'राम्रो नतिजा आएको' कक्षा १२ को परीक्षाफलबारे किन विवाद चुलियो

कक्षा १२ का नतिजाप्रति असन्तुष्ट विद्यार्थीहरूले आयोजना गरेको विरोधप्रदर्शनमा सहभागी दुई किशोरी

तस्बिर स्रोत, Nepal Photo Library

Published
पढ्ने समय: ५ मिनेट

परीक्षा बएको डेढ महिनाभन्दा कम अविधमै सार्वजनिक गरिएको कक्षा १२ को नतिजाबारे असन्तुष्टि व्यक्त गर्दै विद्यार्थीहरू आन्दोलित भएपछि शिक्षामन्त्रीले गठन गरेको समितिले काम सुरु गरेको शिक्षा मन्त्रालयले जनाएको छ।

पछिल्लो समय 'एसएलसी' भन्ने गरिएको विद्यालय तहको अन्तिम परीक्षाफल प्रकाशित हुन विगतका वर्षहरूमा तीन महिना लाग्ने गरेको थियो।

तर बोर्डको यो दाबीमा विद्यार्थीहरू सहमत छैनन्। तर कक्षा १२ को परीक्षामा उत्तरपुस्तिका जाँचमा कमजोरी भएको आरोप लगाउँदै विद्यार्थीहरू बिहीवार विरोधप्रदर्शन गर्न सडकमै ओर्लिए। राजधानीको माइतीघर मण्डलमा विद्यार्थीहरू भेला भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले एउटा समिति गठन गरेका छन्।

समितिले शुक्रवारबाटै काम सुरु गरिसकेको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताए।

"यो पटक छिटो परीक्षाफल प्रकाशित हुँदा विद्यार्थीहरूमा आशङ्का भएको हुन सक्छ। तर कुनै पनि प्रोटोकल मिचिएको छैन," सापकोटा भन्छन्।

"तर विद्यार्थीहरू सडकमै आएपछि सरकारले उहाँहरूको चासोलाई गम्भीरतापूर्वक लिँदै के भएको रहेछ त्यो हेर्न समिति बताएको छ।"

यसअघि शिक्षामन्त्री पोखरेलले यो पटक जनशक्ति समेत थप गरेर र अनावश्यक प्रशासनिक प्रक्रिया कोट्याएर "समयमै नतिजा प्रकाशित गरिएको" बताएका थिए।

शिक्षा मन्त्रालयका अनुसार छानबिन समितिले उत्तरपुस्तिकाको 'स्याम्प्लिङ परीक्षण गर्नुका साथै परीक्षाङ्क र डेटा इन्ट्रीको भेरिफिकेशन' गरेर हेर्ने कार्यादेश पाएको छ।

कक्षा १२ मा यो वर्ष झन् धेरै उत्तीर्ण

कक्षा १२ का विद्यार्थीहरूको प्रदर्शन

तस्बिर स्रोत, Nepal Photo Library

नयाँ सरकारले छिटो परीक्षाफल प्रकाशित गर्ने नीति लिएपछि "हतारमा" तयार गरिएको कक्षा १२को परीक्षामा अघिल्लो वर्षभन्दा नौ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका थिए।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ परीक्षा दिएका तीन लाख ३२,००० विद्यार्थीमध्ये ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन्। आंशिक परीक्षार्थीहरू पनि ४२ प्रतिशत उत्तीर्ण भएको बोर्डले जनाएको छ।

एसएलसीका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा गत वर्षभन्दा यो पटक उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरूको सङ्ख्या पनि बढेको बताउँछन्।

"प्रतिशतका हिसाबले पनि र ग्रेडका हिसाबले पनि यो वर्ष राम्रो छ। जीपीए ३.६ देखि ३.९६सम्म आउनेको सङ्ख्या पनि बढेको छ। ग्रेड ए आउनेको सङ्ख्या पनि बढेको छ," उनले भने।

तर हतारमा परीक्षाफल प्रकाशित गर्दा विद्यार्थीहरूले गुनासो गरिरहेको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपालका महासचिव रामहरि सिलवाल बताउँछन्।

"कक्षा ११ मा र आन्तरिक परीक्षामा राम्रो गरेका विद्यार्थीले अन्तिम परीक्षामा राम्रो प्राप्ताङ्क नआएको गुनासो गरेका छन्," तीनकुनेस्थित हिमालय कलेजका प्रिन्सिपल समेत रहेका सिलवालले भने।

"छिटो काम सक्ने दबावमा समय लगाएर गर्नुपर्ने प्राविधिक कममा पनि हतार लगाएको देखिन्छ।"

विद्यालय सञ्चालकहरूले उत्तरपुस्तिका पनि हतारमा परीक्षण गर्दा त्रुटि भएको हुन सक्ने आशङ्का गरेका छन्।

रिटोटलिङमा किन कम गए विद्यार्थी

कक्षा १२ का विद्यार्थीहरूको प्रदर्शन

तस्बिर स्रोत, Nepal Photo Library

परीक्षा बोर्डले परीक्षाफल प्रकाशित नभए 'रिटोटलिङ' अर्थात् पुनर्योग गर्नका लागि विद्यार्थीहरूले निवेदन दिन सक्ने सुविधा रहेको बताएको छ।

तर विद्यार्थीहरूले पुनर्योगका लागि लाग्ने दस्तुर रु ५०० बाट रु १,००० पुर्‍याइएकोमा पनि आपत्ति जनाएका छन्।

बिहीवार माइतीघरमा भएको प्रदर्शनमा एक जना विद्यार्थी स्मृति खतिवडा "रिटोटलिङ गरेर हामीलाई फाइदा नै हुँदैन" भन्ने धारणा राख्छिन्।

"रिटोटलिङ भनेको पहिल्यै दिएको नम्बर गणना गर्ने हो। पहिल्यै त्यसमा गडबडी गरिसकेका छन् भने हामीले त्यति धेरै पैसा तिरिसकेपछि परिणाम एउटै आउँछ भने के चाहिँ फाइदा हुन्छ?"

