जेरुसलेम किन पवित्र?

तस्बिर स्रोत, AFP/ AHMAD GHARABLI
जेरुसलेमको भविष्य नै इजरेल-अरब द्वन्द्वको सबैभन्दा विवादास्पद मुद्दामध्येको एक हो।
जेरुसलेम शहर इसाई, इस्लाम र यहुदी धर्मावलम्बीहरुका लागि किन धेरै महत्त्वपूर्ण छ भन्ने बारे बीबीसीकी एरिका चेर्नोफस्कीले तयार पारेको यो विवरण।
ती तीनवटै धर्मले आफूहरुको साझा उत्पत्तिको सन्दर्भ बाइबलमा उल्लेखित एक पात्र अब्राहमसँग जोड्ने गर्छन्।
जेरुसलेम नाम इसाई, यहुदी र मुसलमानहरुको हृदयमा समान रुपले बसेको छ र त्यसको सम्बन्ध ती तीनवटै धर्मका अनुयायीहरुको शताब्दीऔं लामो र विवादित इतिहाससँग पनि छ।
हिब्रु भाषामा येरुशलइम र अरबीमा अल-कुद्स नामले चिनिने उक्त शहर संसारका सबैभन्दा पुराना शहरहरुमध्येमा पर्दछ।
सो शहरलाई समय क्रममा धेरैले जित्ने, नष्ट गर्ने र पुनर्निर्माण गर्ने गरेका छन्।
र, त्यहाँको जमिनको हरेक तहले सो शहरको इतिहासको एउटा फरक पत्रलाई देखाउने गर्छ।
ओल्ड सिटी
सो शहरको केन्द्रमा "ओल्ड सिटी" भनिने पुरानो शहरको भाग रहेको छ जहाँ साँघुरा गल्लीहरु र ऐतिहासिक संरचनाहरु छन्।
तिनीहरुले उक्त शहरको चार विभिन्न खण्डहरुको चरित्रलाई उजागर गर्दछन् - इसाई, मुस्लिम, यहुदी र आर्मेनियाली।
सो शहर चारैतिर किल्लाको शैलीमा ढुंगाको पर्खालबाट घेरिएको छ र त्यहाँ संसारका सबैभन्दा पवित्रत स्थानहरु रहेका छन्।
शहरको प्रत्येक खण्डले आफ्नै बासिन्दाको प्रतिनिधित्व गर्दछन्।
इसाईहरुका दुई खण्ड छन् किनकि आर्मेनियालीहरु पनि इसाईहरु हुन् र चारमध्ये तिनीहरुको खण्ड सबैभन्दा सानो रहेको छ।
तर त्यो संसारको सबैभन्दा पुरानो आर्मेनियाली केन्द्रहरुमा पर्दछ।
र, तिनीहरुले सेन्ट जेम्सेज चर्च र पादरीघरको परिसरभित्र तिनीहरुले आफ्नो बेजोडको संस्कृति र सभ्यतालाई जोगाइराखेका छन्।

तस्बिर स्रोत, Reuters
गिर्जाघर
इसाई खण्ड अर्थात् क्रिश्टियन क्वार्टरमा चर्च अफ द होली सेपल्कर रहेको छ, जहाँ इशा मसिहको चिहान रहेको ठानिन्छ।
त्यो चर्च रहेको स्थान इशा मसिहको जीवनकथा, उनको मृत्यु, उनलाई क्रुसमा झुण्ड्याइएको घटना र उनको पुर्नजीवनसँग पनि सम्बन्धित छ।
मस्जिद
मुस्लिम खण्ड अर्थात् मुस्लिम क्वार्टर, त्यहाँ रहेको चार खण्डमध्ये सबैभन्दा ठूलो छ। त्यहाँ डोम अफ रक र अल-अक्सा मस्जिद रहेको छ। जुन स्थानलाई मुस्लिमहरुले हरम अल-शरिफ भन्ने गर्छन्, सज्जनहरुको आश्रयस्थल।
उक्त मस्जिद इस्लाम धर्ममा तेस्रो सबैभन्दा पवित्र धार्मिकस्थल हो।

तस्बिर स्रोत, Getty Images/Lior Mizrahi
पर्खाल
यहुदी खण्ड अर्थात् जुइश क्वार्टरमा कोटेल भनिने वेस्टर्न वाल अर्थात् पश्चिमी पर्खाल अवस्थित छ।
त्यो कुनै समय यहुदीहरुको पवित्र मन्दिर रहेको ढिस्कोलाई अड्याउन बनाइएको पर्खालको अवशेष हो।




















