नौ दिने चीन भ्रमणबाट फर्केका परराष्ट्रमन्त्रीबारे कस्तो टिप्पणी भइरहेको छ

तस्बिर स्रोत, MOFA Nepal
मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै नौ दिने भ्रमणमा चीन पुगेका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सोमवार काठमाण्डू फर्कँदा भ्रमणबारे स्वदेशमा विभिन्न टिप्पणी भइरहेका छन्।
सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूले श्रेष्ठको ‘अस्वाभाविक’ लामो भ्रमणको औचित्य उनी आफैँले पुष्टि गर्नुपर्ने बताएका छन्।
कतिपयले श्रेष्ठ चीन भ्रमणमा जानुअघि नै उनको भ्रमणको अवधिलाई लिएर आलोचना गरेका थिए। आलोचना गर्नेमा सत्ता साझेदार नेकपा एमालेका नेताहरू समेत थिए।
परराष्ट्र मन्त्रालयले श्रेष्ठले नौ दिने भ्रमणका क्रममा चीनका विदेशमन्त्री वाङ् यी लाई भेटेको जनाएको छ।
तर दुई नेताबीचको भेटका क्रममा कुनै समझदारी भए वा नभएकोबारे परराष्ट्र मन्त्रालयले केही खुलाएको छैन।
“भेटका क्रममा दुवै नेताले द्विपक्षीय सम्बन्ध अझै उचाइमा लैजान सहकार्यको प्रतिबद्धता जनाए। न्यानो र सौहार्दपूर्ण भेटवार्तामा दुई नेताले परियोजनाहरूको द्रुत कार्यान्वयनमा जोड दिए,” भेटको तस्बिर पोस्ट गर्दै नेपालको परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको थियो।
श्रेष्ठ चीन भ्रमणमा निस्कनुअघि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि भ्रमणको एजेन्डाबारे खुलाइएको थिएन।
वाङ् यीको निमन्त्रणामा तय भएको औपचारिक भ्रमणमा उच्चस्तरीय भेटवार्ता हुने भनिए पनि श्रेष्ठले चीनका प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट पाएनन्।
“उहाँले जानुअघि पनि भ्रमणको प्रयोजनबारे केही बताउनुभएन। त्यहाँ गएपछि पनि कोसँग के विषयमा छलफल भयो भन्नेबारे केही बताउनुभएको छैन,” पूर्वपरराष्ट्रमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशशरण महत भन्छन्।
“किन यति लामो समय बस्नुभयो भनेर उहाँले फर्किएपछि जबाफ दिनुपर्छ र दिनुहोला भन्ने ठान्छु।”
‘अस्वाभाविक’ अवधि
परराष्ट्र मन्त्रालयमा लामो समय काम गरेर अवकाश पाएका एकजना पूर्वअधिकारी श्रेष्ठको भ्रमण अवधि अस्वाभाविक भएको बताउँछन्।
“उहाँको भ्रमण खास एजेन्डाका लागि भएको देखिँदैन। त्यस कारण यो ‘प्लेजर ट्रिप’ भन्न सकिन्छ त्यो भनेको छुट्टी मनाउन गएजस्तै हो,” परराष्ट्र मन्त्रालयको मर्यादापालन महाशाखाका पूर्वप्रमुख गोपाल थापाले बीबीसी न्यूज नेपालीसँग भने।
श्रेष्ठको भ्रमणको अवधिबारे सामाजिक सञ्जालमा प्रश्न गरेका थापाले महत्त्वपूर्ण काम नदेखाई नौ-नौ दिनसम्म चीन भ्रमणमा परराष्ट्रमन्त्री जाँदा मन्त्रालयमा उनको कुनै काम नभएको देखिने टिप्पणी गरे।
सत्ता साझेदार नेकपा एमालेका नेता विष्णु रिजालले यसअघि ट्विटर भनिने सामाजिक सञ्जाल एक्समा श्रेष्ठको भ्रमणअघि नै टिप्पणी गरेका थिए।
“कति लामो भ्रमण हो? कति फुर्सत हो परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई? चीनको भ्रमणमा ९ दिन खर्चिनुपर्ने के रहेछ? २०२३ मा प्रधानमन्त्री प्रचण्डले पनि चीनमा ९ दिनै घुमफिरमा बिताउनुभएको थियो। दुनियाँले के भन्छ होला? अलिकति त ख्याल गर्नुपर्ने होइन र?,” रिजालले लेखेका छन्।