बोर्डले विद्यार्थीबाट उठाउने शुल्क शत प्रतिशत वृद्धि गरे पनि परीक्षकलाई दिइने रकममा १० प्रतिशत मात्रै वृद्धि गरिएको जनाएको छ।

विद्यार्थीहरूले कक्षा १२ को परीक्षाफलमा चित्त नबुझाए पनि यो वर्ष गत वर्षभन्दा कम मात्रै आवेदन परेको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए।

एसएलसीका परीक्षा नियन्त्रक शर्माले बिहीवारसम्म पुनर्योगका लागि २५,००० वटा मात्रै निवेदन परेको बताए। पुनर्योगको अन्तिम म्याद शुक्रवारबाट सकिँदै छ।

"अघिल्लो वर्ष ४०,००० जनाले गरेका थिए। हिजो (बिहीवार)सम्म २५,००० जनाले मात्रै यो वर्ष गरेका छन्। यो पटक बढीमा ३०,००० पुग्ला," उनले भने।

"विज्ञले ती सबै कपी निकालेर एक पटक फेरि हेर्छन्। केही कैफियत भए नम्बर परिवर्तन भनेर बाहिर लेख्छन्, केही देखिएन भने परिवर्तन हुँदैन।"

कक्षा १२ का नियमित र आंशिक समेत गरी चार लाख १८,००० विद्यार्थीका उत्तरपुस्तिका बोर्डले सुरक्षित राखिएको जनाएको छ।

पुनर्योगमा पनि चित्त नबुझे विद्यार्थीले पुन उत्तरपुस्तिका आफैँले हेर्न समेत पाउने सुविधा रहेको बोर्डका अधिकारी बताउँछन्।

"त्यसमा अभिभावकलाई पनि अनिवार्य गरिएको छ। विद्यार्थी, विज्ञ र अभिभावक बसेर त्यो हेर्छन्," शर्मा भन्छन्।

कसरी जाँचिन्छ उत्तरपुस्तिका, पुनर्योग कसरी हुन्छ

राष्ट्रिय परीक्षा बोर्ड

परीक्षा नियन्त्रक शर्माका अनुसार यसअघि परीक्षा सकिएपछि मात्रै उत्तरपुस्तिका परीक्षण सुरु हुन्थ्यो।

"अहिले हरेक विषयमा परीक्षा सकिनेबित्तिकै हामीले प्याकिङ सुरु गर्‍यौँ। उत्तरपुस्तिका परीक्षण पनि सँगसँगै सुरु गर्‍यौँ। सम्परीक्षण पनि सँगसँगै र इन्ट्री पनि समानान्तर रूपमा सुरु गर्‍यौँ," शर्मा भन्छन्।

बोर्डका अनुसार विगतमा वर्षहरूमा सम्परीक्षण बोर्डमै हुने गरेको थियो। तर यो पटक हरेक जिल्लामै सम्परीक्षणको व्यवस्था मिलाइएको थियो।

"त्यहीँ गएर हामीले शिक्षकहरूलाई उत्तरपुस्तिका परीक्षण सम्बन्धी तालिम दियौँ। उत्तरपुञ्जिका नहेरी परीक्षण गर्नै नपाउने गर्‍यौँ," शर्मा भन्छन्।

उत्तरपुञ्जिकामा विद्यार्थीहरूको उत्तरमा हुनुपर्ने न्यूनतम मापदण्ड उल्लेख गरिएको हुन्छ।

"विद्यार्थीले यो र यति लेखेमा यति नम्बर दिने भनेर त्यसमा विस्तृतमा हुन्छ। जसले उत्तरपुस्तिका परीक्षणमा एकरूपता कायम गर्न सहयोग पुग्छ।"

बोर्डका अनुसार परीक्षकले उत्तरपुस्तिका जाँच गरिसकेपछि अर्कै विषय विज्ञलाई ती उत्तरपुस्तिका पुनः जँचाइन्छ। जसलाई सम्परीक्षण भन्ने गरिएको छ।

"अर्कै ठाउँमा सम्परीक्षकले सबैभन्दा पहिला चढाएको नम्बर ठिक छ कि छैन भनेर रुजु गर्छन्। उनीहरूले २० प्रतिशत कपीहरू हेर्नैपर्छ। त्यति हेर्दाबित्तिकै परीक्षकले राम्रो गरे नगरेको थाहा भइहाल्छ," उत्तरपुस्तिका जाँचबारे शर्मा भन्छन्।

सम्परीक्षकलाई उत्तरपुस्तिका जाँचबारे चित्त नबुझे परीक्षकलाई पुनः बोलाएर जाँच गर्न लगाइने बोर्डले बनाएको निर्देशिकामा उल्लेख छ।

बोर्डका अनुसार उत्तरपुस्तिकामा लेखिएको प्राप्ताङ्क र बाहिरको 'ट्याब'मा चढाइएको नम्बर छुट्टाछुट्टै दुई स्थानमा इन्ट्री गरिन्छ।

ती कामहरू सीसीटीभी क्यामरा भएको स्थानमा हुने गरेको बोर्डका परीक्षा नियन्त्रक शर्मा बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।