वको ध्यानकर्षित हुने देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