भ्रमणको एजेन्डा र उपलब्धि

तस्बिर स्रोत, MOFA Nepal
नेपाल र चीनबीच छलफल हुनुपर्ने कैयौँ विषयहरू रहे पनि श्रेष्ठ कुनै पनि एजेन्डा नलिई भ्रमणमा निस्किएको जानकारहरूको टिप्पणी छ।
“उहाँले जानुअघि के कारण जान लागेको कसैसँग छलफल पनि गर्नुभएन गएपछि पनि उहाँको भ्रमणको उपलब्धिबारे केही भनिएको छैन,” पूर्वमन्त्री महतले भने।
एमाले नेता रिजाल श्रेष्ठको भ्रमणमा दुई देशबीच छलफल हुन बाँकी कैयौँ विषयहरूमा छलफल भएको आफूले थाहा नपाएको बताए।
“चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्स कार्यान्वयनबारे पनि छलफल गर्न सकिन्थ्यो। प्रधानमन्त्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीनले दिएको ऋणलाई अनुदानमा बदल्न प्रयत्न गर्ने भन्नुभएको थियो। त्यसलाई अघि बढाउन सकिन्थ्यो,“ रिजाल भन्छन्।
यसअघि तत्कालीन राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले पनि ११ दिनसम्म चीन भ्रमणमा बिताएपछि उनको आलोचना भएको थियो।
गत सेप्टेम्बरमा चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि एक साता चीनमा बिताएका थिए।
लामो समय परराष्ट्र मन्त्रालयमा बिताएका थापा कुनै एजेन्डा लिएर गएको भए श्रेष्ठको भ्रमण अर्थपूर्ण मान्न सकिने बताउँछन्।
“तर उहाँको भ्रमणमा कुनै एजेन्डा देखिएन। एजेन्डा भएको भए सरोकारवालाहरूसँग जानुअघि छलफल पनि गर्नुपर्थ्यो। चीनसँग कनेक्टिभिटीका कुरा छन् यसअघिका सम्झौता कार्यान्वयनमा विषय छन्,” उनले भने।
मन्त्री चीनमा, बोआओ फोरममा सल्लाहकार

तस्बिर स्रोत, Rupak Sapkota
चीनकै हाइनान प्रान्तमा चैत्र १३ देखि २६ सम्म चलेको बोआओ फोरममा समेत परराष्ट्रमन्त्री सहभागी नभ्याएको टिप्पणी भइरहेको छ।
“कुनै बेला राजा वीरेन्द्र सहभागी भएको बोआओ फोरममा प्रधानमन्त्री जान नभ्याउँदा उपप्रधानमन्त्री समेत रहेका परराष्ट्रमन्त्री सहभागी हुन सुहाउँथ्यो। सम्बन्धको संवेदनशीलतालाई पनि सरकारले ख्याल गर्नुपर्थ्यो,” रिजाल भन्छन्।
श्रेष्ठ जान नभ्याउने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले उनका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटालाई उक्त फोरममा पठाएका थिए।
दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सहभागिता जनाएको उक्त फोरममा कैयौँ पटक नेपालका सरकार प्रमुख र राष्ट्रप्रमुखले सहभागिता जनाइसकेका छन्।
हरेक वर्ष आयोजना हुने यस्तो फोरममा एशियाली देशहरूको आर्थिक समृद्धि र विकासबारे छलफल हुने गरेको छ। रिजाल यस्ता फोरमहरूमा उपलब्धि भन्दा पनि उपस्थितिले अर्थ राख्ने बताउँछन्।
राष्ट्रको इज्जत
कांग्रेस प्रवक्ता समेत रहेका महतले देशको महत्त्वपूर्ण भूमिकामा रहेको कुनै पनि नेताले आवश्यकताभन्दा लामो समय विदेशमा बिताउने प्रचलन नरहेको बताए।
“कुनै पनि देशको महत्त्वपूर्ण नेताले कुनै कुरालाई निष्कर्षमा पुर्याउन आवश्यक पर्ने भन्दा ज्यादा समय विदेशमा बिताउँदैनन्। उहाँ किन बस्नुभयो आएपछि पक्कै बताउनुहोला,” महतले भने।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेकै समयमा परराष्ट्रमान्त्री रहेका महत नेपालले देशको आवश्यकता र हितलाई ध्यानमा राखेर दुई छिमेकी देशहरूसँगै विकास साझेदारहरूसँगको सम्बन्धमा सन्तुलन कायम गर्नुपर्ने बताउँछन्।
एमालेका नेता रिजाल श्रेष्ठले मात्रै नभएर यसअघि कांग्रेसबाट परराष्ट्रमन्त्री बनेका नारायणप्रसाद साउदले पनि भारत भ्रमणमा अनावश्यक समय बिताएको बताए।
“राइसिना डाइलगको एउटा सत्रमा सहभागी हुन जानुभएको एनपी साउदले त्यहाँ जम्मा १० मिनेटजस्तो बोल्ने अवसर पाउनुभयो होला। तर उहाँले पाँच दिन भारतमा बिताउनुभयो,” रिजाल भन्छन्।
“हाम्रामा पनि भारत र चीनका विदेशमन्त्री आउँछन्। तर यति लामो समय बिताउँछन् र? देख्नेले के भन्लान्।”
परराष्ट्र मन्त्रालयको मर्यादापालन महाशाखाका प्रमुखबाट अवकाशप्राप्त थापा यस्ता भ्रमणले कूटनीतिक ओज गुमाउने टिप्पणी गर्छन्।
हेर्नूस् त पहिले राजाहरू विदेश जाँदा कस्तो सम्मान र स्वागत हुन्थ्यो। त्यो अहिलेका नेताहरूले किन गुमाए? यस्तै कारण हो नेपालले अन्तर्राष्ट्रिय कूटनीतिमा आफ्नो सम्मान र हैसियत गुमाउँदै गएको। कूटनीतिमा सानो ठूलो देश सबैको आफ्नो मर्यादा हुनुपर्छ,” उनले भने।
परराष्ट्रमन्त्री श्रेष्ठले चीनमा के-के गरे

तस्बिर स्रोत, MOFA Nepal
परराष्ट्र मन्त्रालयले मन्त्री श्रेष्ठको चीन भ्रमणका केही जानकारी मन्त्रालयको आधिकारिक एक्स खातामा पोस्ट गरेको छ।
मार्च २४ मा चीन पुगेका श्रेष्ठले त्यसको भोलिपल्ट चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा पलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका अध्यक्ष वाङ हुनिङसँग भेट गरेका थिए।
उक्त भेट दुई देशको आर्थिक विकास र समृद्धिमा केन्द्रित भएको मन्त्रालयले जनाएको छ।
एक्समा राखिएका विवरण अनुसार उनले भ्रमणको तेस्रो दिन मार्च २६ मा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेका हुन्।
भेटमा परराष्ट्र सचिव सेवा लम्साल र बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ पनि सहभागी भएको तस्बिरमा देखिन्।
बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा वाङसँगको भेटमा श्रेष्ठले दुई देशबीचका सबै परम्परागत सीमानाकाहरू खोल्न आग्रह गरेको उल्लेख छ।
त्यही दिन साँझ बेइजिङस्थित दूतावासले आयोजना गरेको कार्यक्रममा श्रेष्ठले आगामी महिना नेपालमा हुन लागेको लगानी सम्मेलनबारे जानकारी दिँदै चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए।
चौथो दिन मार्च २७ मा परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा युआन जियाजुनसँग भेट गरेका थिए।
त्यसको दुई दिनपछि मार्च २९ मा श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत हेर्ने सचिव वाङ जुन्जेङसँग ल्हासामा भेट गरेका थिए।
श्रेष्ठले त्यहाँबाट तिब्बत क्षेत्रमा पर्ने हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थल मानसरोवर जाने तय गरेका थिए।
यसअघि गत कार्तिकमा चीन भ्रमणकै क्रममा श्रेष्ठ बिरामी परेपछि आकस्मिक सेवामा उनको उपचार भएको थियो। त्यसबेला उनी गृहमन्त्रीको जिम्मेवारीमा थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















